तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो
तेह्रथुम । तमोर नदीस्थित तेह्रथुम–पाँचथर जोड्ने लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण सुरु भएको छ । म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले करिव १३ वर्षपछि लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण थालिएको जानकारी दिए।
सडक विभाग मातहतको पुल सेक्टरको रु १७ करोड लागतमा उक्त पुल निर्माण गर्ने ठेक्का पाएको थियो । निर्माण कम्पनीले विसं २०६८ असार २६ गते तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । निर्माण कम्पनीले काम नगरी पुल अलपत्र छाडेको थियो ।
तेह्रथुम र पाँचथरका जनप्रतिनिधि, स्थानीय प्रशासन र सरोकारवालाको दबाबपछि निर्माण कम्पनीले अधुरो छाडेको काम पुनर्निर्माण पुनः सुरु गरेको नगरप्रमुख तुम्बाहाङ्फे को भनाइ छ ।
पुल जग निर्माण गर्ने क्रममा १० मिटर गहिराइमा ढुङ्गा भेटिएपछि पुनः ‘सोइल टेष्ट’ गरेर ‘रिडिजाइन’ गर्ने विषयमा विवाद भएपछि पुल निर्माणको काम रोकिएको सांसद सीता गुरुङले बताइन् । गत मङ्सिर २० गते भौतिक पूर्वाधार मन्त्रालयमा बसेको सर्वपक्षीय बैठकमा पुरानै डिजाइनमा पुल बनाउने सहमति भएपछि निर्माण कार्यले निरन्तरता पाएको उनको भनाइ छ ।
सबै पक्षको सहयोग रहे आउने असारसम्ममा पुल निर्माणको काम सम्पन्न गरिसक्ने निर्माण कम्पनीका साइड इञ्चार्ज विजय लामिछानेले बताए । पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको म्याङलुङ नगरपालिकालाई जोड्ने उक्त मोटरेबल पुल निर्माण सम्पन्न भएपछि दुई जिल्लाको सदरमुकाम सबैभन्दा छोटो दूरीमा जोडिने छन् ।
पाँचथर सदरमुकाम फिदिमबाट ४५ किलोमिटर र तेह्रथुम सदरमुकाम म्याङलुङबाट १९ किलोमिटरको दूरी रहेको तमोर नदीमाथिको उक्त पुल निर्माण सम्पन्न भएपछि दुवै जिल्लाका नागरिकलाई आवातजावतमा सहज हुने म्याङलुङ–२ का विश्वराज तुम्बाहाङफेले बताए ।
पाँचथरको कुम्मायक गाउँपालिकाका भुल्के, खाल्ले, स्यावरुम्बालगायतका गाउँबाट करिब आठ घण्टाको पैदलयात्रा गरी हप्तैपिच्छे पिठ्यूँमा बोकेर कृषिउपज तेह्रथुमको म्याङलुङस्थित शुक्रबारे हटियामा बिक्री गर्न ल्याउनुपर्ने बाध्यता छ ।
पुल निर्माण भएपछि म्याङलुङदेखि लुमुघाट हुँदै तमोर करिडोर भएर छोटो दूरीमै सुनसरीको धरान र प्रदेश राजधानी विराटनगर पुग्न सकिन्छ । तेह्रथुमबाट पूर्वी तराईसँगको दूरी घटाउने भएकाले पनि उक्त मोटरेबल पुल निर्माणले महत्व राख्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण