जनमतका पदाधिकारीले नेतृत्वको विषयमा सामाजिक सञ्जालमा हरेक दिन गुणगान गाउनुपर्ने, आलोचना गरे कारबाही

काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीले पार्टीका सम्पूर्ण पदाधिकारीहरूलाई हरेक दिन एक पोस्ट पार्टी वा नेतृत्वको विषयमा सकारात्मक पोस्ट सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर वा एक्स, टिकटक आदि) मा गर्न निर्देशन दिएको छ । आइतबार बसेको केन्द्रीय सचिवालयको निर्णायानुसार जनमत पार्टीले आफ्ना पदाधिकारीहरूलाई जिम्मेवार, अनुशासित र दीर्घकालीन रूपमा सफल बनाउनका लागि पार्टीको सकारात्मक प्रचार-प्रसारमा अनिवार्य जोड्ने र त्यसलाई अनुगमन समेत गर्ने निर्णय गरेको हो ।
पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला मूल समितिका सदस्यहरूले सो पोस्ट गरे-नगरेको एउटा सामाजिक सञ्जाल अनुगमन समितिले अनुगमन गर्ने र मासिक रूपमा प्रतिवेदन पेस गर्नेछ । मासिक रूपमा २० वा बढी पोस्ट आए राम्रो, १०-२० आए औसत, ३-१० पोस्ट आए सामान्य र ३ भन्दा कम पोस्ट आए निष्क्रिय मानिने बैठकले निर्णय गरेको छ । सो मूल्याङ्कन अन्य जिम्मेवारी तोक्दा प्रयोग गरिनेछ, राम्रो गर्नेलाई पुरस्कृत गर्ने तथा निष्क्रिय हुनेलाई एक तह घटुवा गर्ने वा जिम्मेवारीबाट हटाउनेसम्मको सिफारिस गर्न सकिनेछ।
त्यसै गरी, पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला मूल समितिका सदस्यहरिहरूले २०८१ पौष मसान्तसम्ममा आ-आफ्नो सामाजिक सञ्जालको आईडी सामाजिक सञ्जाल अनुगमन समिति, पीएन माझीलाई जानकारी गराउनुपर्ने बताइएको छ।
पार्टीका पदाधिकारी तथा सदस्यहरूले सामाजिक सञ्जाल वा सार्वजनिक रूपमा पार्टीको विरुद्धमा अभिव्यक्ति दिने, बोल्ने/लेख्ने वा पार्टीको छविमा आँच आउने वा पार्टीलाई अहित हुने गतिविधि गर्नु समेत बन्देज गरिएको छ । सो गरेमा पार्टीको विधान अनुसार कारबाही हुने बताइएको छ।
‘पार्टीका कमीकमजोरीहरू वा पार्टीका पदाधिकारी, सभासद् वा मन्त्रीहरूविरुद्ध कुनै कुरा भएमा पार्टीका गुनासो सुन्ने सम्बन्धित पदाधिकारी समक्ष, वा पार्टीको आन्तरिक बैठकमा अनुशासित भएर राख्नु पर्दछ, वा लिखित रूपमा आफ्नो तहको समिति वा अन्तिममा केन्द्रीय अनुशासन समितिको ध्यानाकर्षण गराउनु पर्दछ,’ निर्णयमा भनिएको छ ।
निर्णयमा थप भनिएको छ, ’पार्टीको सदस्य हुनु भनेको एउटा जिम्मेवारी हो। त्यसैले पार्टीको सदस्य भएमा पार्टीबाट लाभ मात्रै खोज्ने होइन कि पार्टी प्रति आफ्नो जिम्मेवारी पनि निर्वाह गर्नु पर्ने हुन्छ। पार्टीमाथि कुनै पनि तरीकाले आक्रमण भएमा सदस्यले प्रतिरक्षा पनि गर्नु पर्दछ।’
पार्टीको कुनै पदाधिकारी वा मन्त्रीप्रति गुनासो भएमा वा उनीहरूले काम नगरिदिँदा आक्रोशित भएर पूरै पार्टीलाई नै बदनाम हुने गरी सामाजिक सञ्जालमा पोस्ट गर्ने वा सो किसिमका गतिविधि गर्ने कार्य गर्न बन्देज गरिएको छ । ‘पार्टी भनेको हामी सबै सदस्यहरूको साझा हो । पार्टीका कुनै २-४ पदाधिकारी गलत भयो वा पार्टीका कुनै सभासद् वा मन्त्रीले तपाईंले भनेअनुरूप काम गरिदिएन भन्दैमा पार्टी नै खराब हुने भन्ने कुरा हुँदैन। त्यसैले सदस्यले सदैव पार्टीको हितको सकारात्मक कुरा गर्नु पर्दछ,’ बैठकको निर्णयमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेविसंघको म्याद सकिएको अनुशासन समितिले सोध्यो ६ नेतालाई स्पष्टीकरण
-
स्वास्थ्य बीमालाई अझै विस्तार गर्दै सरकार, जनप्रतिनिधि र कर्मचारीले बीमा गर्नैपर्ने
-
शिक्षक आन्दोलनपछि सरकारी स्कुल खुल्दा जे देखियो
-
भ्वाइस अफ नेपालको ग्रान्ड फिनाले आज
-
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
-
कोलकाता नाइट राइडर्सका विदेशी खेलाडी प्रशिक्षकको व्यवहारबाट रुष्ट