‘संघीय निजामती विधेयकलाई संसद्को यही अधिवेशनभित्र टुंग्याउनुपर्छ’
काठमाडौँ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संसद्को यही अधिवेशनभित्र टुंग्याउनुपर्ने सांसदहरूले बताएका छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।
कानुन निर्माणमा ढिलाइ हुँदा व्यवस्था र सांसदको योग्यतामाथि नै प्रश्न उठ्न थालेको उनीहरूको भनाइ छ ।
बैठकमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधेयक टुंग्याउनका लागि छलफलको माध्यमबाट एउटा विधि बनाउन जरुरी रहेको बताए । उनले विधेयक निर्माणका क्रममा आउने विवाद र फरक दृष्टिकोणको सम्बोधनका लागि साझा दृष्टिकोण बनाउन जरुरी रहेको बताए । व्यक्तिगत इन्ट्रेस्टका कुरामा अल्झिए विधेयक टुंग्याउन नसकिने उनको भनाइ छ । उनले विधेयक निर्माणको काम समयमै नबन्दा सम्बन्धित क्षेत्रका नागरिक र कर्मचारीहरू मारमा परेको बताए ।
उनले भने, ‘हामीले विधेयक टुंग्याउन ढिलाइ गर्दा लोकतान्त्रिक पद्धतिले आलोचना भोगिरहेको छ । हाम्रो योग्यतामाथि पनि प्रश्न ठड्याइराखिएको छ । त्यसकारण एउटा विधि बनाउँ, यसलाई छिटो टुंगोमा पुर्याउन ।’
नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले संसद् सेवा र स्वास्थ्य सेवालाई समेत निजामती प्रशासनकै छातामुनि राख्नुपर्ने बताए ।
कांग्रेसका सांसद हृदयराम थानीले संघीय निजामती विधेयक राम्रो कानुनको रूपमा छिटो पास गर्नुपर्ने बताए । उनले निजामती विधेयक प्रदेश र संघीय कर्मचारी प्रशासनका लागि महत्त्वपूर्ण रहेको बताए । उनले दफावार छलफलमा सहभागी हुँदा दलीय रूपमा नभई व्यक्तिगत रूपमा अगाडि बढ्न जरुरी रहेको बताए ।
उनले भने, ‘यस ऐनलाई छिटो पास गरौँ भन्ने त छँदैछ । राम्रो बनाएर छिटो पास गर्नुपर्यो । फेरि भोलि फिर्ता आउने, फर्किने । सबैको गाली खाने काम यसले गर्नु भएन । त्यसकारण यसलाई अति राम्रो बनाएर गरौँ ।’
नेकपा (एमाले)का सांसद रघुजी पन्तले संसद् र स्वास्थ्य सेवालाई समेत संघीय निजामती विधेयकमै समावेश गर्दै नियमावलीमा आवश्यक पुनरावलोकन गर्नुपर्ने धारणा राखे । उनले संरचना र विद्यमान कानुन अनुसार संसद् र स्वास्थ्य सेवालाई कानुनभित्रै सम्बोधन गरेर जान सक्छ कि सक्दैन भनेर प्रश्न समेत गरे ।
उनले भने, ‘स्वास्थ्य क्षेत्र र संसद् सेवालाई विधेयकमा राख्ने कुरामा प्रशासनका पनि आफ्नै इन्ट्रेस्टका कुराहरू छन् । हामीले यी कुराहरूलाई निजामती विधेयकमै राखेर लैजानुपर्छ भनेर आएका छौँ ।’
बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि दफावार छलफल भएको छ । बैठकले दफा ५ लाई सर्वसम्मत पारित समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण