च्याम्पियन्स ट्रफीबाट बाहिरिए न्युजिल्यान्डका बलर बेन सियर्स
काठमाडौँ । न्युजिल्यान्डका मध्यमतेज गतिका बलर बेन सियर्स आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणबाट बाहिरिएका छन् । घाइते भएका कारण उनी च्याम्पियन्स ट्रफीबाट बाहिरिएको समाचारमा जनाइएको छ ।
च्याम्पियन्स ट्रफीको नवौँ संस्करण फेब्रुअरी १९ तारिखदेखि पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुँदैछ । न्युजिल्यान्डले २७ वर्षीय बेन सियर्सको स्थानमा च्याम्पियन्स ट्रफीमा ज्याकब डफीलाई टोलीमा स्थान दिएको छ ।
बेन सियर्स बायाँ खुट्टाको मांसपेशीको समस्याबाट पीडित भएको बताइएको छ । आगामी च्याम्पियन्स ट्रफीमा किविज टोलीले आफ्नो पहिलो खेल आयोजक पाकिस्तानसँग खेल्दैछ । न्युजिल्यान्ड क्रिकेट बोर्डले शुक्रबार बेन सियर्सको स्थानमा ज्याकब डफीलाई समावेश गरिएको जनाएको हो ।
हाल न्युजिल्यान्डको टोली त्रिकोणात्मक एकदिवसीय शृंखला खेल्न पाकिस्तान भ्रमणमा छ । कराँचीमा नियमित अभ्यासका क्रममा बेन सियर्सको खुट्टामा समस्या देखिएको समाचारमा जनाइएको छ । उनलाई पूर्ण रूपमा स्वास्थ्य हुन कम्तीमा दुई साता लाग्ने बताइएको छ ।
बेन सियर्सको स्थानमा टोलीमा समावेश गरिएको ज्याकब डफीले हालसम्म न्युजिल्यान्डका लागि १० वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् । यस क्रममा डफीले १८ विकेट लिइसकेका छन् ।
च्याम्पियन्स ट्रफीको मिति नजिकिँदै गर्दा न्युजिल्यान्डका अन्य दुई प्रभावशाली खेलाडी पनि घाइते अवस्थामा छन् । ३३ वर्षीय दायाँहाते तिब्रगतिका बलर लोकी फर्गुसन ह्यामस्ट्रिङ समस्याबाट पीडित छन् । उनी आईएल टी–२० का क्रममा फेब्रुअरीको पहिलो साता घाइते भएका थिए ।
यद्दपि, उनलाई न्युजिल्यान्डले च्याम्पियन्स ट्रफीका लागि घोषित अन्तिम टोलीमा पनि यथावत राखेको छ । उनी अहिले पनि चिकित्सकको रेखदेखमा छन् । उनको पनि च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना कम रहेको बताइएको छ ।
पाकिस्तान भ्रमणका क्रममा न्युजिल्यान्डका अर्का युवा खेलाडी रचिन रविन्द्र पनि घाइते भएका छन् । उनी फेब्रुअरी ८ तारिखमा खेलिएको पाकिस्तानविरुद्धको खेलका क्रममा घाइते भएका थिए । उक्त खेलमा फिल्डिङ गर्ने क्रममा उनी चोटग्रस्त बनेका थिए ।
त्यसपछि अभ्यासका क्रममा पनि उनलाई थप चोट लागेको थियो । उनलाई पनि न्युजिल्यान्डले टोलीमा यथावत राखेको छ । न्युजिल्यान्ड क्रिकेट बोर्डले च्याम्पियन्स ट्रफीअघि नै यी क्षमतावान ब्याट्सम्यान स्वास्थ्य भइसक्ने विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण