मुकुम्लुङ घटनाबारे छलफल गर्न मधेशी मोर्चाले बोलायो बैठक

काठमाडौँ । तराई–मधेशकेन्द्रित आठदलीय मोर्चाको आज बस्ने बैठकले पाथीभरा मुकुम्लुङमा भइरहेको आन्दोलनको विषयमा छलफल गर्ने भएको छ ।
राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति क्रान्ति पार्टी नेपालको शंखमुलस्थित कार्यालयमा बैठक बस्दै छ ।
केही दिनदेखि उक्त क्षेत्रमा ‘नो केबलकार’ पक्षधरद्वारा भइरहेको संघर्षमा प्रहरीद्वारा गरिएको दमनको विषयमा बैठकमा छलफल हुने महतो नेतृत्वको पार्टीका नेता केशव झाले बताए ।
सत्ता गठबन्धन दल कांग्रेस–एमालेले संविधान संशोधन गरेर थ्रेसहोल्ड बढाउने, समानुपातिक निर्वाचन प्रणाली हटाउन लागेको भन्दै त्यसविरुद्ध मधेशकेन्द्रित दलहरूले आठदलीय मोर्चा बनाएका थिए ।
तर, आज बस्ने मोर्चाको बैठकमा डा.सीके राउत नेतृत्वको जनमत पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी उपस्थित नहुने बताइएको छ । मोर्चा संविधान संशोधनको एजेन्डामा छलफल गर्न बनाइएकाले त्यसबाहेकका विषयमा हुने छलफलमा आफ्नो पार्टी सहभागी नहुने जसपाका एक नेताले बताए ।
‘मोर्चा वा गठबन्धन एउटा कुनै विशेष मुद्दा र एजेन्डामा निर्माण हुन्छ, सबै मुद्दामा बहस र छलफल गर्न थालियो भने सफल हुँदैन,’ ती नेताले भने, ‘त्यसैले बैठकमा आफूहरूको पार्टीबाट कोही जाँदैनन् ।’
आठदलीय मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल, अशोक राई नेतृत्वको जसपा, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति र वृशेषचन्द्र लालको तमलोपा रहेका छन् ।
झण्डै एक महिनापछि बस्न लागेको मोर्चाको बैठकलाई महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले डाकेको हो ।
माघ २१ गते नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको कार्यालयमा मोर्चाको पछिल्लो बैठक बसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर
-
बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो
-
कञ्चनपुरका सात वडा विपद संकटग्रस्त क्षेत्र घोषणा
-
प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको प्रगति, न्यूक्यासल र चेल्सीलाई पछि पार्यो
-
चार वायु थप सक्रिय, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना