रारा आगलागी अपडेट : पर्यटक सुरक्षित, अवस्था सामान्य बन्दै

मुगु । मुगुस्थित रारा तालको किनारमा अवस्थित होटलमा बुधबार राति आगलागी भएको घटनापछि यहाँको अवस्था सामान्य बन्दै गएको छ । यहाँ घुम्न आएका सबै आन्तरिक तथा बाह्य पर्यटक सुरक्षित रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी एवं प्रहरी निरीक्षक अचुतराज आचार्यका अनुसार गोपाल बमले सञ्चालन गरेको ‘डाँफे’ होटलमा आगो लागेको थियो । आगलागी भएपछि ग्यास सिलिण्डर पड्किँदा पाँचवटा घर जलेर नष्ट भएका थिए । “काठका चार घर र ढुङ्गा माटोबाट निर्मित एउटा घर जलेर पूर्ण रूपमा नष्ट भएको छ”, उनले भने ।
आगो निभाउने क्रममा होटल सञ्चालक बम र होटलका भान्से जगत थापा सामान्य घाइते भएका प्रहरी निरीक्षक आचार्यले जानकारी दिए । दुवैजनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । आगलागीबाट पाँचवटै घरका सम्पूर्ण सामान नष्ट भएका छन् ।
“आगलागी हुँदा त्यहाँ ७९ पर्यटक रहेका थिए । उनीहरू सबैलाई त्यहाँ सुरक्षार्थ खटिएको हनुमानध्वज गुल्मका सैनिकले सुरक्षित स्थानमा लगेका थिए”, उनले भने । राति नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले घटनास्थलमा पुगेर आगो निभाएका थिए ।
आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे, प्रहरी नायब उपरीक्षक सरोज गिरीसहितको टोली रारा पुगेको थियो । आगो निभाउन ताल्चा विमानस्थल सुरक्षार्थ खटिएको टोली पनि त्यसतर्फ गएको प्रहरी निरीक्षक आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महावाणिज्य दूतावासको आयोजनामा लोमान्थाङ र जोमसोममा अन्तरक्रिया
-
समाजवादी मोर्चा गठन दुई वर्ष पूरा, औचित्यमाथि प्रश्न
-
चिडियाखानामा चोरको हातबाट फुत्किएका दुर्लभ रेडपाण्डाको मृत्यु
-
पश्चिम भारतमा वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु
-
दरबन्दी व्यवस्थापनको माग गर्दै स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र
-
बाढीबाट जोगाउन तटबन्ध निर्माण