‘गरिब देखाउन कालो दल्ने र मधेसी देखाउन गम्छा लगाउने मानसिकता अझै छ’
काठमाडौँ । नेपाली फिल्ममा भर्खर मात्र समाज उपस्थित हुन थालेको फिल्मकर्मीले बताएका छन् । फिल्ममा समाजको उपस्थिति देखिए पनि समाजका कथा फिल्ममा ल्याउन सक्ने वातावरण भने अझै बनिनसकेको उनीहरूको धारणा रहेको छ ।
पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिट्रेचर फेस्टिभलमा आइतबार ‘समाज खोजिरहेको सिनेमा’ विषयमा छलफल भयो । रंगपत्रकार रीना मोक्तानले सहजीकरण गरेको कार्यक्रममा कथाको रूपमा समाजका विषयवस्तु फिल्ममा आए पनि स्थापित हुन नसकेको वक्ताहरूले बताए ।
फिल्ममा समाज उपस्थिति हुन थालेको लामो समय नभएको निर्देशक उपेन्द्र सुब्बाले बताए । ‘फिल्ममा समाज देखिन थालेको ८–१० वर्षभित्र पनि सामाजिक यथार्थमा बनेका फिल्मबाट दर्शक र मेकरमा दिगमिग लाग्न थालेको स्थिति पनि देखिन थालेको छ’, सुब्बाले भने, ‘फेरि पुरानै, दक्षिण भारतीय खालका फिल्म बन्ने क्रम पनि सुरु भएको छ । त्यसमा दर्शकको रुचि पनि देखिन्छ ।’ फिल्ममा सकेसम्म आफ्नो कथा र दुःख भन्ने निरन्तर रहेको उनको भनाइ थियो ।
फिल्ममा चरित्र हुने र जहाँ चरित्र हुन्छ, त्यहाँ समाज हुने फिल्म निर्देशक दीपक रौनियारले बताए । फिल्म भएको समाज हामी बाँचिरहेको समाज हो कि होइन ? भन्ने प्रश्न उठेको उनको धारणा थियो ।
‘म पञ्चायतमा जन्मिएँ, २०४६ को आन्दोलन, जनयुद्ध र २०६३ को आन्दोलन भयो । हामीले छोटो समयमा धेरै परिवर्तन देख्यौँ’, रौनियारले भने, ‘त्यसको रिफ्लेक्सन हाम्रो फिल्ममा भइरहेको थिएन । त्यो हुन थालेको पनि धेरे भएको छैन ।’ अझै पनि हामी खुलेर हाम्रो समाजको कथामा फिल्म बनाउने, हाम्रो कथा ल्याउने वातावरण छैन ।’ तर विगत १२, १५ वर्ष हेर्ने हो भने धेरै राम्रा कुरा भएको उनको धारणा थियो ।
फिल्ममा समाजका कथा र भुईंमान्छेका कथा ल्यायौँ भन्ने चेत आयो । तर, कथा कस्तो हिसाबले प्रयोग भइरहेछ त ? प्रश्नको जवाफमा रौनियारले त्यसलाई फिल्म हेरेर एनालाइसिस गर्नुपर्ने बताए ।

‘१२, १५ वर्षको फिल्म इतिहास हेर्ने हो भने एउटा पुस्ता फिल्मबाट विस्थापित हुनुभयो । अर्को नयाँ पुस्ता आउनु भए पनि कथामा पनि परिवर्तन भएको छ’, रौनियारले थपे, ‘सबैको आआफ्नो नेचर छ । सबैको फिल्म छुट्टिन्छ ।’ त्यो भनेकै अहिलेको सुन्दर पक्ष रहेको रौनियारको धारणा छ । ‘अहिले साथ कोरियन फिल्मबाट पनि कपी फिल्म बनेको छ । एक समय त्यसमा फरक देखिने थिएन । अहिले देखिन थालेको छ’, रौनियार थप्छन्, ‘क्यामरा पछाडि को छ भन्ने कुरो महत्त्वपूर्ण हो । म भित्री मधेसमा हुर्किएको मानिसले एकै पटक छाउपडीको बारेमा फिल्म बनाउन हुन्छ कि हुँदैन ? त्यसको बारेमा मसँग नलेज छ कि छैन ? मेरो अधिकार हो कि होइन ? भन्ने प्रश्न सुरु भएको छैन ।’
अझै पनि गरिब देखाउन कालो दल्नुपर्ने र मधेसी देखाउन गम्छा लगाउने मानसिकताले जरो गाडेको उनले तर्क गरे ।
फिल्ममा सबै महिला अगाडि आउनुपर्छ र सबै महिलाले आफ्नो कथा भन्नुपर्छ भनेर आफूले भनिरहेको र त्यही अनुसार क्रियाकलाप गरिरहेको फिल्मकर्मी शान्ता नेपालीले बताइन् ।
‘नेपाली फिल्म फिमेल ग्रुप भनेर हामीले ४, ५ वर्ष अगाडि एउटा ग्रुप क्रिएसन गरेका थियौँ’, नेपालीले भनिन्, ‘त्यतिकै बनाएको ग्रुपमा अहिले निर्देशक, लेखक, क्यामराम्यान लगायत दुई सय प्लस फिल्म मेकर ग्रुपमा जोडिएका छन् ।’ उहाँहरूलाई फिल्म बनाउन नलेज दिने, आफूमा भएको प्लेटर्फम सेयर गर्ने समेत गरेको नेपालीको भनाइ छ । भन्छिन्, ‘हाम्रो कथा हामीले भन्नुपर्छ भनेर इन्करेजमेन्ट गरेको हो ।’ महिलाको अथा अगाडि आउने र उनीहरूको कथाले न्याय पाउने कामहरू अझै भएजस्तो नलागेको नेपालीले खुलाइन् ।
समाजका कथा कहिलेदेखि फिल्ममा प्रतिनिधि हुन थालेको भन्ने विषय आफूलाई थाहा नभएको फिल्मकर्मीले बताए ।
_VH2NWocpGq.jpg)
‘म गाउँमा हुर्किएको हो । फिल्म १५, १६ वर्षमा हेरे । नुमाफुङ बनेको १८, २० वर्ष भयो । त्योभन्दा अगाडि नवीन दाइले ‘तरेवा’ लगायत फिल्म बनाइसक्नुभएको थियो’, सुब्बाले भने, ‘हाम्रो लिम्बू समाजका धेरै फिल्म बनेका छन् । हाम्रो लिम्बू गीतसंगीतको पनि धेरै रेकर्ड हुन्छ । उनीहरू पनि नेपाली कलाकार जति चर्चित छन् । लिम्बू भाषामा गाउने पनि लिम्बू कम्युनिटीमा चर्चित छन् ।’ आफू बजारमा आउँदा समाजको उपस्थिति भइसकेकाले सजिलो र आँट आएको सुब्बाले धारणा राखे ।
हाम्रो फिल्म उद्योग धेरै पुरानो होइन, त्यसमा पनि खुलेर फिल्म बन्न थालेको धेरे नभएको रौनियार बताउँछन् ।
‘पहिलो पटक फिल्म हेर्दा १३ वर्षको थिएँ । कलेज पढ्दा विराटनगरमा धेरै फिल्म हेर्थेँ । त्यो समय बलिउड फिल्म दबदबा थियो । त्यो समय हाम्रो कथा देखिँदैन थियो । फिल्म बनाउन सक्छु भन्ने आँट आएन’, रौनियार भन्दै गए ‘जब विराटनगरबाट काठमाडौँ सरेँ । बाहिरको फिल्महरू हेर्न थालेँ । त्यसपछि हाम्रो सामान्य समाजको फिल्म बन्दो रहेछ भन्ने भयो ।’ जुन समाजबाट आफू आएको त्यो समाज अझै फिल्ममा नरहेको रौनियारको धारणा छ । ‘एउटा मधेसी मुख्य अभिनेताको रूपमा पाउनु सम्भव छैन । त्यो समाज फिल्मभित्र अझै अटाएको छैन’, उनले गुनासो गरे, ‘जहिले पनि त्यो समाज जोकको पात्रको रूपमा मात्र फिल्ममा प्रस्तुत गरिन्थ्यो ।’
‘मैले करिअर पत्रकारिताबाट सुरु गरेँ । त्यसले पनि हाम्रो विषय फिल्ममा किन आउँदैन । किन बन्दैन भनेर खोज गर्न थालेँ’, उनी दाबी गर्छन्, ‘आफ्नो फिल्ममा त्यही भएर समाज देखिन्छ ।’ आफ्नो पहिलो फिल्म ‘हाइवे’मा त्यतिवेला भएका आन्दोलन र त्यही समाजको प्रतिनिधित्व भएको उनको धारणा रहेको थियो ।
समाजको कथा फिल्ममा आए पनि राम्रो कथा किन उठान भएनन् भन्ने प्रश्न भइरहेका छन् । फिल्म मेकर जहिल्यै प्रतिपक्ष भएकाले समाजले प्रश्न गर्नुपर्ने रौनियार बताउँछन् ।
‘समाजले प्रश्न नगर्ने हो भने फिल्म बनाउन र कथा भन्न जरुरी भएन । मलाई पनि गाली गर्छन् । नेपालको खराब खराब कुरा देखाएर संसार डुल्यो भन्छन् । बेइज्जत गर्यो भन्छन्’, रौनियारले भने, ‘यो फिल्मको विषयमा भनेको बहस हो । जति बहस हुनुपर्ने हो र त्यो अझै भएको छैन ।’ फिल्मको विषयमा सानासाना बहस हुन थाले पनि विश्व विद्यालयले फिल्मलाई साहित्य मानेर गहिरो अध्ययन गराउने, ठुला डिसकस हुन सकेको छैन ।’
आफ्नो फिल्मलाई बाहिर बहस गरेको र पीएचडीका लागि थेसिस लेखिएको समेत उनले जनाकारी दिए । ‘धेरै बहस र डिसकस भयो भने हामीलाई फाइदा हो’, रौनियारले थपे ।
समाज नराम्रो कुरो नहेरौँ, नदेखौँ, नसुनौँ भन्ने मानवीय स्वभाव भएको उपेन्द्र सुब्बा बताउँछन् ।
‘म लिम्बू समाजको कथा भन्न रुचाउँछु । मलाई यो सजिलो पनि छ । म यसमा बाँचेको । मेरो समाजको आस्था विश्वासदेखि जीवन पद्धतिसम्म जान्छ’, सुब्बा थप्छन्, ‘यो समाजको म नराम्रो कुरा पनि भन्न सक्छु, आँटले । हरेक परिवारले नभोग्ला । तर मैले देखेका पनि छन् ।’ त्यो आफ्नो जिम्मेवारी पनि भएको बताउने सुब्बा त्यसो गर्दा कम्युनिटीलाई ऐना देखाएजस्तो हुने धारणा राख्छन् ।
आफ्नो कथाभन्दा अझ धेरे रेस्पोन्सिबिलिटी बढ्ने नेपाली बताउँछिन् । ‘म एउटा दलित कम्युनिटीबाट आउँछु । त्यो कम्युनिटीले भोगिरहेको कुरा कस्तो हुन्छ भन्ने मैले बुझेको छु, राम्रोसँग’, उनले थपिन्, ‘यदि म कम्युनिटीको कथा भन्ने क्रममा मधेसमा रहेका दलितको कथा भन्ने हो भने म राइट पर्सनचाहिँ हुँला । तर त्यहाँका मानिससँग क्रिएटिभ हिसाबले सँगै काम गर्नुपर्छ ।’ आफ्नो कथा भनिराख्दा पनि त्योसँग सम्बन्धित मानिसहरूसँग कनेक्टिभ हुनुपर्ने नेपालीको धारणा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण