विश्वकप छनोटका लागि १७ महिनापछि ब्राजिलियन टोलीमा फर्किए स्टार स्ट्राइकर नेमार
काठमाडौँ । स्टार स्ट्राइकर नेमार ब्राजिलको राष्ट्रिय टोलीमा फर्किएका छन् । फिफा विश्वकपको निकट भविष्यमा हुने छनोट प्रतियोगिताका लागि ३३ वर्षीय प्रभावशाली स्ट्राइकर नेमारलाई पनि टोलीमा समावेश गरिएको हो ।
ब्राजिलले निकट भविष्यमा दुई बलिया प्रतिद्वन्द्वी कोलम्बिया र अर्जेन्टिनासँग विश्वकपको छनोट खेल खेल्दैछ । नेमार १७ महिनापछि ब्राजिलको राष्ट्रिय टोलीमा फर्किएका हुन् । नेमार हाल व्यावसायिक फुटबल खेल्न साउदी क्लब अल–हिलालबाट ब्राजिलियन क्लब सान्तोष पुगेका छन् ।
नेमार सन् २०२३ को अक्टोबरमा सम्पन्न उरुग्वेविरुद्धको खेलका क्रममा घाइते भएका थिए । उनको घुँडामा गम्भीर चोट लागेको थियो । त्यसयता उनी पहिलो पटक ब्राजिलको राष्ट्रिय टोलीमा फर्किएका हुन् ।
गत जनवरीमा सान्तोषमा आबद्ध भएयता नेमारले क्लबका लागि तीन गोल गरिसकेका छन् । उनले तीन गोलका लागि पास पनि उपलब्ध गराएका छन् । नेमार ब्राजिलका लागि दोस्रो सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी पनि हुन् ।
नेमारले हालसम्म ब्राजिलको राष्ट्रिय टोलीबाट एक सय २८ खेल खेल्दै ७९ गोल गरिसकेका छन् । ब्राजिलका लागि सर्वाधिक खेल खेल्न खेलाडी भने काफु हुन् । उनले ब्राजिलको राष्ट्रिय टोलीबाट एक सय ४२ खेल खेलेका छन् ।
नेमारले राष्ट्रिय टोलीबाट गरेको गोल सर्वकालिन महान खेलाडी पेलेले गरेको भन्दा पनि बढी हो । पेलेले ब्राजिलका लागि ७७ गोल गरेका थिए । विश्वकप छनोटमा ब्राजिलले मार्च २० तारिखमा कोलम्बियाको सामना गर्दैछ । उक्त खेल ब्राजिलको घरेलु मैदानमा खेलिने छ ।
मार्च २५ तारिखमा ब्राजिलले चिर प्रतिद्वन्द्वी अर्जेन्टिनाको सामना गर्नेछ । उक्त खेल अर्जेन्टिनाको घरेलु मैदानमा खेलिने छ । दक्षिण अमेरिकी क्षेत्रको छनोट प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ । प्रत्येक टोलीले एक–अर्कासँग ‘होम एन्ड अवे’ का आधारमा एक–एक खेल खेल्नेछन् ।
त्यसपछि अंक तालिकाको माथिल्लो ६ स्थानमा रहने टोली सिधै सन् २०२६ को विश्वकपमा छनोट हुनेछन् । तालिकाको सातौँ स्थानमा रहने टोलीले भने अन्तर महाद्विपीय प्ले–अफ खेल्नु पर्नेछ । हालसम्म सबै टोलीले १२–१२ खेल खेलिसकेका छन् ।
विश्वकपको साविक विजेता अर्जेन्टिना २५ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । २० अंकसहित उरुग्वे दोस्रो स्थानमा छ । १९ अंकसहित इक्वेडर तेस्रो र समान अंक बटुलेको कोलम्बिया चौथो स्थानमा छन् ।
यसैगरी, १८ अंकसहित ब्राजिल तालिकको पाँचौँ स्थानमा आसिन छ । १७ अंकसहित पाराग्वे छैटौँ, १३ अंकसहित बोलिभिया सातौँ, १२ अंकसहित भेनेजुएला आठौँ, नौ अंकसहित चिली नवौँ र सात अंकसहित पेरु १०औँ स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण