भारतको बदला पूरा, रेकर्ड तेस्रोपटक च्याम्पियन्स ट्रफीको उपाधि

दुबई । न्युजिल्याण्डलाई हराउँदै भारतले आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । आइतबार भएको फाइनल खेलमा भारतले न्युजिल्याण्डलाई ४ विकेटले हराएको हो ।
योसँगै भारतले २५ वर्षअघिको बदला लिन पनि सफल भएको छ । सन् २००० मा भएको दोस्रो संस्करणको फाइनलमा यी दुई टोली आमनेसामने भएका थिए । उक्त खेलमा न्युजिल्याण्डले भारतलाई पराजित गरेको थियो ।
भारतले च्याम्पियन्स ट्रफीको उपाधि जितेको यो रेकर्ड तेस्रो पटक हो । कुनै पनि टोलीले तीनपटक यो उपाधि जित्न सकेको छैन । अस्ट्रेलियाले दुईपटक यो उपाधि जितेको छ । भारतले यसअघि सन् २००२ र २०१३ मा यो उपाधि उचालेको थियो ।
फाइनल खेलमा न्युजिल्याण्डले भारतसामु जितका लागि २ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । भारतले उक्त लक्ष्य ४९ ओभरमा ६ विकेटको क्षतिमा पछ्यायो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ७६ रनको योगदान दिए ।
रचिन रवीन्द्रको सिकार हुन अघि उनले ८३ बलको सामना गर्दै ७ चौका र ३ छक्का हिर्काए । उनले शुभमन गिलसँग मिलेर पहिलो विकेटका लागि शतकीय साझेदारी गरे । गिलले ५० बलमा ३१ रन जोडे । विराट कोहली १ रन बनाएर आउट भए पनि श्रेयर ऐयरले ६२ बलमा ४८ रनको महत्त्वपूर्ण इनिङ्स खेले । अक्षर पटेलले २९ रन तथा हार्दिक पाण्ड्याले १८ रन बनाए ।
खेलको अन्त्यतिर केएल राहुलले ३३ बलमा ३४ रन बनाउँदै टोलीलाई जितसम्म डोर्याए । उनले १ चौका र १ छक्का प्रहार गरे । न्युजिल्याण्डका लागि मिचेल स्यान्टनर र माइकल ब्रेसवेलले २–२ विकेट लिए । रचिन रवीन्द्र र कायल जेमिसनले १–१ विकेट लिए ।
दुबईमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको न्युजिल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन बनाएको थियो । टोलीका लागि डेरल मिचेलले सर्वाधिक ६३ रनको योगदान दिए । उनले १०१ बलको सामना गरेर ३ चौका प्रहार गरे । रचिन रवीन्द्रले २९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३७ रन बनाए ।
ग्लेन फिलिप्सले ५२ बलमा ३४ रन जोडे । उनले २ चौका र १ छक्का हिर्काए । खेलको अन्त्यतिर माइकल ब्रेसवेलले ५३ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । भारतका लागि वरुण चक्रवर्ती र कुलदीप यादवले २–२ विकेट लिए । त्यस्तै, मोहम्मद शमी र रवीन्द्र जडेजाले १ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेका वकिलले पटक–पटक पेसी स्थगित गरेर ‘थाहै दिइएन’ भनेपछि...
-
प्रिन्टिङ्ग प्रणालीमा देखिएको समस्या समाधानपछि पुन: सवारी चालक अनुमतिपत्र छपाइ सुरू
-
षट्कोण आर्ट्सले घोषणा गर्यो नयाँ फिल्म ‘लालीबजार’
-
निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
-
गर्भवती र सुत्केरीको हवाई उद्धार सेवा कमजोर, रातिमा किन भएन ?
-
गाजामा धेरै मानिस भोकमरीमा छन् : ट्रम्प