आइतबार, २८ वैशाख २०८२
ताजा लोकप्रिय
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट

किरण ठगुन्नाको उत्कृष्ट शतकसँगै सुदूरपश्चिमले कोशी प्रदेशलाई हरायो

आइतबार, १० चैत २०८१, १६ : १८
आइतबार, १० चैत २०८१

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सातौँ हार ब्यहोरेको छ । दाङको लमही क्रिकेट मैदानमा आइतबार खेलिएको खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३१ रनले हराएको हो । 

जारी प्रतियोगितामा आठ खेल खेलेको सुदूरपश्चिम प्रदेशले हात पारेको यो तेस्रो जित हो । पाँच खेलमा सुदूरपश्चिम प्रदेश पराजित भएको छ । आठ खेल खेलेको कोशी प्रदेशको भने यो सातौँ हार हो । हालसम्म कोशी प्रदेशले एक खेलमात्र जित्न सकेको छ । 

यी दुवै टोलीको फाइनलमा पुग्ने सम्भावना भने यसअघि नै समाप्ति भइसकेको छ । टस जिती ब्याटिङ रोजेको सुदूरपश्चिम प्रदेशले ४३.४ ओभरमा अलआउट हुनुअघि दुई सय ४२ रन बनाएको थियो । कोशी प्रदेशले भने ४५.१ ओभरमै अलआउट हुनुअघि दुई सय ११ रनमात्र बनाउन सक्यो । 

पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशको जितमा किरण ठगुन्नाले उत्कृष्ट शतकीय पाली खेले । उनले टोलीका लागि एक सय १५ रनको योगदान गरे । अघिल्ला ब्याट्सम्यानले निराशाजनक प्रदर्शन गरेपछि छैटौँ नम्बरमा क्रिज समाल्न आएका किरणले जिम्मेबारीपूर्कक ब्याटिङ गरे ।

किरणले ९१ बलको सामना गरी चार छक्का र १२ वटा चौका पनि हिर्काए । उनकै उत्कृष्ट शतकका कारण सुदूरपश्चिम प्रदेशको जितको आधार तयार भएको थियो । जारी प्रतियोगितामा उनले बनाएको यो दोस्रो शतक हो । यसअघि उनले गण्डकी प्रदेशविरुद्ध अविजित एक सय २१ रन बनाएका थिए ।

किरणका अतिरिक्त जारी प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका तृतराज दासले मात्र शतक बनाउन सकेका छन् । आर्मी क्लबका ओपनर ब्याट्सम्यान तृतराजले पनि कोशी प्रदेशविरुद्धको खेलमै अविजित एक सय १२ रन बनाएका थिए ।  आइतबारको खेलमा सुदूरपश्चिम प्रदेशका अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । अन्य ब्याट्सम्यानले बनाएभन्दा बढी रन त सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा पाएको थियो । अतिरिक्त रुपमा सुदूरपश्चिम प्रदेशले ३२ रन पायो । 

ओपनर टेक रावतले १६, निश्चल क्षेत्रीले १०, अर्जुन विकले १५, कप्तान नारायण जोशीले १४ र सूर्य श्रेष्ठले अविजित १० रन बनाएका थिए । कोशी प्रदेशका बलर ज्ञानेन्द्र श्रेष्ठले चार विकेट लिए । उनले ९।४ ओभरमा एक मेडन राख्दै ४८ रन खर्चिए । फिर्दोष अन्सारी र अंकित सुवेदीले पनि एक–एक विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको कोशी प्रदेशका लागि ओपनर सकिब हकले उत्कृष्ट अर्धशतकीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले ६२ रन बनाए । यस क्रममा उनले ६६ बलको सामना गरी ११ चौका पनि हिर्काए । तेस्रो नम्बरका ब्याट्सम्यान आशिष भट्टराईले ३६ रन जोडे । कप्तान अंकित सुवेदीले ३८ रन बनाए । उनले २६ बलमा ६ चौका प्रहार गरे । समिर कार्कीले पनि टोलीको खातामा ३८ रन थपे । उनले ३७ बलमा तीन छक्का प्रहार गरे । 

कोशी प्रदेशका अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन । सुदूरपश्चिम प्रदेशका बलर सौर्य श्रेष्ठले तीन विकेट लिए । उनले नौ ओभरमा एक मेडन राख्दै ४५ रन खर्चिए । भोजराज भट्टले पनि दुई विकेट हात पारे । राहुल भण्डारी, नारायण जोशी र शेर मल्लले एक–एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप