कांग्रेस निकट जनसम्पर्क समितिमा दुई किसिमको सदस्यता हुने, एनआरएनए नागरिकता लिएकालाई पनि छुट

काठमाडौँ । नेपाली कांग्रेसको विदेशस्थित जनसम्पर्क समितिमा दुई किसिमका सदस्यता हुने भएको छ । आइतबार बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले विदेशस्थित जनसम्पर्क समितिमा ‘नेपाली कांग्रेसको क्रियाशील सदस्यता’ र ‘जनसम्पर्क समितिको सदस्यता’ हुने निर्णय गरेको हो ।
जसअनुसार नेपाली जनसम्पर्क समितिको अध्यक्ष, पदाधिकारी वा सदस्य जनसम्पर्क समितिको विधानमा व्यवस्था भए बमोजिम कांग्रेसको क्रियाशील सदस्य वा जनसम्पर्क समितिको सदस्यता प्राप्त गरेको सदस्यमध्येबाट चयन हुनसक्ने निर्णयमा उल्लेख छ ।
जनसम्पर्क समितिको सदस्यता प्राप्त गर्न गैर आवासीय नेपाली परिचयपत्र वा गैर आवासीय नेपाली (एनआरएनए) नागरिकता प्राप्त गरेका व्यक्ति समेतलाई वाधा नपुग्ने कांग्रेसको निर्णयमा उल्लेख छ ।
यस्तै पार्टीको महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य निर्वाचित हुनका लागि कांग्रेसको क्रियाशील सदस्य हुन अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ भने जनसम्पर्क समितिको अध्यक्ष स्वतः महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य हुने व्यवस्था हटाइएको कांग्रेसद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘यो व्यवस्था लागु हुनु पूर्व क्रियाशील सदस्यता प्राप्त गरेका विदेशी नागरिकहरुको हकमा निजहरुले प्राप्त गरेको क्रियाशील सदस्यता जनसम्पर्क समितिको सदस्यतामा रुपान्तरित हुनेछ । साथै, निजले प्राप्त गरेको साविकको क्रियाशील सदस्यतालाई सोही अवधिदेखि पार्टीमा संलग्नताको निरन्तरतामा समेत गणना गरिनेछ’, निर्णयमा भनिएको छ ।
यस्तै, विदेशस्थित जनसम्पर्क समितिले केन्द्रीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पठाउने बारे पनि आवश्यक निर्णय गरेको छ । जसअनुसार कम्तिमा एक सय कांग्रेसको क्रियाशील सदस्य रहेका जनसम्पर्क समितिको अधिवेशनबाट निर्वाचित केन्द्रीय महासमिति सदस्य एक जना हुनेछन् । यस्तै पाँच सय वा सो भन्दा बढी क्रियाशील सदस्य रहेका जनसम्पर्क समितिबाट सात जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट तीन जना केन्द्रीय महासमिति सदस्य हुनेछन् ।
यस्तै दुई हजार वा सो भन्दा बढी नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेका जनसम्पर्क समितिबाट चौध जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट छ जना केन्द्रीय महासमिति सदस्य हुने व्यवस्था गरिएको छ ।
यस्तै पार्टी केन्द्रीय कार्यसमितिले विदेशस्थित जनसम्पर्क समितिबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि संख्या तोक्दा एउटा देशबाट बढीमा चौध जना र केन्द्रीय महासमिति सदस्य तोक्दा छ जना भन्दा बढी नतोक्ने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको पक्षमा लडिरहेका एक अस्ट्रेलियाली नागरिकलाई १३ वर्षको जेल सजाय
-
ढल्केबरको ढुङ्गो र अन्तरेहरू
-
सैद्धान्तिक रूपमा नेपालका कम्युनिष्टबिच एकता हुनुपर्छ भन्नेमा म प्रष्ट छु : नारायणकाजी श्रेष्ठ
-
योजनाबद्ध विकासमा केन्द्रित छौँ : मुख्यमन्त्री आचार्य
-
रुस-युक्रेन वार्ता : युद्धबन्दी रिहा गर्ने सहमत, युद्धविरामबारे थप छलफल गरिने
-
बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी