प्रेस चौतारी महाधिवेशनः टीका लगाएर नेतृत्व चयन गर्ने भएपछि रुँदै निस्किए प्रतिनिधि
विराटनगर । प्रेस चौतारी नेपालको दशौँ अधिवेशनमा नेताहरूले एकलौटी नेतृत्वको टिम घोषणा गर्न लागेपछि प्रतिनिधिहरू रुँदै हलबाट बाहिरिएका छन् ।
चौतारीमा नयाँ नेतृत्व चयनका लागि प्रतिनिधिहरूले निर्वाचन माग गरेका थिए।
उम्मेदवारी दर्ता गर्न संस्थापनइतर समूहलाई फारमसमेत नदिएपछि राजेश राईको समूह निरीह बनेको थियो । अन्तिममा राईलाई बन्द सत्रमा बोल्न दिइएको थियो । त्यस क्रममा राईले ‘हरेक सदस्यले जित्दै गर्दा अब माथितिर होइन, आधारतिर फर्किने दिन आउने छ । माथि धाउँदा होइन, जनताबिच जाँदा पार्टी र संगठन बलियो हुने छ,’ भनेका थिए ।
उनले आफूले निर्वाचनमा प्रतिस्पर्धा गर्न खोज्दा विभिन्न प्रहार भएको भन्दै भावुक भाषण पनि गरेका थिए । त्यसपछि बाहिरिएका चौतारीका केही प्रतिनिधिलाई अँगालो हाल्दै राई आफू पनि रोएका थिए । चौतारीको नयाँ नेतृत्व चयनको विषयलाई लिएर कतिपयले सामाजिक सञ्जालमा तीव्र असन्तुष्टिसमेत पोखेका छन् ।
‘देशभरका श्रमजीवी पत्रकार विराटनगर बोलाएर लामखुट्टेले टोकाइ टोकाइ लुट्नुभन्दा सर्कुलरमार्फत प्रेस चौतारी गठन गरेको भए राम्रो हुन्थ्यो । प्रतिनिधि, लेवी र उम्मेदवारीका नाममा तोकिएका शुल्क अस्वाभाविक छन्,’ चौतारीका नेता माधव तिवारीले लेखेका छन्, ‘नेतृत्वका नाममा भित्तामा टाँसिन लाग्नुभएका सम्पूर्ण टीकारामज्यूहरूमा हार्दिक बधाई ।’
यस्तै सुनसरीका प्रतिनिधि कृष्ण बहावले आफूले सक्ने जति बल गरे पनि असफल भएको भन्दै हस्ताक्षर अभियान चलाएको सगर्व घोषणा गरेका छन् । ‘गरेकै हो । लुकेर छुपेर हैन, खुलमखुला बोलेकै हो । सकिएन । अभिवादन !,’ बहावले सामाजिक सञ्जालमा लेखेका छन् ।
चौतारीका कोशी प्रदेश सदस्य पुष्पराज थपलियाले प्रतिनिधिलाई भेडाबाख्रा जस्तो गरिएको बताए । ‘यसरी नेता चुनिनु थियो भने किन भेला गरेको ? हजारौँ रुपैयाँ खर्च गरेर बोलाउने, प्रतिनिधिहरूलाई पनि रकम तिराउने अनि मताधिकार दिने बेलाचाहिँ रोक्ने ?,’ उनले आक्रोश व्यक्त गर्दै भने, ‘नेतृत्व चयन अलोकतान्त्रिक भयो । यो सच्याउन जरुरी छ ।’
प्रेस चौतारीका पूर्वकेन्द्रीय सदस्य किशोर बुढाथोकीले पनि नयाँ नेतृत्व चयनप्रति असन्तुष्टि जनाएका छन् । ‘गोजीका मान्छेको संरक्षण गर्ने चक्करमा प्रतिनिधिको भावना नबुझ्ने। मताधिकारबाट वञ्चित गर्ने, प्रतिनिधिलाई रुवाउने । यो त अति भयो,’ उनले प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण