मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट

सुदूरपश्चिमका शेर र हेमन्तको आक्रामक बलिङसामु १०२ रनमै समेटियो मधेस

मङ्गलबार, १२ चैत २०८१, १२ : २४
मङ्गलबार, १२ चैत २०८१

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेसले अर्को निराशाजनक प्रदर्शन गरेको छ । जारी प्रतियोगितामा अपेक्षित प्रदर्शन गर्न नसकिरहेको मधेस प्रदेश मंगलबार खेलिएको सुदूरपश्चिम प्रदेशविरुद्धको खेलमा केवल एक सय दुई रनमा अलआउट भयो ।

भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको मधेश प्रदेशका ब्याट्सम्यानहरु ४२.३ ओभरमात्र क्रिजमा टिक्न सके । मधेश प्रदेशले आफ्नो आठौँ खेल खेलिरहेको हो ।

मधेश प्रदेस यसअघि आफूले खेलेको सातमध्ये दुई खेलमा विजयी र पाँच खेलमा पराजित भएको छ । सुदूरपश्चिम प्रदेशले भने आफ्नो अन्तिम खेल खेलिरहेको हो । सुदूरपश्चिम प्रदेश यसअघि आफूले खेलेको आठमध्ये तीन खेलमा विजयी र पाँच खेलमा पराजित भएको छ ।

यी दुबै टोली यसअघि नै उपाधि होडबाट भने बाहिरिइसकेका छन् । सुदूरपश्चिम प्रदेशविरुद्धको खेलमा मधेस प्रदेशका माथिल्ला चार ब्याट्सम्यानले त दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । ओपनर रोहन विक दुई रनमै आउट भए । 

अर्का ओपनर मयान यादव र तेस्रो नम्बरमा क्रिज समाल्न आएका कप्तान अनिल साहले त खातासम्म खोल्न सकेनन् । चौथो नम्बरका ब्याट्सम्यान हरिशंकर साह पनि तीन रनभन्दा अगाडि बढ्न सकेनन् । दीपेश दासले टोलीको खातामा १२ रन थपे ।

पवन सर्राफले टोलीको खातामा १९ रन थपे । उनले ४६ बलमा एक चौका हिर्काए । रुपेश सिंहले १२ रन बनाए । तल्लो क्रमका ब्याट्सम्यान प्रदिप पासवानले सर्वाधिक अविजित २३ रन बनाए । उनले ५२ बलमा तीन चौका हिर्काए । मधेश प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । 

मधेश प्रदेशले अतिरिक्त रुपमा १६ रन पायो । सुदूरपश्चिम प्रदेशका बलर शेर मल्ल एक्लैले चार विकेट लिए । उनले १० ओभरमा ६ मेडन राख्दै केवल पाँच रन खर्चिए । हेमन्त धामीले पनि चार विकेट हात पारे । उनले ५.३ ओभरमा एक मेडन राख्दै केवल ११ रन खर्चिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप