शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
शिक्षक आन्दोलन

विद्यालय शिक्षा ऐन माग्दै शिक्षकहरू सडकमा उत्रिएपछि सरकार छलफलमा जुट्यो

हातमा ऐन बोकेरमात्रै घर फर्किने शिक्षकहरूको अडान
शुक्रबार, २२ चैत २०८१, १९ : ३४
शुक्रबार, २२ चैत २०८१

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षकहरू तथा विद्यालय कर्मचारी सडक आन्दोलनमा छन् । नेपाल शिक्षक महासंघको आयोजनामा देशभरका शिक्षक र विद्यालय कर्मचारीहरू चैत २० गतेदेखि माइतीघर–बानेश्वर सडकखण्डमा दैनिक आन्दोलन गर्दै आएका हुन् ।

तीन दिनदेखि काठमाडौँका सडकमा हजारौँको संख्यामा शिक्षक कर्मचारी बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म प्रदर्शन गर्दै आएका छन् । आन्दोलनरत शिक्षक कर्मचारीहरूलाई सरकारले वार्तामा आउन पटकपटक आग्रह गर्दै आएको छ । तर आन्दोलनरत शिक्षक तथा कर्मचारीहरूले वार्ताभन्दा पनि शिक्षा ऐन चाहिएको भन्दै वार्तामा नजाने अडान राख्दै आएका छन् ।

आन्दोलनरत शिक्षकहरू वार्तामा सहभागी नभएपछि कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सरोकारावाला पक्षसँग छलफल गरिरहेका छन् । बिहीबार र शुक्रबार गरेर लगातार दुई दिन विद्यालय शिक्षा विधेयकका विषयमा सिंहले छलफल गरेका हुन् ।

छलफलमा गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री विद्या भट्टराई, शिक्षा समितिका सभापति अम्मर बहादुर थापा, प्रमुख दलका मुख्य सचेतकहरू, सचेतकहरू लगायतको उपस्थिति रहँदै आएको छ । यद्यपि शिक्षकका कुनै पनि प्रतिनिधि छलफलमा सहभागी छैनन् ।

छलफलको क्रममा कार्यवाहक प्रधानमन्त्री सिंहले शिक्षकका मागको विषयमा सरकार गम्भीर रहेको बताएका छन् । उनले आउने बर्खे अधिवेशनको पहिलो सत्रमै विद्यालय शिक्षा विधेयक पेस गर्ने बताएका हुन् ।

आन्दोलनरत शिक्षक महासंघको प्रतिनिधिसँग कार्यवाहक प्रधानमन्त्री सिंहसहितको टोलीले छलफल गर्न शुक्रबार ३ बजे सिंहदरबारमा बोलाइएको थियो । तर, वार्ताको औचित्य नभएको बताउँदै महासंघका प्रतिनिधि उक्त छलफलमा गएनन् ।

आन्दोलन परिचालन समिति संयोजक तथा नेपाल शिक्षक महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले आफूहरूलाई वार्ता नभई ऐन चाहिएको बताइन् ।

वार्तामा बोलाइए पनि आफूहरूले त्यसलाई खारेज गरेको उनको भनाइ छ । आफूहरू आन्दोलनको मैदानमा रहेको बताउँदै उनले ऐन नआएसम्म आन्दोलन नरोकिने बताइन् ।

महासंघका महासचिव तुला थापाले समेत वार्ताको कुनै औचित्य नभएको बताए । वार्तामा बोलाउनुका साटो चाँडोभन्दा चाँडो ऐन ल्याएर आफूहरूलाई घर पठाउन उनले सरकार समक्ष आग्रह गरे ।

सरकारी टोलीबिचको छलफलपछि गृहमन्त्री रमेश लेखकले शिक्षा विधेयक अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका थिए । शिक्षकका विषयमा सरकारले अत्यन्त गम्भीरतापूर्वक छलफल गरिरहेकाले चाँडै ठोस निर्णयमा पुग्ने उनको भनाइ थियो ।

वार्तामा आउन पटकपटक आह्वान

आन्दोलनको घोषणा गरेसँगै शिक्षकहरूलाई सरकारले वार्तामा आउन आग्रह गरेको थियो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा रिले अनशन बसेका बेला केन्द्रका महानिर्देशक कृष्ण काप्रीको संयोजकत्वमा वार्ता समिति बनेको थियो ।

शिक्षा मन्त्रालयले बनाएको वार्ता समितिसँग समेत शिक्षकहरूले वार्ता नगर्ने अडान राखेका थिए । चैत ७ गतेदेखि १५ गतेसम्म रिले अनशन गरेका शिक्षकहरू उक्त वार्ता समितिसँग वार्तामा बसेनन् । विगतमा वार्तामा बसेर सम्झौता गरिसकेको बताउँदै उनीहरूले अब कुनै प्रकारको वार्ताको औचित्य नभएको बताउँदै आएका छन् ।

Teacher sarkar barta

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले वार्ता जरुरी नै नरहेकाले त्यसको कुनै औचित्य नै नभएको बताए ।

‘हामी कन्टेन्टको विषयमा छलफल गर्नुपर्ने भए छलफल गर्छौँ । समितिभित्र उपसमितिले कुनै विषयवस्तुमा छलफलका लागि बोलाए, हाम्रो राय सुझाव चाहिए हामी जान्छौँ । अन्यथा वार्ता जरुरी छैन । किनभने वार्ता भएर सहमति भइसकेको छ । सहमति लागु गर्नका लागि त वार्ता गर्नुपर्दैन,’ सुवेदीले भने ।

आन्दोलन गर्दैगर्दा शिक्षा मन्त्रालयले समेत वार्ताका लागि आह्वान गरेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्र्दै छलफल गर्न र साझा धारणा निर्माण गर्न मन्त्रालय तयार रहेको जनाएका थिए । तर, शिक्षकहरूले त्यसलाई ठाडै अस्वीकार गरेका थिए ।

विद्यालय शिक्षा विधेयक निर्माणको काम प्रतिनिधि सभा अन्तर्गत शिक्षा समितिमा भइरहेको जनाउँदै शिक्षक समुदायसँग विगत झैँ फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न सरकार तयार रहेको बताएका थिए । त्यसका लागि शिक्षक तथा कर्मचारीका प्रतिनिधिहरूलाई मन्त्रालयमा स्वागत गर्न तयार रहेको उनको भनाइ थियो ।

विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेस भइ छलफलको प्रक्रियामा छ । विद्यालय शिक्षा विधेयक समयमै पारित गर्ने वातावरण सिर्जना गर्नका निमित्त सिङ्गो शिक्षक समुदायको पैरवी, सरोकार र ऐक्यबद्धताका बारेमा मन्त्रालय सकारात्मक रहेका जनाएका थिए । शिक्षक समुदायका प्रतिनिधिहरूसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकाले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने अपेक्षा रहनु स्वाभाविक रहेको मन्त्रालयको ठहर थियो ।

गृहमन्त्रीसँगको त्यो तीन घण्टे छलफल 

चैत १५ गते काठमाडौँका दुई ठाउँमा प्रदर्शनको कार्यक्रम थियो । भृकुटीमण्डप र तीनकुने क्षेत्रमा राजावादी र गणतन्त्रवादीको प्रदर्शनको कार्यक्रम थियो । त्यही दिन गृहमन्त्री रमेश लेखकले कांग्रेस निकटका शिक्षक तथा कर्मचारीलाई बोलाएका थिए ।

तीन घण्टासम्म राखेर गृहमन्त्री लेखकले आन्दोलन स्थगित गर्न भनेका थिए । ‘तीन घण्टासम्म ¥याख¥याख्ती पार्नुभयो । आन्दोलन किन गर्नुप¥यो, स्थगित गर्नुहोस् भन्नेमात्रै उहाँको अडान थियो । हामीलाई त्यहाँबाट उम्किन निकै गाह्रो भयो,’ छलफलमा सहभागी एक शिक्षक नेताले भने ।

अहिले पार्टी तथा संगठनभन्दा पनि पेसागत हकहितका लागि आएको बताउँदै उनीहरूले कुनै पनि हालतमा आन्दोलन नरोकिने बताएका थिए । त्यसपछि गृहमन्त्री लेखक रिसाएर गएको ती नेताको भनाइ छ ।

सरकारले बोलाएको वार्ताको विषयमा सामान्य छलफल बाहेक केही नभएको शिक्षक नेताहरू बताउँछन् । तीन दिनदेखि काठमाडौँका सडकमा शिक्षक कर्मचारीले आन्दोलन थालेपछि सरकारले आफ्ना पार्टी निकटका नेताहरूमार्फत वार्तामा बोलाउने प्रयास गर्दै आएका छन् ।

कांग्रेस, एमाले, माओवादी निकटका शिक्षक कर्मचारीलाई सम्बन्धित पार्टीका नेताहरूले बोलाएर छलफल गर्दै आएका हुन् । शिक्षक नेताहरू समेत सुटुक्क पार्टी कार्यालय तथा नेताहरू भेट्न थालेपछि महासंघका अध्यक्ष सुवेदी रिसाएका छन् । उनले सार्वजनिक रूपमै सत्ताको चाकडीमा रमाउन थालेको बताएका थिए ।

केही साथीहरू शैक्षिक भ्रमणमा रहेको बताउँदै कोही साथीहरू तालिमको नाममा सत्ताको चाकडीमा रमाइरहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप