बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

कांग्रेसका मुख्य भ्रातृ संस्थामा ‘टीके नेतृत्व’, निर्धारित समयमा महाधिवेशन नहुने निश्चित

मङ्गलबार, २६ चैत २०८१, १३ : १०
मङ्गलबार, २६ चैत २०८१

काठमाडौँ । नेपाली कांग्रेसका मुख्य तीन भ्रातृ संस्थामा अहिले ‘टीके नेतृत्व’ छ । विद्यार्थीहरूको नेतृत्व गर्ने नेपाल विद्यार्थी संघ (नेविसंघ), तरुण युवाहरूको नेतृत्व गर्ने नेपाल तरुण दल र महिलाहरूको नेतृत्व गर्ने नेपाल महिला संघमा पार्टीले ‘टीका’ लगाएर बनाएका अध्यक्ष छन् । 

कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम २०७८ चैत ९ गते नेविसंघ अध्यक्षमा दुजाङ शेर्पालाई र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई अध्यक्ष बनाएका थिए । त्यस्तै २०७९ साउन २६ गते उषा मिश्र राउतलाई महिला संघको अध्यक्ष बनाएका थिए । 

उनीहरूलाई चैत मसान्तसम्म महाधिवेशन गरिसक्न सहजीकरण गरिदिन कांग्रेसले गत असोज १६ गते निर्देशन समिति बनाएको छ । 

नेविसंघको महाधिवेशन सम्पन्न गर्न सहमहामन्त्री किशोरसिंह राठौरको संयोजकत्वमा केन्द्रीय सदस्यहरू राजीव ढुंगाना र प्रतिमा गौतमलाई निर्देशन समितिको सदस्य बनाइएको छ । तरुण दलको महाधिवेशन सम्पन्न गर्न सहमहामन्त्री महालक्ष्मी उपाधयाय ‘डिना’को नेतृत्वमा रहेको निर्देशन समितिमा केन्द्रीय सदस्यहरू सरिता प्रसाईं र जीतजंग बस्नेतलाई सदस्य बनाइएको छ । महिला संघमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको नेतृत्वमा केन्द्रीय सदस्यहरू पुष्पा भुसाल र रुक्मिणी कोइरालासहितको निर्देशन समिति बनाइएको छ । 

गत फागुन १ गते केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा निर्देशन समितिका संयोजक र सदस्यहरूले पार्टीले दिएको समयमा महाधिवेशन सम्पन्न गर्न गाह्रो रहेकाले केही समय बढाउन आवश्यक रहेको राय राखेका थिए । तर, कांग्रेसका पदाधिकारी र भ्रातृ संस्थाका निर्देशक समिति संयोजकबिच तयारीका विषयमा भएको छलफलमा पटक–पटक म्याद थप्दा पनि महाधिवेशन हुन नसकेको भन्दै चैत मसान्तभित्रै जसरी पनि गर्न निर्देशन दिइएको बैठकपछि पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले सञ्चारकर्मीहरूलाई जानकारी दिएका थिए । 

छलफलमा सभापति देउवाले म्याद थप नगर्ने र तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको महतको भनाइ थियो । 

तर, ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’लाई पार्टीले दिएको समय गुज्रिन पाँच दिनमात्रै बाँकी रहँदासम्म कुनै पनि भ्रातृ संस्थाका तदर्थ समितिले महाधिवेशन सम्पन्न गर्ने सम्भावना देखिन्न । 

तरुण दलको महाधिवेशन केन्द्रीय निर्देशन समितिकी संयोजक कांग्रेस सहमहामन्त्री उपाध्यायले पार्टीले दिएको समयमा महाधिवेशन सम्पन्न हुने सम्भावना नदेखिएको जानकारी दिइन् । ‘तरुण दलमा तल्लो तहसम्म ७४ जिल्लाले पूर्णकालीन सदस्यताको फाराम लगिसकेका छन् । केही जिल्ला संयोजकहरूले पूर्णकालीन सदस्यता बाँड्न सुरु नै नगरेको जानकारी आएको छ । कतिपय जिल्लाले भने राम्रो गरेका छन्,’ सहमहामन्त्री उपाध्यायले रातोपाटीसँग भनिन्, ‘महाधिवेशन गर्नेबारे कसरी अगाडि बढ्ने भन्ने विषयमा पार्टीसँग छलफल गर्छौं ।’

उनले चैत मसान्तसम्म वडा र पालिकासम्मको अधिवेशन सम्पन्न गर्नका लागि तरुण दलको केन्द्रीय समितिले काम गरिरहेको बताइन् । 

नेविसंघमा भने महाधिवेशनका लागि आवश्यक पर्ने सदस्यता वितरण र नवीकरणको काम पनि सुरु भएको छैन । अध्यक्ष शेर्पाले सदस्यता वितरण तथा जिल्ला अधिवेशन सम्पन्न गर्न एकलौटी रूपमा केन्द्रीय प्रतिनिधि तोकेको भन्दै इतर समूहका नेता डा. शेखर कोइरालाको समूहको नेतृत्व गर्ने केन्द्रीय सदस्य प्रेमिका राना मगरले समानान्तर केन्द्रीय प्रतिनिधि तोकेपछि महाधिवेशनका गतिविधि ठप्प छन् । राना मगरले गत पुस ५ गते समानान्तर केन्द्रीय प्रतिनिधि खटाएपछि नेविसंघका महाधिवेशनसम्बन्धी गतिविधि ठप्प छन् । 

नेविसंघको महाधिवेशन सम्पन्न गर्ने निर्देशन समितिकी सदस्य कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले तदर्थ समितिका अध्यक्ष शेर्पाका क्रियाकलापले महाधिवेशन तोकिएको समयमा हुन नसक्ने वातावरण निर्माण भएको बताइन् । केही स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन लम्बिँदा पनि समस्या भएको उनको भनाइ छ । 

‘पार्टीले दिएको समयमा नेविसंघको महाधिवेशन सम्पन्न हुने सम्भावना छैन । केही स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन लम्बिँदा समस्या भएको छ,’ निर्देशन समिति सदस्य गौतमले रातोपाटीसँग भनिन्, ‘अर्कोतर्फ महाधिवेशन सम्पन्न गर्नका लागि पार्टीले जिम्मेवारी दिएको नेविसंघको नेतृत्वको क्रियाकलाप निर्वाचन गराउनेतर्फ केन्द्रित देखिएको छैन । नेतृत्वले जिम्मेवारी दिएर काम अगाडि बढाउन पर्नेमा त्यो ढंगको गतिविधिमा कहीँ कतै क्रियाकलाप गरेको हामीले पाएका छैनौँ ।’ 

स्ववियु निर्वाचन अझै बाँकी रहेको र त्यो सम्पन्न भएपछि निर्देशन समितिको बैठक बसेर भएका काम लिस्टिङ गर्दै कसरी अगाडि बढ्ने भन्नेमा पार्टीसँग छलफल गर्ने उनले बताइन् । 

महिला संघमा पनि विवाद चर्किंदो छ । महिला संघका असन्तुष्ट २० केन्द्रीय सदस्यले सोमबारमात्रै पार्टी केन्द्रीय कार्यालयमा ४ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । आफूहरूका माग पूरा नभए सामूहिक राजीनामा दिने चेतावनी उनीहरूले दिएका छन् । 

अध्यक्ष राउतले विधानविपरीत ११ जिल्लाका अध्यक्षलाई हटाएपछि देखिएको विवाद छताछुल्ल हुँदा महिला संघको महाधिवेशन प्रक्रिया अगाडि बढ्न सकेको छैन । सदस्यता वितरणको कामसमेत नभएको नेताहरू बताउँछन् । 

मुख्यगरी अर्को पक्षलाई दबाउने महाधिवेशन गराउने निर्देशन समितिका संयोजक डा. महत र अध्यक्ष राउतको शैलीका कारण अहिले सबैभन्दा महिला संघमा चर्को विवाद देखिएको नेताहरू बताउँछन् । 

  • यसअघि पनि तदर्थवादमै चलेका थिए 

नेविसंघ, तरुण दल र महिला संघ अहिलेमात्रै होइन, यसअघि पनि तदर्थवादमै चलेका थिए । नेविसंघमा शेर्पाअघि महाधिवेशन सम्पन्न गर्न भन्दै राजीव ढुंगानालाई सभापति शेरबहादुर देउवाले ‘टीका’ लगाएर अध्यक्ष बनाएका थिए । उनले नसकेपछि हटाएर शेर्पालाई अध्यक्ष बनाइए पनि अवस्थामा सुधार आएको छैन । २०२७ वैशाख ६ गते स्थापित नेविसंघमा अहिलेसम्म भएका २० सभापतिमध्ये ९ सभापति ‘टीके’ हुन् । 

तरुण दलको अवस्था पनि नेविसंघको भन्दा फरक छैन । दलको महाधिवेशन २०७३ असोज २७, २८ र २९ गते पोखरामा भएको महाधिवेशनमा निर्वाचनमार्फत नेतृत्व चुन्न असफल भयो । त्यही महाधिवेशन स्थलबाट सर्वसम्मत रूपमा जीतजंग बस्नेत अध्यक्ष घोषित भए । त्योभन्दा अगाडि अध्यक्ष बनेका उदय शमशेर राणा मनोनीत अध्यक्ष हुन् । त्यसभन्दा अगाडिका बालकृष्ण खाण र महेन्द्र यादव भने निर्वाचनमार्फत अध्यक्ष चुनिएका थिए । 

महिला संघमा पनि धेरै समय तदर्थ समितिले नै चलाएका छन् । संघमा राउतभन्दा अगाडिकी अध्यक्ष उमा रेग्मी भने निर्वाचनमार्फत अध्यक्ष बनेकी थिइन् । उनीभन्दा अगाडिकी अध्यक्ष डा. डिला संग्रौला ‘पन्त’ मनोनीत अध्यक्ष हुन् । त्यो भन्दा अगाडि फुटेको कांग्रेस एक भएपछि अम्बिका बस्नेतलाई अध्यक्ष बनाइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप