आइतबार, २८ वैशाख २०८२
ताजा लोकप्रिय

८४ को निर्वाचनसम्म सरकार टसमस हुँदैन, राजतन्त्र फर्किँदैन – प्रधानमन्त्री ओली

मङ्गलबार, २६ चैत २०८१, १९ : १०
मङ्गलबार, २६ चैत २०८१

सिरहा । सिरहा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालको निर्वाचनसम्म सरकार टसमस नहुने दाबी गरेका छन् ।

सिरहामा आयोजित नेकपा एमालेको ११औँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशका ठूला र पुरानो पार्टी मिलेर सरकार चलाइरहेकाले यो सरकार चुनावसम्मै जाने दाबी गरे । भने, 'सरकार चुनावसम्मै जान्छ । आजै सरकार ढल्छ, भरे सरकार ढल्छ भन्नेहरू पनि थाकिसके । नेतृत्व फेरबदल हुनसक्छ । तर, सरकार चुनावसम्मै जान्छ ।'

उनले देशमा पुनः राजतन्त्र फर्काउने सपना पनि निरर्थक भएको प्रस्ट पारे । 

प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरूको वास्तविक अवस्था जनआन्दोलनको नाममा चैत १५ गते भएकोे विध्वंशकारी गतविधिले उदांगाे भएको पनि बताए । चैत १५ गतेको क्रियाकलापले पनि उनीहरूको वास्तिाविक चरित्र देखाएको ओलीको भनाइ थियो । 

उनले अब जनताले यस्ता खालका गतिविधिलाई स्वीकार गर्न नसक्ने बताए । भने, 'यस्ता खालका विध्वंशकारी तत्वलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिँदैन हामीले स्वीकार गर्नु पनि हुँदैन । त्यसको लागि सबै मिएर सही जवाफ दिनैपर्छ ।' 

राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताएका उनले थपे, 'अर्काको घरमा आगो लगाउने, औषधि उद्योगमा आगो झोस्ने, मिडियामा आक्रमण गर्ने तत्वको हातमा सत्ता पुग्यो भने के हुन्छ होला ?'

राजतन्त्र फर्किन्छ भन्नु दिउँसको सपना भएको उनको भनाइ थियो । भने, 'दिउँसो देखेको सपना कहिल्यै पूरा हँदैन । राजतन्त्र कुनै हालतमा फर्कँदैन ।'

ठुलो बलिदानीपछि प्राप्त यो व्यवस्था सबैभन्दा उत्कृष्ट भएको प्रधानमन्त्री ओलीले ठोकुवा गरे । भने, ‘यो दुनियाँकै उकृष्ट व्यवस्था हो । समाजिक न्याय, समानता, न्याय र सुशासनको पक्षमा हाम्रो ध्यान जानुपर्छ । यसको विकल्पको परिकल्पनासम्म गर्न सकिँदैन ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप