रञ्जिताले खोजिन् सीके बराबरको हैसियत

काठमाडौँ । डा. सीके राउत अध्यक्ष रहेको जनमत पार्टी र रेसम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको एकता अन्तिम चरणमा रहेको बेला नेतृत्वका लागि विवाद उत्पन्न भएको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले एकीकृत पार्टीमा सीके राउत बराबरको हैसियत माग गरेपछि विवाद उत्पन्न भएको हो ।
एकीकृत पार्टीको अध्यक्ष राउत रहने र सहअध्यक्ष श्रेष्ठलाई राख्ने सहमति भएको कुरा बाहिर आएपछि उनी सहमत देखिएकी छैनन् । पार्टीको पहिलो वरीयतामा संरक्षकको रूपमा रेसम चौधरी रहनेछन् भने दोस्रो वरीयतामा अध्यक्ष सीके राउत रहने छन् । सीके राउतको अध्यक्ष पद कार्यकारी हुनेछ । तेस्रो वरीयतामा रञ्जिता श्रेष्ठलाई राखिएको छ ।
तर रञ्जिता श्रेष्ठले आफू पार्टीको अध्यक्ष भएको र दुई पार्टी बिच एकता भएको कारण आफू पनि अध्यक्षमै रहने दाबी पार्टीमा गरेकी छिन् । यद्यपि उनलाई सम्झाउने प्रयास भइरहेको छ ।
पार्टी एकताको बारेमा टुंगो लगाउन जनमत पार्टीका अध्यक्ष राउत आफ्ना पार्टीका केही नेताहरूलाई साथमा लिएर टिकापुर कैलाली नै पुगेका थिए । त्यहाँ श्रेष्ठलाई पनि बोलाइएको थियो ।
रेसम चौधरीको कृषि फर्ममा प्रकृतिको आनन्द लिँदै राउत र चौधरी एकताको बारेमा गम्भीर छलफल गरेका थिए । सोही क्रममा अध्यक्ष श्रेष्ठले सो प्रस्ताव राखेको बताइएको छ ।
यस विषयमा अध्यक्ष श्रेष्ठसँग बुझ्न खोज्दा उनले पछि कुरा गरौँला भनेर फोन काटिन् । नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेशका इन्चार्ज डा. सरोज चौधरीले भने पार्टीमा त्यस्तो कुनै कुरा नआएको दाबी गरे । ‘एकताको बारेमा छलफल चल्दैछ, चाँडै नै टुंगो लाग्छ,’ उनले छोटो प्रतिक्रिया दिए ।
तर, वैशाख १५ गतेभित्र एकता घोषणाको तयारी चलिरहेको बेला रञ्जिता श्रेष्ठले नयाँ लफडा सिर्जना गरेको जनमत पार्टीका नेताहरू बताउँछन् । यद्यपि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेसम चौधरी यी कुराको व्यवस्थापन गर्ने भनेको उनीहरुको जिकिर छ ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले अहिले सबभन्दा बढी विश्वास गर्ने व्यक्ति हुन्, नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका एकतालाई प्रधानमन्त्री ओलीले नरुचाएको जनमत पार्टीका एक पदाधिकारीको आरोप छ । अध्यक्ष श्रेष्ठले बोली फेर्नुमा पनि प्रधानमन्त्री अोलीको हात हुनसक्ने उनीहरुले आशंका व्यक्त गरे ।
जनमत पार्टीका एक नेताले भने, ‘तर रेसम चौधरी र सीके राउतले माइन्ड मेकअप गरिसकेपछि अब एकतालाई कसैको रोक्न सक्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा विकास मार्गचित्र कार्यान्वयन, ह्विलिङ चार्ज निर्धारण गर्ने घोषणा
-
किट विश्वविद्यालय : नेपाली विद्यार्थीको मृत्युपछि फेसबुकलगायतका सामाजिक सञ्जाल चल्न छाड्यो
-
एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुल्यो
-
सरकारको नीति तथा कार्यक्रम : प्रधानमन्त्री कार्यालयलाई एक्सीलेन्सका रूपमा विकास गरिने
-
एनआरएनएको एकता महाधिवेशनका लागि परराष्ट्रमन्त्रीलाई निम्तापत्र हस्तान्तरण
-
महिमानसिंह विष्टलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति