शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जुडशीतल : तराई–मधेशको लोकपर्व

मङ्गलबार, ०२ वैशाख २०८२, १० : ५६
मङ्गलबार, ०२ वैशाख २०८२

मिथिला संस्कृतिमा वैशाख संक्रान्तिलाई नयाँ वर्षको उत्सवका रूपमा मनाइन्छ । नयाँ वर्ष सतुवाइन, सिरुवा र जुडशीतल नामले चिनिन्छ । जुडशीतल नेपालको तराई क्षेत्रमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीको लोकपर्व हो । 

यस अवसरमा मन्दिरहरूमा भक्तजनको भिड लाग्छ । हिन्दुधर्मावलम्बीले देवी–देवताको दर्शन गरी नयाँ वर्षको पवित्र कामना व्यक्त गर्छन् । ठाउँ–ठाउँमा मेला लाग्छ । सिरहाको सलहेस फूलबारी र सप्तरीको शम्भुनाथ बाबा मन्दिरको मेला प्रख्यात छ । शम्भुनाथ मेला प्रायः महिनौँ चलेको हुन्छ । यस पर्वमा आफन्तलाई जल सिञ्चन गरी आशीष दिने गरिन्छ ।

मिथिला परम्परामा विक्रम सम्वत् प्रारम्भको पहिलो दिन सतुवाइन (सातु खाने पर्व) र दोस्रो दिन सिरुवा र जुडशीतल मनाइन्छ । नुहाइधुवाई, नित्यपूजादि गरी सत्तु (सातु) र गुँड साँधेर नेवैद्य अर्पित गर्ने र परिवारका सदस्यले खाने चलन छ । सातु खाने पर्वलाई नै सतुवाइन पर्व भनिएको हो । 

सुगन्धित अरुवा चामलको भात पकाएर राखिन्छ । भोलिपल्ट त्यस बासी भातमा दही, गुँड, केरा, लड्डु तथा खानाका परिकारको नेवैद्य तयार गरी धूप, दीप, गन्ध, पुष्पादिसहित कुल–देवता, तुलसी मठ, ध्वजा तथा घरका चौखट, चोक, चुल्हो, ढेकी आदि प्रत्येक महत्त्वपूर्ण चिजबिजको पूजा गरिन्छ । यसैलाई सिरुवा पावैन भनिएको हो ।

वर्षभरि शीतलता प्रदान होस् भन्ने उद्देश्य साथ यो पर्व मनाइन्छ । बदलिँदो मौसममा मनाइने यो पर्व शारीरिक र सामाजिक रूपमा निकै फाइदा पुग्ने जनविश्वास छ । सुख, शान्ति एवं दीर्घायुको कामना गर्दै आशीर्वाद दिइन्छ । जुडशीतलको दिन रुख–बिरुवामा समेत पानी हाल्ने परम्परा कायम छ ।

मिथिला परम्परामा विक्रम सम्वत् प्रारम्भको पहिलो दिन सतुवाइन (सातु खाने पर्व) र दोस्रो दिन सिरुवा र जुडशीतल मनाइन्छ । नुहाइधुवाई, नित्यपूजादि गरी सत्तु (सातु) र गुँड साँधेर नेवैद्य अर्पित गर्ने र परिवारका सदस्यले खाने चलन छ । सातु खाने पर्वलाई नै सतुवाइन पर्व भनिएको हो ।

जुडशीतल पर्वलाई शीतलताको प्रतीक मानिन्छ । यस पर्वमा सिरुवाको दिन एकाबिहानै घरका प्रत्येक व्यक्तिले आफूमुनिका प्रत्येक सदस्यलाई जलले सिञ्चन गर्छन् । यसो गर्दा बायाँ हातमा लिएको कलशको जल दाहिने हातको अञ्जुलीमा लिई आफन्तको शिरमा सिञ्चित गर्दै आशीष दिने गरिन्छ । यसैलाई जुडशीतल भनिन्छ । कलशको जल अञ्जुलीमा शीतल जल घरको ज्येष्ठ व्यक्ति तथा मान्यजनले आफूभन्दा सानोको टाउकोमा छर्केर आशीर्वाद दिने परम्परा यस पर्वको आरम्भदेखि छ । उमेर र मर्यादाक्रम ठुलो रहेको व्यक्तिले सानाको शिरमा पानी सिञ्चित गर्दै वर्षभरि शीतलता प्रदान गर्छन् । ताकि मानिस स्वयं शान्त, संयमित, स्थिर र धैर्यवान् रहोस् । परिवारका प्रत्येक सदस्यको अर्का सदस्यप्रति आदर, कदर र सबैको निजी विषयप्रति सन्तुलित दृष्टि रहोस् । नित्य व्यायाम र प्राणायाम गरोस्, तनावदेखि दूर रहोस् । सबै कुरो समयमा हुने नै छ भन्ने धारणा लिएर मातापिता, गुरु श्रेष्ठजन तथा परमात्माप्रति विश्वास राखोस् ।

ग्रीष्मकालमा मानिसलाई मात्र बढी तिर्खा लाग्ने होइन, वनस्पतिलाई पनि पानीको अभावले पिरोल्छ । यो समय वर्षाको अभाव हुन्छ र अर्कोतिर कडा घामले माटोमा रहे/भएको पानीको अंशलाई समेत सुकाइदिन्छ । त्यसैले यस पर्वको माध्यमबाट वृक्ष–वृक्षमा पानी हाल्ने चलन बसेको छ ।

सिञ्चाइ भनेको कृषिको त्यो प्रक्रिया हो, जसद्वारा हामी समय–समयमा विभिन्न स्रोतबाट खेतमा उब्जाइएका बालीको पानीको आवश्यकता पूरा गर्छौं । ताकि बाली सुक्न नपाओस् र उत्पादन राम्रो र प्रशस्त होस् । 

वर्तमान जलवायु परिवर्तनको समयमा सिरुवाजनित पर्यावरणको सन्दर्भमा झन् महत्त्वपूर्ण भएर आएको देखिन्छ । 

(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दक्खल राख्छन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अजयकुमार झा
अजयकुमार झा
लेखकबाट थप