प्रहरीमा १० डीआईजी पद रिक्त, ३ टोलीबिच प्रतिस्पर्धा

काठमाडौँ । नेपाल प्रहरीमा जनपद समूहतर्फ १० जना डीआईजी पद रिक्त भएको छ । वैशाख ४ मा बढुवा समितिले ६ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेसँगै १० जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई डीआईजीमा बढुवा गर्न मिल्ने भएको हो । एआईजी बढुवा सिफारिस मन्त्रिपरिषद्बाट सदर भएपछि डीआईजी बढुवा सिफारिस गर्ने गरी तयारी भइरहेको गृह मन्त्रालयका अधिकृतहरू बताउँछन् ।
बढुवा हुन ३ वटा टोलीको बिचमा प्रतिस्पर्धा छ । २०५४ चैत १८ मा भर्ना भएका सुदर्शन कोइराला र दीपक रेग्मी डीआईजी बन्ने दौडमा छन् । तर, उनीहरूसँगै भर्ना भएका दान बहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारी चाहिँ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा सिफारिस भैसकेका छन् ।
राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर प्रहरीको जनपद समूहमा आएका १० जना डीआईजी हुने दौडमा छन् । राष्ट्रिय अनुसन्धान विभागबाट आएका ओम बहादुर राना, माधव प्रसाद श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, शारदा प्रसाद चौधरी, विनोद घिमिरे, जयराज सापकोटा, सञ्जीव शर्मा दास, सुरेन्द्र बहादुर गुरुङ, दिलीप सिंह देउवा र दीपक कुमार बस्नेत डीआईजीको प्रतिस्पर्धी हुन् ।
ओम बहादुर राना, दिलीप सिंह देउवा, सुरेन्द्र बहादुर गुरुङ र माधव प्रसाद श्रेष्ठ २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका थिए ।
दीपेन्द्र घर्ती क्षेत्री २०५५ जेठ ७ मा, दीपक कुमार बस्नेत, विनोद घिमिरे र जयराज सापकोटा २०५४ माघमा राअमा सेवा प्रवेश गरेका हुन् । अहिले उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत विनोद घिमिरे प्रहरीमा ‘विवादित’ अधिकृतको रूपमा चिनिन्छन् । कांग्रेस सभापति शेर बहादुर देउवाका स्वकीय सचिव भानु देउवा मार्फत उनले डीआईजी बढुवा हुन लबिङ गरिरहेका छन् ।
शक्तिकेन्द्रको आडामा बाराको कमाण्ड गरेका दिलीप सिंह देउवा प्रहरीमा आर्थिक रूपमा ‘विवादित’ अधिकृत हुन् । नेकपा (माओवादी केन्द्र) का नेताहरूसँग निकट सम्बन्धमा रहेका ओम राना पनि संगठनमा अलोकप्रिय अधिकृतको रूपमा चिनिन्छन् । गोरखाको इन्चार्ज हुँदा सुरेन्द्र गुरुङले जुवाखालबाट बरामद रकम आफैंले राखेको आरोप लागेको थियो । पछि छानबिन हुने भएसँगै राजस्व खातामा जम्मा गएको आरोप छ ।
डीआईजीको प्रतिस्पर्धामा रहेको अर्को टोली छ, ५०५६ असार ३ मा भर्ना भएका १५ जना अधिकृत । प्रथम सूचीमा वरिष्ठ उपरीक्षक भएका विश्व अधिकारी, भूपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल, अवि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासीनी, दीप शमशेर जबरा, गोपाल चन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्ण बहादुर पल्ली मगर, तारादेवी थापा र प्रज्वल महर्जन प्रतिस्पर्धामा छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड गरेका भूपेन्द्र खत्री र सोमेन्द्र सिंह राठौर संगठनमा काविल अफिसर भनेर चिनिन्छन् । विश्व अधिकारी अहिले काठमाडौँ प्रहरी प्रमुख छन् । प्रहरी उपरीक्षक हुँदा चितवन सरुवामा ‘विवाद’ भए पनि गंगा पन्तले त्यसपछि पर्साको कमाण्ड गरेकी थिइन् ।
ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा बल प्रयोग गरेको आरोपमा सिद्धिविक्रम शाहलाई हटाएर शेखर खनाललाई ललितपुरमा पठाइएको थियो । २०८० पुसमा भएको प्रदर्शनमा प्रहरीको बल प्रयोगबाट अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतले ज्यान गुमाएका थिए । खनाल अहिले उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ
-
गल्ती भएका कुरामा सुध्रिन तयार छौँ : उपसभापति खड्का
-
बर्दिबासका ९२ परिवारलाई लालपुर्जा वितरण
-
भाजपाका विदेश विभागका प्रमुख चौथाइवालेको राजनीतिक भेटघाट तीव्र
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
श्रमिक दिवसबारे नै बेखवर छन् श्रमिक