महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने
पर्वत । पर्वतको महाशिला गाउँपालिकाले पालिकाभित्रका सबै जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ । आइतबार सम्पन्न कार्यपालिका बैठकले सरकारी कर्मचारी एवं जनप्रतिनिधिले अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको हो ।
जनताको मत लिएर निर्वाचन जितेका जनप्रतिनिधि, कर्मचारी र स्वयं शिक्षकले नै निजी विद्यालयमा बालबालिका पढाउँदा सामुदायिक विद्यालयको गुणस्तर सुधार हुन नसक्ने भएकाले यस्तो निर्णय गरिएको महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरीप्रसाद भुसालले बताए ।
गाउँपालिकाले पालिकाभित्रका सबै कर्मचारी, जनप्रतिनिधि र शिक्षकका बालबालिकाको तथ्याङ्कसमेत सङ्कलन गरिसकेको छ । सोही तथ्याङ्कको आधारमा यस्तो निर्णय गरिएको हो । यदि सामुदायिक विद्यालयमा पढाउँदिन, निजी विद्यालयमै पढाउँछु भन्ने जनप्रतिनिधि, कर्मचारी र शिक्षकका लागि पालिकाले नयाँ सुविधासमेत दिएको छ । जनप्रतिनिधिलाई राजीनामा दिएर बस्न र कर्मचारी वा शिक्षकलाई सरूवा भएर अन्यत्र जाने सुविधा दिएको अध्यक्ष भुसालले बताए ।
‘म निजी विद्यालयमै पढाउँछु, कुनै पनि अवस्थामा सामुदायिक विद्यालयमा पढाउँदिन भन्ने जनप्रतिनिधिले राजीनामा दिए हुन्छ’, उनले भने, ‘शिक्षक र कर्मचारी सरूवा भए हुन्छ ।’ यसो गर्दा जनप्रतिनिधिले बुझ्ने तलब सुविधा राज्यलाई फाइदा हुने र शिक्षक कर्मचारी सरूवा भएमा अर्कोले अवसर पाउने भएकाले निर्णय कार्यान्वयन गर्न सहज हुने उनको भनाइ छ ।
पछिल्लो समय नेपाल शिक्षक महासङ्घले पनि शिक्षक, कर्मचारी र राज्यको वेतनवाला सबैले सामुदायिक विद्यालयमै बालबच्चा पढाउनुपर्ने माग राखेको अवस्थामा महाशिलाको कार्यपालिकाले गरेको निर्णय कार्यान्वयमा थप सहजता हुने अध्यक्ष भुसालले बताए ।
पर्वतको महाशिला गाउँपालिका निजी विद्यालय नै नभएको पालिकासमेत हो । यहाँका सामुदायिक विद्यालयको गुणस्तर सुधार हुँदै गएपछि गाउँपालिकामा रहेका निजी विद्यालय विस्थापित भएका हुन् । यहाँका कर्मचारी, शिक्षक र जनप्रतिनिधिले कुश्मा, पोखरा, स्याङ्जालगायत बजारमा लगेर बालबालिका पढाइरहेका छन् ।
निजी विद्यालय नहुने जिल्लाका सात गाउँपालिकामध्ये एकमात्र महाशिला हो । अन्य ६ वटा पालिकामा निजी विद्यालय सञ्चालनमा रहेका छन् । गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएसँगै सामुदायिक विद्यालयको गुणस्तरमा सुधार आएपछि गाउँपालिकाका विभिन्न वडामा सञ्चालित निजी विद्यालय बन्द भएका हुन् ।
वर्ष देखिनै सामुदायिक विद्यालयमा पढाउने अभियान सञ्चालन गर्ने तयारी भए पनि तथ्याङ्क सङ्कलन नभएकाले यस वर्षदेखि लागू गरिएको हो । अहिले विद्यालय भर्ना हुने समय रहेकाले यही बेला कार्यपालिकाले निर्णय गरेको र तत्काल कार्यान्वयनमा समेत जाने अध्यक्ष भुसालको भनाइ छ । पालिकाभरिमा एक सयभन्दा बढी बालबालिका शिक्षक, कर्मचारी र जनप्रतिनिधिका बालबच्चा रहेका छन् । उनीहरू अहिले निजी विद्यालयमा पढिरहेको तथ्याङ्क पालिकासँग छ ।
हुनेखानेका बालबालिका गुणस्तरीय शिक्षाको नाममा बजार जाने र गाउँमा रहेका विपन्न तथा मध्यम परिवारका बालबालिकासमेत लामो समय विद्यालयमा नटिक्ने समस्या भएपछि गाउँपालिकाले सामुदायिक विद्यालयबाटनै निजी विद्यालय सरहको शिक्षा दिन थालेको छ ।
महाशिलाका सबै सामुदायिक विद्यालयमा कक्षा नर्सरीदेखि १० सम्मनै अङ्ग्रेजी माध्यममा पढाइ सञ्चालन भइरहेको छ । ‘बोर्डिङ स्कुलले दिने शिक्षा सामुदायिकबाट नै दिनसकेका छौँ’, भुुसालले भने, ‘सहरबजारमा पढाएकाले पनि आफ्ना बालबालिकालाई अब गाउँमै बोलाउनुपर्छ । अन्यथा पालिकाको सेवा सुविधावाट बञ्चित गरिने उहाँको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण