शुक्रबार, ०२ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
धनगढी विमानस्थल जग्गा प्रकरण

धनगढी विमानस्थल जग्गा प्रकरणः प्रेम आलेविरुद्ध लेखा समितिमा पनि उजुरी

'बैंकलाई समेत गुमराहमा राखेर राज्यको ढुकुटी दुरुपयोग गरेको आरोप'
सोमबार, ०८ वैशाख २०८२, २० : ३८
सोमबार, ०८ वैशाख २०८२

काठमाडौँ । धनगढी क्षेत्रीय विमानस्थल विस्तारका लागि जग्गा खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध संसद्को सार्वजनिक लेखा समितिमा पनि उजुरी परेको छ । 

आलेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०८१ चैत ११ गते उजुरी परेसँगै छानबिन सुरु गरेको थियो । अख्तियारले छानबिन सुरु गरेसँगै पूर्वमन्त्री आलेविरुद्ध लेखा समितिमा पनि उजुरी परेको हो । 
समितिमा परेको उजुरीमा आलेले बैंकलाई समेत गुमराहमा राखेर राज्यको ढुकुटीबाट बजेट दुरुपयोग गरी व्यक्तिगत कम्पनी (अशोक जोशी र हेमन्त रेग्मीको नाममा) खडा गर्दै जग्गा खरिद गरेको उल्लेख गरिएको छ ।

त्यस्तै आलेले तत्कालीन मेगा बैंकका कर्मचारी अमित श्रेष्ठ, बिटुमिन ठेकेदार तथा बिचौलिया पवन गुप्ता र आफ्ना पीए (स्वकीय सचिव) हेमन्त रेग्मी र निजको फुपुको छोरा घोडाघोडी नगरपालिकाका इन्जिनियर अशोक जोशी समेतलाई मिलाएर विमानस्थल आसपासमा हेमन्त रेग्मीको सेटिङमा पवन गुप्ता र तेन्जिङ शेर्पा समेतबाट जग्गा खरिद गरेको आरोप छ ।

पूर्वमन्त्री आलले विमानस्थल विस्तार गर्न आवश्यक क्षेत्रमा जग्गा खरिद गरेर धनगढी विमानस्थल क्षेत्रको विस्तार गर्ने भन्दै पर्यटनमन्त्री भएको वेलामा बजेट विनियोजन गरेको उजुरीमा उल्लेख छ । उजुरीमा पूर्वमन्त्री आलेले बजेट छुट्याएसँगै सो क्षेत्रमा जग्गा किनेको चर्चा चलेको लेखिएको छ । 

लेखा समितिमा परेको उजुरीमा पूर्वमन्त्री आलेले गैरकानुनी तरिकाले बैंकका कर्मचारीसँग सेटिङ मिलाएर रकम हत्याएको समेत उजुरीमा उल्लेख छ । आलेले मन्त्री हुँदा सुरुमा नै प्राधिकरण नेतृत्व र प्राविधिक कर्मचारीलाई धम्काइ धनगढी विमानस्थल आसपासमा जग्गा किन्ने तयारी थालेका थिए। 

अशोक र हेमन्तको नाममा कम्पनी खडा

पूर्वमन्त्री आलले विमानस्थल क्षेत्रमा जग्गा खरिदका लागि दुई जनाको नाममा कम्पनी खडा गरेको समेत पाइएको छ । उनले विमानस्थल विस्तार गर्ने योजना बनाएर विस्तार गर्नु अघि योजनाअनुरुप स्वकिय सचिव अशोक र फुपुको छोरा हेमन्तको नाममा कम्पनी खडा गरेका थिए । उनले कम्पनी खडा गरी जग्गा खरिदको लागि मन्त्री भएको वेला मन्त्रालय मातहत रहेको तत्कालीन समयमा मन्त्री हुँदा आलेले धनगढी विमानस्थल विस्तारको योजना ल्याएर २०७८ पुस ११ गते उनको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण संचालक समितिको बैठकले धनगढी विमानस्थलको विस्तार गर्न भन्दै एक अर्ब बजेट विनियोजन गर्ने निर्णय गरेको थियो । 

आले मन्त्री भएकै वेला २०७८/७९ को प्राधिकरणको कर्पोरेट योजना तथा अनुगमन विभागबाट धनगढी विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणका लागि भन्दै १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेका थिए । 

aaale

उक्त निर्णयपश्चात् आलेले नेपाल नागरिक उड्डयन प्राधिकरणको मुद्दती खातामा रहेको १ अर्ब रुपैयाँ मेगा बैंकमा जम्मा गर्न लगाएका थिए। आलेले मेगा बैंकका कर्मचारी अमित श्रेष्ठ, बिटुमिन ठेकेदार तथा बिचौलिया पवन गुप्ता र आफ्ना पीए (स्वकिय सचिव) हेमन्त रेग्मी र निजको फुपुको छोरा घोडाघोडी नगरपालिकाका इन्जिनियर अशोक जोशी समेतलाई मिलाएर विमानस्थल आसपासमा हेमन्त रेग्मीको सेटिङमा जग्गा खरिद गरेको खुल्नमा आएको छ । 

उक्त कम्पनी खडा गर्ने र सेटिङमा जग्गा खरिदका लागि आले,गुप्ता र शेर्पा समेत लगानी गरेका थिए । निज आलेले मन्त्री हुँदा सुरुमा नै प्राधिकरण नेतृत्व र प्राविधिक कर्मचारीहरुलाई धम्काई धनगढी विमानस्थल आसपासमा जग्गा खरिदलाई लागि दबाब दिएको उजुरीमा उल्लेख गरिएको छ । 

aaale 2

उनले बैंकमा सेटिङ गरेर बैंकबाट जग्गा धितो राख्दै १ अर्ब ऋण लिएको बताइएको छ । त्यसपछि सोही रकमले उनले धनगढी विमानस्थल आसपासमा ७५ करोड बराबरको ३० बिगाह जग्गा किनेका थिए । उनले उक्त समयमा प्रति कट्टा साढे १२ लाखका दरले जग्गा किनेकोलाई पछि विमानस्थल बन्दा ५० लाख प्रति कट्टाका दरले बेच्ने योजना राखेका थिए। तर विमानस्थल निर्माण कार्य अहिलेसम्म अलपत्र अवस्थामा छ । जग्गा अधिग्रहण समेत हुन सकेको छैन । 

त्यसवेला धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्न २५८ बिगाह जमिन अधिग्रहण गरेर १८ सय मिटरको धावनमार्गलाई बढाएर २ हजार ५ सय मिटरको बनाउने निर्णयसमेत भएको देखिएको उजुरीमा उल्लेख छ । 

अन्य व्यापारिक संरचना निर्माण गर्न सकिने पनि उनीहरूको योजना रहेको थियो। तथापि आले पर्यटनमन्त्रीबाट हटेपछि विमानस्थल विस्तारको योजना अलपत्र परेसँगै उनीहरूको योजना पनि अलपत्र परेको थियो ।
पूर्वपर्यटनमन्त्री आले समूहले मन्त्री हुँदै बैंकबाट लिएको १ अर्बमध्ये २५ करोड रकमसमेत अपचलन गरेको उजुरीमा उल्लेख गरिएको छ ।

aaale 3

उक्त वेला धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्न २५८ बिघा जमिन अधिग्रहण गरेर १८ सय मिटरको धावनमार्गलाई बढाएर २ हजार ५ सय मिटरको बनाउने निर्णयसमेत भएको थियो । विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्न जमिन अधिग्रहणका लागि स्रोत सुनिश्चित नै नगरी उक्त समयमा बजेट विनियोजन गरेको पाइएको थियो । 

उनले मन्त्री रहेकै समयमा आफ्नै सम्बन्धित प्राधिकरणबाट स्थलगत निरीक्षण तथा चेकजाँचसमेत गराई उक्त विमानस्थलको गुरुयोजनासमेत स्वीकृत गराएका थिए । 

aaale4

आलेले पदीय मर्यादासमेतको ख्याल नगरी व्यक्तिगत फाइदाका लागि दबाब दिई प्राधिकरणबाट एक अर्ब बजेट छुट्याई विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणको नाममा भएको अनियमितता र करोडौँ रकम अपचलन सम्बन्धमा प्राप्त उक्त समूहबाट खरिद भएको जग्गाको विवरण (गुगल नक्सा), विमानस्थलको गुरुयोजना तथा निज मन्त्री हुँदाको समयको स्वीकृत बजेट तथा कार्यक्रमलगायत कागजातसमेत संलग्न गरी पदीय मर्यादा र जिम्मेवारीविपरीत व्यक्तिगत हित, फाइदाका लागि धनगढी विमानस्थल विस्तारको नाममा भए गरेका करोडौँ रकम बराबरको अनियमित कार्यको छानबिन गरी हदैसम्मको कारबाहीको मागसमेत उजुरीमा गरिएको छ । 

यो पनि 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप