बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय
राजावादी प्रदर्शन

तीनकुने घटना : एसपी र अपरेसन कमान्डरबिच ‘समन्वय अभाव’

सोमबार, ०८ वैशाख २०८२, २१ : ४१
सोमबार, ०८ वैशाख २०८२

काठमाडौँ । काठमाडौँको तीनकुनेमा पर्वराजा ज्ञानेन्द्र शाहका समर्थहरूले गरेको प्रदर्शनमा भएको ‘कमजोरी’ बारे प्रहरीले आन्तरिक छानबिन सुरु गरेको छ । छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनाललाई संयोजक तोकिएको छ । समितिमा खनालसहित ७ जना सदस्य छन् । 

दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’ले चैत १५ मा प्रदर्शन आयोजना थिए । प्रदर्शनमा हिंसात्मक गतिविधि भएपछि दुई जनाले ज्यान गुमाए । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो । बल प्रयोगलाई लिएर विभिन्न कोणबाट कुरा उठिरहेको छ । अधिकांश सरोकारवालाहरू तीनकुनेमा सुरक्षा ‘कमजोरी’ भएको बताउँछन् । 

एकै दिन समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले प्रदर्शनी मार्गमा र पूर्वराज समर्थकले तीनकुनेमा प्रदर्शन गरे । तीनकुनेको सुरक्षा जिम्मेवारी एसपी अपिल बोहरा र प्रदर्शनी मार्गको जिम्मेवारी एसपी कुलदिप चन्दले पाएका थिए । तर, प्रदर्शनकारीले त्रिभुवन विमानस्थलको कम्पाउन्ड भित्र पसेर आगजनी सुरु गरेपछि आइजिपी दीपक थापाले कुलदिप चन्दलाई त्यसतर्फ पठाएका थिए । सिनामंगलस्थित हवाई इन्धनको डिपो र नागरिक उड्डयन प्राधिकरणमा आगजनी हुनबाट रोक्नका लागि उनलाई त्यसतर्फ पठाइएको प्रहरी प्रधान कार्यालयका अधिकृतहरू बताउँछन् । 

तीनकुनेमा खटिएका एसपी अपिल बोहरा र अपरेसन कमान्डर सुन्दर तिवारीबिच ‘समन्वय अभाव’ भएको आन्तरिक छानबिन निष्कर्ष छ । डीएसपी तिवारी काठमाडौँ जिल्लाको दैनिक अपरेसन सञ्चालन गर्ने कमान्डर हुन् । काठमाडौँमा शान्ति सुरक्षा कायम गर्न जिल्लामा कार्यरत युनिट इन्चार्जहरूलाई परिचालन गर्ने जिम्मेवारी उनको हुन्छ । 

एसपी अपिल बोहराचाहिँ जिल्ला प्रहरी परिसर काठमाडौँका ‘सेकेन्ड म्यान’ हुन् । काठमाडौँ प्रहरी प्रमुख विश्व अधिकारी हुन् । पूर्वराजा समर्थकहरूको प्रदर्शनस्थलमा सुरक्षा कायम गर्ने जिम्मा पाएका बोहरा र अपरेसन कमान्डर तिवारीको बिचमा ‘समन्वय’ नदेखिएको छानबिन समितिका एक जना सदस्यले रातोपाटीलाई बताए । ती सदस्य भन्छन्, ‘उहाहरुको बिचमा फिल्ड कमान्डर को भन्नेमा विवाद देखिन्छ ।’

समन्वय अभाव हुँदा सुरक्षाकर्मीले मञ्चमा अश्रुग्याँस प्रहार गरे । अश्रुग्याँस प्रहार गरेर राजतन्त्र पक्षधरहरुको कार्यक्रम प्रहरीले नै बिथोलिदिएपछि प्रदर्शनकारीहरू तोडफोडमा उत्रिएका हुन् । 

दुर्गा प्रसाई ‘बागमती प्रदेश ०२७ च ३८४७’ नम्बरको गाडी हुइँक्याउँदै तीनकुनेबाट बानेश्वरतर्फ लाग्दा सुरक्षाकर्मीले रोक्न सकेनन् । बागमती पुलमा ३ तहमा सुरक्षाकर्मीहरूले लगाएको ह्युमन सिल प्रसाईंले तोडेकोबारे आलोचना भइरहेको छ । त्यसबारे प्रहरीले आन्तरिक छानबिन गरिरहेको छ । 

हिंसात्मक प्रदर्शनको कारण निजी र सार्वजनिक सम्पत्ति तोडफोड हुँदा ४६ करोड ९५ लाख क्षति पुगेको प्रारम्भिक आकलन छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप