राजनीतिक व्यापारीको ‘चक्का’मा पिसिएको मुलुक

राजनीतिक व्यापारी ‘पोलिटिकल इन्टरप्रेनर’लाई कतिपय सन्दर्भमा ‘राजनीतिक उद्यमी’ पनि भनिन्छ, तर राजनीतिक व्यापारी र राजनीतिक उद्यमी बिचमा केही आधारभूत भिन्नता हुन्छ । तसर्थ राजनीतिमा ‘राजनीतिक व्यापारी’ शब्दावली नकारात्मक अर्थमा र ‘राजनीतिक उद्यमी’लाई सकारात्मक अर्थमा प्रयोग गरिन्छ । उनीहरूबिचको फरकलाई उद्देश्य, कार्यशैली र समाजमा पार्ने प्रभावका आधारमा छुट्ट्याउने गरिन्छ ।
- राजनीतिक व्यापारी
राजनीतिक व्यापारीको अवधारणा सन् १९६० को दशकमा पश्चिमी अर्थशास्त्रीय सिद्धान्तबाट आएको हो । जसलाई ‘पब्लिक च्वाइस थ्यौरी’का संस्थापक जेम्स बुचानन र गोर्डन टुलकले लोकप्रिय बनाए । उनीहरूका अनुसार राजनीति पनि बजारजस्तै हो । जहाँ व्यापारी आफ्ना स्वार्थ पूरा गर्न खेल खेल्छन् । अर्थात् लोककल्याणको नाममा आफ्नो लाभ खोज्छन् । कुनै व्यक्ति वा समूहले राजनीतिक प्रणाली वा प्रक्रियाबाट आफ्नो वा समूहको लाभको अवसर खोज्छ र त्यसलाई उपयोग गर्छ भने त्यो राजनीतिक व्यापारी हो ।
राजनीतिक व्यापारी नाफा वा व्यक्तिगत लाभका लागि राजनीतिमा प्रवेश गर्छन् । लाभको राजनीतिमा संलग्न हुन्छन्; पद, प्रभाव र पहुँच बेच्छन् । उनीहरू चलाखी, सौदाबाजी र पहुँचको उपयोग गरेर आफ्नो हित आपूर्ति गर्न खप्पिस हुन्छन् । चुनाव, ठेक्का, छुट तथा नियुक्तिका माध्यमबाट फाइदा लिन्छन् । परिणामस्वरूप मुलुक भ्रष्टाचार, नीतिगत पक्षपात, गरिबी, बेरोजगारी तथा अविकासको चंगुलमा फस्छ ।
- राजनीतिक व्यापारीका विशेषता
राजनीतिक व्यापारीसँग देहाय बमोजिमका विशेषता रहेका हुन्छन् । जुन उनीहरूको पहिचानका मुख्य आधार हुन् । यिनै विशेषताका आधारमा सर्वसाधारणले उनीहरू राजनीतिक व्यापारीहरू हुन्, उनीहरूको राजनीति देश र जनताका लागि होइन, आफ्नो र समूहको फाइदाका लागि मात्र राजनीति गरेका हुन् भनी ठम्याउनुपर्छ ।
१) सत्ता कब्जा गरी जनतामाथि प्रभुत्व जमाउने : साम, दाम, दण्ड, भेद वा डेमागग तथा प्रियतावादी शैलीले होस् जनताको भावना, जाति, भाषा, क्षेत्र, धर्म, वर्गजस्ता भावनालाई प्रयोग गरेर सत्ता प्राप्त गर्ने सोच राजनीतिक व्यापारीले लिएका हुन्छन् । सत्ताको दुरुपयोग गर्दै राज्यसत्ता कब्जा गर्ने, देशको आवश्यकता र जनचाहनालाई खोक्रो आश्वासन बाँड्दै आफ्ना व्यापारिक उद्देश्य पूरा गर्ने समेत उनीहरूको विशेषता रहन्छ ।
२) नीतिगत प्रभाव : सत्ता प्राप्तिपश्चात् आफ्नो वा समूहको फाइदाका लागि नीति निर्माण गर्ने तथा ऐन–कानुन बनाउने गरी उनीहरू अगाडि बढेका हुन्छन् ।
३) दलीय अनुशासनलाई तिलाञ्जली दिने : दलीय आडमा कोरा र सुन्दर नाराको कालोबजारीकरण गर्दै चुनाव जित्ने अनि निजी लाभप्रति बफादार रहने उनीहरूको उद्देश्य हुन्छ । फरक विचार राख्नेलाई दलीय अनुशासनको नाममा कारबाही गर्ने र आफ्नो नेतृत्वको देवत्वकरण गर्दै लैजान उनीहरू उद्यत् रहन्छन् ।
४) क्रोनी क्यापिटालिजम्को पक्षधर : राजनीतिक नेतृत्व, व्यापारी र अड्डातन्त्रको मिलेमतोमा सञ्चालन हुने शासन प्रणाली नै क्रोनी क्यापिटालिजम् हो । यस्तो शासन प्रणालीमा यिनै वर्गहरूले फाइदा लिन्छन् । जसले विशेष गरी व्यापारी र पुँजीपति वर्गको हित संरक्षण गर्छ ।
५) स्रोतमा पहुँच र दोहन : जनझुक्यानको माध्यमबाट निर्वाचित भई राज्यसत्ता कब्जा गर्ने, राज्यशक्तिको प्रयोगद्वारा सार्वजनिक स्रोतहरू निजी लाभका लागि प्रयोग गर्ने, ठेकदारीमा संलग्न हुने, कमिसन र घुसका माध्यमबाट धनार्जन गर्ने उनीहरूको ध्येय रहन्छ ।
राजनीति पनि बजारजस्तै हो । जहाँ व्यापारी आफ्ना स्वार्थ पूरा गर्न खेल खेल्छन् । अर्थात् लोककल्याणको नाममा आफ्नो लाभ खोज्छन् । कुनै व्यक्ति वा समूहले राजनीतिक प्रणाली वा प्रक्रियाबाट आफ्नो वा समूहको लाभको अवसर खोज्छ र त्यसलाई उपयोग गर्छ भने त्यो राजनीतिक व्यापारी हो ।
६) सेटिङ राज्य : दण्डाधिकारीसँग सम्बन्धित सबै निकायहरूमा आफ्ना समूहका मानिसहरूलाई नियुक्ति गर्न, आफ्ना समूहका आरोपित व्यक्तिलाई उन्मुक्ति दिन, विरोधीमाथि कथित कारबाहीको डण्डा चलाउन उनीहरूले मिलेमतो गरेका हुन्छन् ।
७) प्रशासन संयन्त्रलाई कमजोर बनाउने: प्रशासन राज्यको स्थायी संयन्त्र हो । प्रशासन निष्पक्ष र शक्तिशाली हुने हो भने धेरै बेथितिलाई नियन्त्रण गर्न सकिन्छ । तसर्थ राजनीति व्यापारी आफूले गरेको अपराधबाट उन्मुक्ति पाउनका लागि प्रशासन संयन्त्रलाई विभिन्न तरिकाले कमजोर र दलीय पक्षधर बनाइराख्छन् ।
- राजनीतिक व्यापारीको जन्म
सत्तामा पुगेपछि राजनीतिज्ञमा विलासी जीवनशैली बढेको देखिन्छ । व्यापारीसँग पारस्परिक स्वार्थका साइना गाँस्न पुग्छन् । पुनः सत्तामा पुग्नका लागि साधन–स्रोतको जोहो गर्नुपर्ने हुन्छ । खर्चिलो निर्वाचन प्रणालीका कारण राजनीतिज्ञलाई व्यापारी बन्नेतर्फ डोर्याउँछ । परिणामस्वरूप उनीहरू ठेक्कापट्टा, ठुला कम्पनी वा परियोजनाका छद्म भेषमा मालिक वा सेयरकर्ता बन्न पुग्छन् ।
सुनियोजित रूपमै व्यापारी राजनीतिमा प्रवेश गरेर राज्यसत्ताको दुरुपयोग गर्दै सार्वजनिक नीति–निर्माणमा प्रभाव जमाउन पुग्छन् । आफ्नो वा समूहको व्यापारिक संस्थालाई फाइदा पुग्ने ऐन–कानुन बनाउँछन् । यसका अलावा व्यापारी र राजनीतिज्ञका बिचमा अवैध साँठगाँठ गराउने, पारस्पारिक लाभ पुर्याउन सहयोग गर्ने, बिचौलिया वा दलाल समूह पनि संलग्न रहेको पाइन्छ । उनीहरू प्रत्यक्ष राजनीतिमा हुँदैनन् तर नेताहरूसँग पहुँच राख्छन् । नीतिगत निर्णय र राजनीतिक नियुक्तिमा प्रभाव जमाउँछन् ।
राजनीतिमा हुने व्यापारीकरण आफैँमा एउटा जघन्य अपराध हो । यसबाट बच्नका लागि स्वतन्त्र र निष्पक्ष न्यायपालिका, सार्वजनिक लेखापरीक्षण, नीतिमा पारदर्शिता र नागरिक सहभागिताको सुनिश्चितता, दण्डहीनताको अन्त्य, नागरिक सचेतना, अन्वेषणात्मक पत्रकारिता, सशक्त र निष्पक्ष नागरिक समाज आदि आवश्यक हुन्छ ।
- राजनीतिक उद्यमी
मुलुकको राजनीतिक प्रक्रिया र प्रणालीलाई प्रभाव पार्ने गरी नयाँ ढंगले नयाँ विचार, दृष्टिकोण, योजना तथा अभियान ल्याउँछ त्यस्तो व्यक्ति वा समूह नै राजनीतिक उद्यमी हो । जसले देश र जनताको हितलाई केन्द्रमा राखेर आफ्नो प्रभाव, शक्ति वा समर्थन बढाउने प्रयास गर्छ । सामाजिक समस्याको पहिचान गर्ने, समाधानको उपाय खोज्ने, सामाजिक परिवर्तन, नीतिगत सुधार र नयाँ राजनीतिक विचारको वाहक हुन्छन् । जनस्तरको सम्बन्धलाई घनिष्ठ बनाउने, समस्याको दीर्घकालीन र दिगो समाधान खोज्ने, नवप्रवर्तन भित्र्याउनुको साथै नयाँ प्रणाली निर्माण गर्ने प्रवृत्तिका हुन्छन् । सार्वजनिक हितलाई महत्त्व दिन्छन् । गुणस्तर सुधारमा निरन्तर लागि पर्छन् ।
- राजनीतिक उद्यमीका विशेषता
१) राजनीतिक गन्तव्यको निर्धारण : राजनीतिक उद्यमीसँग अब मुलुकलाई कसरी कता लैजाने र कहाँ पुर्याउने भन्ने स्पष्ट मार्गचित्र वा खाका हुन्छ । आधुनिक वैश्विक प्रणाली अनुरूपको अर्थराजनीति, परराष्ट्र र प्रशासनिक दृष्टिकोणलाई प्रमुख आधार बनाएका हुन्छन्
२) सिर्जनात्मक तथा रणनीतिक सोच : उनीहरूसँग सामाजिक समस्याहरूको पहिचान गर्ने, समाधानका उपायहरू सुझाउने तथा सार्वजनिक नीतिलाई परिमार्जन गर्ने सिर्जनात्मक र रणनीतिक सोच हुन्छ ।
३) नवप्रवर्तन : नवप्रवर्तन निरन्तर सुधारको रक्तधार हो । राजनीतिक उद्यमीले नयाँ विचार, अभियान तथा रणनीति प्रयोग गर्ने हुँदा उनीहरू नवप्रवर्तनमैत्री हुन्छन् । आफ्नो विचार र दृष्टिकोणको प्रवाहमार्फत नयाँ वैकल्पिक शक्तिको निर्माण गर्छन् ।
४) जोखिम लिन सक्ने : उनीहरू परम्परागत राजनीतिक प्रणालीको परिवर्तन गर्ने र परिवर्तित राजनीतिक प्रणालीको व्यवस्थापन गर्ने जोखिम लिन सक्षम हुन्छन् ।
५) सञ्जाल निर्माण : आफ्ना एजेन्डालाई जनसमक्ष पुर्याउनका लागि नयाँ राजनीतिक संगठन वा सञ्जाल निर्माण गर्छन् ।
६) वैचारिक लाभको पक्षपाती : राजनीतिक उद्यमीहरू सार्वजनिक बहस र पैरवीमार्फत आफ्नो नयाँ विचार, दृष्टिकोण र गन्तव्य स्थापित गर्न क्रियाशील रहन्छन् । आर्थिक लाभबाट सञ्चालित हुँदैनन् ।
राजनीतिक व्यापारीले मुलुक र राजनीतिक उद्यमीहरूलाई एउटै जाँतोमा हालेर यसरी पिसिरहेका हुन्छन् ।
१) परम्परागत स्कुलिङको बन्दी बनाएर : अधिकांश पुराना दलहरूमा सामान्तवादी सोच र संस्कार भएका ज्येष्ठ नागरिकले नेतृत्व गरिरहेका छन् । परिणामस्वरूप मुलुक जेरोन्टोक्रेसीबाट गुज्रिरहेको छ । उनीहरू परम्परागत शैलीमा सञ्चालित हुने, गुटबन्दी गर्ने, आफूलाई देवत्वकरण गर्ने शैली र विगतदेखि समर्थन गरेको दललाई सास रहुन्जेल छोड्न नहुने स्कुलिङ गर्दै आएका हुन्छन् । नयाँ विचार राख्ने युवा–पुस्ताहरूलाई दलको नेतृत्व र निर्वाचनमा स्थान नदिने, जसरी हुन्छ अल्पमतमा राखी राजनीतिक शोषण गर्छन् । नयाँ पुस्तामा पनि पुरानो चिन्तनले गर्दा दासत्व स्वीकार गर्ने संस्कृतिको विकास भएको हुनाले विद्रोह गर्ने आँट गर्दैनन् ।
२) स्रोत र साधनको अभाव : राजनीतिक व्यापारीसँग पर्याप्त स्रोत–साधनको साथै परम्परागत संस्थागत संरचनाको समर्थन रहेको हुन्छ तर राजनीतिक उद्यमीहरू विचारमा आधारित र आत्मनिर्भर हुने हुँदा उनीहरूलाई राजनीतिक व्यापारीसँग प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ ।
३) राज्यसत्तामाथि कब्जा : राजनीतिक व्यापारीहरूले विगतदेखि नै राज्यसत्ता वा संयन्त्रमाथि अप्रत्यक्ष रूपमा प्रभाव जमाएका हुन्छन् । जुन प्रभाव उद्यमीहरूको हुँदैन ।
४) सञ्चारमाध्यम माथिको नियन्त्रण : कतिपय राजनीतिक व्यापारीले आफैँ मिडियाहरू सञ्चालन गरेको हुन्छ भने अधिकांश मिडियासँग उनीहरूको राम्रो सम्बन्ध रहेको हुन्छ । जसले उनीहरूको पक्षमा प्रचार गर्छन् ।
५) विश्वासको संकट : नागरिकहरू निर्वाचन नै पिच्छे सुन्दर नारामा ठगिएका हुन्छन् । उनीहरूमा राजनीतिप्रति वितृष्णता बढ्दै गएको हुन्छ । जुन जोगी आए पनि कानै चिरेको भनेजस्तै यी नयाँ भनाउँदा पनि उस्तै त होलान् भन्ने लाग्छ । जसको फाइदा व्यापारीलाई हुन्छ ।
६) ‘जेन–जी’हरूमा राजनीतिप्रतिको वितृष्णता : ‘जेन–जी’हरू महँगो उच्च शिक्षा, बेरोजगारी समस्या, अनुशासन र दण्डहीनताजस्ता विकृतिबाट सबभन्दा बढी पीडित छन् । तसर्थ विस्फोटक परिवर्तनको पक्षधर पनि छन् । तर यी सबको कारण अर्थराजनीति हो भनेर ठम्याउने र नयाँ राजनीतिक विकल्पतर्फ आकर्षित हुने भने गर्दैनन् । यसको फाइदा पनि राजनीतिक व्यापारीले लिएका छन् ।
नेपाल यतिखेर ठिक यस्तै दुखान्तबाट गुज्रिरहेको छ । हाम्रो देशको सन्दर्भमा राजनीतिक व्यापारीको भूमिकालाई बुझ्नका लागि केही प्रतिनिधिमूलक आर्थिक र राजनीतिक घटनाहरूको अध्ययन र विश्लेषण गरे पुग्छ । मूलतः २०४६ सालको राजनीतिक परिवर्तनपछि धेरै व्यापारी वर्ग राजनीतिमा प्रवेश गरे र अर्कातर्फ राजनीतिज्ञहरू पनि राजनीतिक व्यापारी बन्न पुगे । व्यापारी वर्ग नै सांसद र मन्त्री तथा प्रधानमन्त्रीका सल्लाहकार बने; आफ्नो व्यवसायलाई राजनीतिक पहुँचद्वारा संरक्षण गर्न थाले; परिणामतः भन्सार, कर, राजस्वका दरहरूमा प्रभाव पर्न थाल्यो ।
उनीहरूले राजस्व छुट लिन–दिन थाले । सार्वजनिक सम्पत्ति विभिन्न बहानामा व्यापारिक घरानामा पुग्न थाल्यो । राज्यले लाभ लागतको विलेशण नगरी उत्पादकले मात्र एकलौटि रूपमा आफ्नो उत्पादित वस्तुको अधिकतम मूल्य तोक्न पाउने ऐन–कानुन बन्न थाले । उनीहरूले शिक्षा र स्वास्थ्यजस्तो आधारभूत सुविधालाई अनियन्त्रित निजीकरण गरे । व्यापारी र नेताको झोलामा पुगे खोलाहरू । ठुला निर्माण कम्पनीका मालिक र ठेकदारहरू सत्ताधारी दलका पार्टी कार्यालय बनाउने दाता र नेतालाई घरभाडा दिने मालिक बन्न पुगे ।
यसरी देश भने दिनानुदिन कंगाल बन्दै गएको तथ्य जगजाहेर छ । देशका बौद्धिक वर्गहरू सडकमा छन् । अनगिन्ती यस्ता विषय ओपन सेक्रेट छन् । राजनीतिक व्यापारीको पन्जाबाट देशलाई मुक्त गर्न अब ढिला हुँदै गएको छ । जसका लागि राजनीतिक उद्यमीले यो अभिभारा जबर्जस्त रूपमा भए पनि लिनुपर्छ । नत्र मातृभूमिले धिक्कार्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ विश्वविद्यालयले बिराट मेडिकल कलेजलाई तोक्यो पीजी परीक्षा केन्द्र
-
एनआरएनए उच्चस्तरीय समितिद्वारा २६४३ जना प्रतिनिधिको सूची सार्वजनिक (नामावलीसहित)
-
बारामा पिकअप भ्यानको ठक्करबाट एक बालकको मृत्यु, दुई घाइते
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ
-
ओलीले झुक्याउने प्रचण्डलाई आशङ्का, त्यसपछि गएनन् सिंहदरबार
-
सरकार र शिक्षक महासंघविचको सहमति, विद्यालय शिक्षक कर्मचारी नै असन्तुष्ट