सत्तामा कम्युनिस्टको हालीमुहाली : १० वटा सरकारको नेतृत्व, ८ वटामा मुख्य साझेदार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको ७७ वर्षमा प्रवेश गरेको छ । २००६ वैशाख १० गते भारतको कोलकातास्थित श्यामबजारमा एक व्यक्तिको घरमा नेकपा स्थापना भएको थियो । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए । सदस्यहरूमा निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ थिए ।
रुसी क्रान्तिको प्रभाव विश्वभर परेको, चीनमा माओत्सेतुङको नेतृत्वमा जनवादी क्रान्ति अन्तिम चरणमा पुगेको, ब्रिटिस उपनिवेशबाट भारत मुक्त भएको र नेपाल १०४ वर्ष लामो जहानियाँ राणा शासनको निरङ्कुशताबाट मुक्त हुन खोजिरहेको समयमा पुष्पलालले नेकपा स्थापना गरेका थिए ।
पार्टी स्थापनाको झण्डै आठ दशकको दौरान सत्ता स्वार्थ, शक्ति सङ्घर्ष तथा नेतृत्वको टकरावले धुजाधुजा बनेको नेकपाको भविष्य अन्धकार रहेको विश्लेषकहरू बताउँछन् । कम्युनिस्ट नेताहरूमा देश बनाउने स्पष्ट दृष्टिकोण (भिजन) तथा समाजवादी विचारधारा नहुँदा नेपालको कम्युनिस्ट आन्दोलन कठिन मोडमा उभिएको विश्लेषक हरि रोकाको बुझाइ छ ।
‘नेपालमा मूलधारका कम्युनिस्टहरू कम्युनिस्ट आन्दोलन, मर्म र आदर्शबाट निर्देशित छैनन् । नाममात्रको कम्युनिस्ट हुन् । पार्टी स्थापनाको जतिऔँ वर्ष पार गरे पनि औचित्य बाँकी रहेन । उनीहरूले कम्युनिस्टका नाममा जे गरिराखेका छन्, कम्युनिस्ट आचरण र विचारधाराको प्रतिनिधित्व गर्दैनन्’, रातोपाटीसँग रोकाले भने ।
खासगरी एमाले, माओवादीलगायतका वामपन्थी पार्टीले कम्युनिस्ट आन्दोलन र विचारधारासँग कहीँ सम्बन्ध राखेको नदेखिने उनको भनाइ छ । उनी आगामी दिनमा कम्युनिस्टको भविष्य अन्धकारमय रहेको बताउँछन् ।
नेपालका कम्युनिस्ट पार्टी शासन सत्तामा पुगे वा दुई तिहाइ बहुमत ल्याए पनि देश बनाउने कुनै भिजन उनीहरूसँग नभएको रोकाको जिकिर छ । उनले भने, ‘कम्युनिस्ट आन्दोलन, समाजवादी विचारधाराबारे उनीहरूसँग कुनै जानकारी छैन ।’
२०६२/०६३ सालको जनआन्दोलनले २४० वर्ष लामो राजतन्त्र ढलेपछि २०६५ सालमा विधिवत रूपमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको थियो । गणतन्त्र स्थापनाको १७ वर्षमा गठन भएको १३ वटा सरकारमध्ये ९ वटाको नेतृत्व यिनै दुई ठुला वामपन्थी दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गरेको छ । यद्यपि जनताको अवस्था परिवर्तन हुन सकेको छैन । पछिल्लो समय राजावादीहरू यो व्यवस्थाविरुद्ध नै सडकमा निस्किन थालेका छन् ।
प्राध्यापक कृष्ण खनाल सरकारमा रहेका शासकहरू केवल कुर्सीका खेलमा मात्र सीमित हुँदा जनतामा आक्रोश बढ्दै गएको बताउँछन् । ‘नेता, प्रधानमन्त्री, मन्त्रीहरू जसले गणतन्त्र ल्याउन लडे– उनीहरूको व्यवहार गणतन्त्रसँग मेल खाँदैन । राजनीतिमा परिवारवाद हावी छ । आफ्नै छोराछोरी, पत्नी–पतिलाई नेतृत्वमा स्थापित गर्न दौडधुप गर्नुहुन्छ । यो गणतन्त्रको संस्कार होइन,’ उनले भने ।
गणतन्त्र एउटा समग्र प्रणाली रहेको खनालले बताए । उनले भने, ‘गणतन्त्र एउटा अपेक्षा गर्ने संस्कृति हो, त्यो निर्माण गर्न सकेको छैन, विकास गर्न सकेको छैन ।’
२७५ सदस्यीय प्रतिनिधि सभामध्ये ४४.७२ प्रतिशत सिट संख्या वामपन्थी छन् । संसद बाहिर रहेका वामपन्थी दलसमेत जोड्दा नेपालमा करिब ६० प्रतिशत जनमत वामपन्थीकै रहेको अनुमान छ । उनीहरूले सामन्तवादको अवशेषका रूपमा चित्रण गरेको राजतन्त्र पतन भएको दुई दशक पुग्न लाग्दासमेत जनतालाई सेवा प्रवाह गर्न असफल देखिएको विश्लेषण भइरहेको छ ।
विश्लेषक रोकाले अन्य देशमा भएका प्रगति तथा विकासका मोडललाई नेताहरूले भिजिलाइज गर्न नसक्दा समस्या देखिएको टिप्पणी गरे । ‘सबैभन्दा पहिलो कुरा नेताहरूले भिजिलाइज गर्दैनन् । भित्री दृष्टिकोणबाट उनीहरूले नियाल्न सक्दैनन् । नेपालमा कम्युनिस्ट आन्दोलनबाट हुर्किएका मानिसहरू चीन, भियतनाम वा क्युवा जान्छन्, उनीहरू परपरबाट हेर्ने हो,’ रोकाले भने, ‘त्यसलाई छाम्न सक्दैनन् । छाम्न सक्ने क्षमता उनीहरूमा छैन ।’
त्यसका लागि विचारधारा पढ्नुपर्ने प्रस्ट पार्दै रोकाले त्यो आइडोलोजी उनीहरूसँग नरहेको दाबी गरे ।
गणतन्त्र स्थापनापछि कम्युनिस्ट नेतृत्वको सरकारलाई असफल बनाउन एमाले र माओवादी नै बढी सक्रिय देखिएका छन् । एकले अर्काको अस्तित्व स्वीकार गर्न नसकेका यी दुई वामपन्थी दलबिच सत्ता र शक्ति संघर्षको शृङ्खला जारी छ । २०७४ को निर्वाचनमा झण्डै दुई तिहाइ जनमत पाएको नेकपा सरकार एमालेका अध्यक्ष केपी ओली र माओवादीका अध्यक्ष प्रचण्डबिच द्वन्द्वका कारण ४० महिनामै ढलेको थियो । नेकपा मुख्यतः तीन टुक्रामा विभाजन भयो । असार ३१ गते प्रचण्ड नेतृत्वको सरकारलाई ढालेर कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए । दुई तिहाइको सरकारले समेत जनपक्षीय रूपमा काम गर्न नसकेको विपक्षी दलहरूको आरोप छ ।
- नेकपा जन्मँदै मतभेद
नेकपा स्थापनाको दिनलाई लिएरै वामपन्थी नेताहरूबिच मतभेद देखिन्छ । एकथरिले पार्टीको पहिलो पर्चा प्रकाशित भएको मिति वैशाख १० गतेलाई स्थापनाको दिन मान्छन् भने अर्काथरिले नेकपा सार्वजनिक भएको दिन भदौ ३० गतेलाई मान्छन् । नेकपाको पहिलो घोषणापत्र पुष्पलालले भदौ ३० गते नै सार्वजनिक गरेका थिए । पार्टीको केन्द्रीय समिति सोही दिन सार्वजनिक भएको थियो तर, केन्द्रीय समितिमा महासचिव पुष्पलालबाहेक संस्थापक सदस्यहरू वैद्य, कर्माचार्य, जोशी र मोतीदेवीको नाम थिएन ।
सार्वजनिक भएको केन्द्रीय समितिमा मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय, डीपी अधिकारी र भाइसाहेब भनिने अयोध्या सिंहको नाम थियो । केन्द्रीय समितिमा रहेका सिंह भारतीय कम्युनिस्ट पार्टीका प्रतिनिधि भएको वामपन्थी नेता विष्णुहरि शर्मा बताउँछन् । नेकपा स्थापनामा भारतको प्रभाव रहेको उनको दाबी छ । उनी संस्थापक नेताहरू पाँच जना मात्र भएको जिकिर गर्छन् ।
मोतीदेवी भौतिक रूपमा उपस्थित हुन नसक्दा उनको नाममा विवाद आएको हुनसक्ने शर्माको बुझाइ छ । भलै नेकपा स्थापना भने वैशाख १० गते नै भएको उनले स्पष्ट पारे ।
स्थापना दिनलाई लिएरमात्र होइन, रुसी क्रान्ति र चिनियाँ क्रान्तिमध्ये कुनलाई धुरी बनाउने भन्नेमा पनि वाम नेताहरूबिच विवाद देखिन्छ । राजनीतिक कार्यदिशा राजासहितको प्रजातन्त्र मान्ने कि संविधान सभामार्फत गणतन्त्र स्थापना गर्ने भन्ने विषयमा पनि सैद्धान्तिक मतभेद रहेको पाइन्छ ।
कम्युनिस्ट नेताहरूबिच आफूलाई अग्रगामी, क्रान्तिकारी, देशभक्त ठान्ने अन्यलाई संशोधनवादी, दक्षिणपन्थी, पश्चगामी बिल्ला भिराउने सोच अहिलेसम्म कायमै छ । त्यसैले कम्युनिस्ट पार्टीको स्थापनादेखि अहिलेसम्म नेताहरूमा सैद्धान्तिक र वैचारिकभन्दा पनि नेतृत्व, शक्ति, सत्ता सङ्घर्षका कारण पार्टी विभाजन हुने गरेको वामपन्थी नेता शर्माको तर्क छ ।
- टुटफुट र विभाजनको शृङ्खला
नेकपा स्थापनापछि २००८ साल असोज ५ गते पहिलो सम्मेलन भयो । पुष्पलाल महासचिव भए । राजनीतिक दस्तावेज मनमोहनको पास भयो । नीति एउटाको, नेतृत्व अर्को हुँदा पार्टीभित्र मतभेद बढ्दै गयो । केही महिनामै महोत्तरीमा बसेको केन्द्रीय समिति बैठकले पुष्पलाललाई हटाएर मनमोहनलाई महासचिव बनायो । भारतको स्वार्थमा पुष्पलाललाई बाइपास गरिएको शर्माको आरोप छ । तथापि मनमोहन नेतृत्वमा आए लगत्तै मातृका कोइराला नेतृत्वको तत्कालीन सरकारले कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगायो ।
प्रतिबन्धकाबिच नेकपाको पहिलो महाधिवेशन २०१० माघ (१३–१७) गतेसम्म भूमिगत रूपमा पाटन, ललितपुरमा भएको थियो । महासचिव मनमोहन अधिकारी भए । तुलसीलाल र डीपीलाई निलम्बन गरियो । महाधिवेशनले २००७ सालको आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गरेर जाने निर्णय गर्यो ।
दोस्रो महाधिवेशन २०१४ जेठ (१४–२५) गतेसम्म काठमाडौँको दरबारमार्गस्थित फोहरादरबारमा सम्पन्न भएको थियो । महाधिवेशनमा कार्यवाहक महासचिव डा. केशरजंग रायमाझीद्वारा प्रस्तुत गरिएको दस्तावेज अस्वीकृत भयो । पुष्पलालले पेस गरेको संविधान सभा र गणतन्त्रसम्बन्धी दस्तावेज पारित भएको थियो । महाधिवेशनले नीति पुष्पलालको र नेतृत्व केशरजंगलाई छान्यो ।
२०१७ पुस १ गते राजा महेन्द्रले बीपी कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई बर्खास्त गरी राज्यसत्ता आफ्नो हातमा लिए । राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाइयो । राजाको कदमलाई महासचिव केशरजंगले ‘प्रगतिशील’ भनेर स्वागत स्वागत गरे । पुष्पलालले उक्त कदमलाई ‘सैनिक कु’को संज्ञा दिँदै सङ्घर्षमा जाने घोषणा गरे । केशरजंगलाई पुष्पलालले घोर दक्षिणपन्थी र राजापरस्तको आरोप लगाए । पुष्पलालको अगुवाईमा त्यसको भण्डाफोर गर्दै कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी र जनमुखी आन्दोलनका रूपमा विकास गर्न सङ्घर्ष थालियो । महेन्द्रको ‘कु’पछि शीर्ष नेताहरू जेल परे । अप्ठ्यारो परिस्थितिका कारण कसरी अगाडि बढ्ने भन्नेमा नेकपा अलमलियो ।
२०१७ फागुनमा भारतको दरभंगामा भएको प्लेनम(विस्तारित)ले ९ महिनाभित्र पार्टीको तेस्रो महाधिवेशन गर्ने निर्णय गरेको थियो तर प्लेनमको निर्णय विपरीत केशरजंग दक्षिणपन्थी लाइनमा अघि बढ्न थालेपछि २०१८ भदौमा तुलसीलाल अमात्य सचिव रहेको अन्तरजोन सामञ्जस्य समिति गठन भएको थियो । उनले पुरानो केन्द्रीय नेतृत्वको अवसरवादी अङ्गले महाधिवेशन बारम्बार टार्दै आएको आरोप लगाए । तत्काल महाधिवेशन बोलाउन केशरजंगमाथि दबाब बढाए । महाधिवेशन बोलाउन आलटाल गर्न थालेपछि बहुमत सदस्यहरूले तेस्रो महाधिवेशन बोलाएको थियो । माओवादी केन्द्रको केन्द्रीय पुस्तकालयमा रहेको ‘नेपाली कम्युनिस्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरू भाग–१’ मा उल्लेख छ ।
- कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न बनाउने तेस्रो महाधिवेशन
तेस्रो महाधिवेशन अन्तरजोन सामञ्जस्य समितिको निर्णयअनुरुप २०१९ वैशाख (४–१५) गतेसम्म भारतको वाराणसीमा सम्पन्न भएको थियो । उक्त महाधिवेशनले तुलसीलाल अमात्यद्वारा प्रस्तुत ‘राष्ट्रिय प्रजातन्त्र’को कार्यक्रम पारित गर्नुका साथै उनलाई नै महासचिवमा चयन गरेको थियो । यही महाधिवेशनबाट केशरजंग अलग भए । यसरी पहिलोपटक नेकपा फुट्यो । यसअघिका दुई वटा महाधिवेशनमा महासचिवबाट पुष्पलाललाई हटाइए पनि उनले पार्टी विभाजन नगरी अन्तरसंघर्ष गरेका थिए । तेस्रो महाधिवेशनबाट नेकपा विभाजनमात्र भएन, चिरा–चिरा भयो ।
तेस्रो महाधिवेशनपछि नेपाली कम्युनिस्ट आन्दोलनमा रुसी क्रान्ति र चिनियाँ क्रान्तिको प्रत्यक्ष प्रभाव परेको थियो । चिनियाँ लाइनको नेतृत्व पुष्पलालले गरे । रुसी लाइनको नेतृत्व तुलसीलालले गरे । राजनीतिक कार्यदिशालाई लिएर तुलसीलाल र पुष्पलालबिच मतभेद बढ्यो । तुलसीलालले राष्ट्रिय प्रजातन्त्रको लाइन समाते । पुष्पलालले नयाँ जनवादको लाइन समाते । त्यही क्रममा नेपालमा तुलसीलालले ‘कुन बाटो ?’ र पुष्पलालले ‘मूल बाटो’ नामक पुस्तिका प्रकाशन गरे । यी दुई प्रमुख नेताकाबिच विवाद चर्किँदै गयो । अन्ततः २०२५ सालमा पुष्पलालले भारतको गोरखपुरमा तेस्रो राष्ट्रिय सम्मेलन गरी अलग समूह घोषणा गरे ।
कम्युनिस्ट पार्टी विभाजित अवस्थामा रहेको बेलामा त्यसलाई संयोजन गर्नका लागि २०२८ मङ्सिर २० गते मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ, मोहनविक्रम सिंहलगायतका नेताहरूको सक्रियतामा केन्द्रीय न्युक्लियस गठन गरेर एकताका लागि कोसिस गरियो । एकताका लागि उक्त न्युक्लियसले पुष्पलालसँग वार्ता र छलफल गरे पनि सहमति बन्न सकेन ।
अर्कातिर २०२८ सालमै पूर्वकोशी प्रान्तीय कमिटीअन्तर्गतको झापा जिल्ला समितिले सशस्त्र सङ्घर्ष गर्ने निर्णय गरेको थियो । यसको नेतृत्व सीपी मैनाली, मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, रामनाथ दाहाल, केपी ओली, भोगेन राजवंशी लगायतका नेताले गरेका थिए, जुन झापा विद्रोहको नामले चर्चित छ । भारतको पश्चिम बंगाल राज्यमा पर्ने नक्सलवाडीमा चारु मजुम्दार, जंगल सन्थाल र कानु सन्यालबाट सुरु भएको ‘सर्वहारा वर्गको विद्रोह’को प्रभाव झापामा परेको थियो ।
झापा विद्रोहकै धारअन्तर्गत २०३२ साल जेठमा अखिल नेपाल क्रान्तिकारी को–अर्डिनेशन केन्द्र (माले) को गठन गरेर कम्युनिस्ट आन्दोलनको एकीकृत गर्ने काम भयो । २०३५ पुस ११ गते माओ दिवसको अवसर पारेर मोरङको इटहरामा राष्ट्रिय सम्मेलन गरी नेकपा (माले) को स्थापना गरिएको एमालेको वेबसाइटमा राखिएका ऐतिहासिक दस्तावेजमा उल्लेख छ ।
यसका नेताहरू सीपी मैनाली, मदन भण्डारी, माधवकुमार नेपाल, ईश्वर पोखरेल, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, जीवराज आश्रित लगायत थिए । केपी ओली भने जेलमा थिए । अहिलेको एमाले यही धारबाट जन्मेको हो ।
यतिबेला पुष्पलालको अलग्गै समूह थियो । २०३५ साल साउन ७ गते उनको निधन भयो । उनको निधनपछि धर्मपत्नी साहना प्रधानले पुष्पलाल समूहलाई पुनर्गठन गर्ने काम गरिन् । सोही क्रममा मनमोहनले नेकपा पुनर्गठन गरे । यी दुवै समूह २०४३ सालमा एकता भई नेकपा (मार्क्सवादी) भयो ।
- एमालेको जन्म र विभाजनको शृङ्खला
चौथो महाधिवेशनलाई मान्यता नदिएर नेकपा (माले) ले २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म सिरहाको विष्णुपुरकट्टी, सर्रे अम्बासमा नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशन आयोजना गर्यो । २०४७ पुस २२ मा मदन भण्डारी नेतृत्वको नेकपा (माले) र मनमोहन नेतृत्वको नेकपा (मार्क्सवादी) मिलेर नेकपा (एमाले) गठन गरे ।
महाकाली सन्धि राष्ट्रघाती भएको भन्दै २०५४ सालमा साहना प्रधान, वामदेव गौतम लगायत झण्डै पचास प्रतिशत नेता तथा कार्यकर्ताहरू एमालेबाट बाहिरिए । साहनाको नेतृत्वमा नेकपा माले गठन भयो । २०५६ को निर्वाचनमा २०५ निर्वाचन क्षेत्रमध्ये एक सिट पनि नेकपा मालेले जित्न सकेन । त्यसपछि २०५८ मा नेकपा मालेका अधिकांश नेता एमालेमै फर्किए । सीपी मैनालीले भने माले पुनर्गठन गरे । माले पनि पटकपटक विभाजनको सिकार बन्यो ।
२०७७ साल पुस ५ गते तत्कालीन केपी ओली नेतृत्वको सरकारले दुई–दुई पटक संसद् विघटन गरेपछि एमालेभित्र ओली र माधव नेपाल–झलनाथ खनाल समूहबिच अन्तर्विरोध चर्कियो । अन्ततः २०७८ भदौ २ गते एमाले फेरि विभाजन भयो । माधव नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादी अहिले सरकारमा छ ।
- माओवादीको जन्म र विभाजनको शृङ्खला
यता मोहनविक्रम सिंह र निर्मल लामा २०२७ सालमा जेलबाट छुटेपछि २०३१ साल भदौदेखि असोज ७ सम्म चौथो महाधिवेशन भयो । महासचिव मोहनविक्रम चुनिए । जुन समूहमा मोहन वैद्य, चित्रबहादुर केसी, भक्तबहादुर श्रेष्ठ लगायत थिए । ०३३ सालमा यौन आरोपमा मोहनविक्रम पार्टीबाट निष्कासित भए । जलजला काण्डमा उनी कारबाहीमा परेको पुराना वामपन्थी नेता शर्मा बताउँछन् ।
मोहनविक्रम कारबाहीमा परेपछि लामा महासचिव भए । पछि लामालाई पनि पार्टीबाट निष्कासन गरियो भने भक्तबहादुर महासचिव भए । २०३८ सालमा लामा र नारायणकाजी श्रेष्ठ लगायतले नेकपा(चौम)गठन गरे ।
मोहनविक्रमले २०४० साल कात्तिकमा गोरखपुर सम्मेलनबाट नेकपा(मशाल) बनाए । वैद्य, भक्तबहादुर, पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै थिए । २०४१ सालमा भारतको अयोध्यामा भएको पाँचौँ महाधिवेशनमा बहुमतले मोहनविक्रमलाई कारबाही गर्यो । त्यसपछि वैद्य महामन्त्री भए । प्रचण्ड, भक्तबहादुर वैद्यतिर लागे । २०४३ सालमा चर्चित सेक्टर काण्डबाट वैद्यले राजीनामा दिए । त्यसपछि प्रचण्ड नेतृत्वमा आए ।
वामपन्थी नेता शर्माका अनुसार ०४८ सालमा नेकपा मसाल (प्रचण्ड), नेकपा चौम (निर्मल लामा), मोहन विक्रम सिंहबाट छुट्टिएर आएको बाबुराम भट्टराईको समूह तथा सर्वहारा श्रमिक संगठनबाट छुट्टिएर आएको रुपलाल विश्वकर्मा पक्ष मिलेर एकता केन्द्र गठन भयो । महामन्त्री प्रचण्ड नै भए ।
दीर्घकालीन सशस्त्र जनयुद्ध गर्ने कि शान्तिपूर्ण सङ्घर्ष गर्ने भन्ने विषयमा एकता केन्द्रभित्र विवाद उत्कर्षमा पुग्यो । २०५१ सालमा चितवनमा भएको प्रथम राष्ट्रिय सम्मेलनबाट दीर्घकालीन सशस्त्र विद्रोहको लाइन पास भयो । एकता केन्द्रबाट नारायणकाजी श्रेष्ठ समूह अलग भए ।
२०५२ साल फागुन १ गतेदेखि माओवादी सशस्त्र विद्रोहमा गयो । १० वर्ष सशस्त्र विद्रोहपछि २०६२ मङ्सिरमा भएको १२ बुँदे सहमतिपछि माओवादी शान्तिपूर्ण राजनीतिमा आयो । २०६५ साल पुसमा नारायणकाजी नेतृत्वको एकता केन्द्र माओवादीसँग एकता गरी नेकपा एकीकृत समाजवादी गठन भयो । शान्तिपूर्ण राजनीति कार्यदिशा अँगाल्ने कि विद्रोहको कार्यदिशा अँगाल्ने भन्ने विषयमा प्रचण्ड, वैद्य र बाबुरामबिच भएको विवादले माओवादी विभाजित भयो । २०६९ असारमा वैद्यसहित रामबहादुर थापा, देव गुरुङ, नेक्रविक्रम चन्द विप्लव लगायत नेताहरू बाहिरिए । २०७२ सालमा नयाँ संविधान जारी भएपछि असोज ९ गते बाबुराम भट्टराईले पनि माओवादी परित्याग गरे ।
२०७४ असोजमा एमाओवादी र गणेश साह नेतृत्वको नेकपा(संयुक्त)बिच पार्टी एकता भई नेकपा(माओवादी केन्द्र) गठन भयो । यो पार्टीको अध्यक्ष अहिले प्रचण्ड छन् ।
यता पार्टी विभाजन भएको दुई वर्ष नपुग्दै वैद्यको पार्टीबाट विप्लव समूह अलग भए । विभाजनपछि एकीकृत जनक्रान्तिमा होमिएको विप्लव समूह २०७६ फागुनमा शान्तिपूर्ण राजनीतिमा आयो । उक्त समूहबाट धर्मेन्द्र बास्तोला नेतृत्वको अर्को समूह अलग भयो । बास्तोला समूह वैद्य समूहमा गाभिएर क्रान्तिकारी कम्युनिस्ट पार्टी गठन गरेको छ । माओवादीसँग एकता प्रक्रियामा रहेका विप्लव चार दलीय समाजवादी मोर्चाका संयोजक छन् ।
यस्तै बाबुराम नेतृत्वको नयाँ शक्ति नेपाल संघीय समाजवादी पार्टी, जसपा हुँदै नेपाल समाजवादी गठन गरेका छन् । माओवादीसँग एकता गर्ने कि नगर्ने विषयमा विवाद चर्किँदा नेसपा विभाजन भएको छ । यस्तै माओवादीबाट अलग भएका बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा लगायत नेताहरू एमालेमा विलय भएका छन् । विश्व भक्त दुलाल, गोपाल किराती, नारायणप्रसाद शर्मा लगायत नेताहरूको स–साना समूह पनि अस्तित्वमा छन् ।
अर्कोतिर २०४२ सालमा नेकपा(मसाल) गठन गरेका मोहनविक्रमको पार्टी पनि निरन्तर विभाजित हुँदै आएको छ । २०४७ सालमा हरिबोल गजुरेलको नेतृत्वमा डा. बाबुराम भट्टराई लगायत नेताहरू मसालबाट अलग भए । यस्तै २०५७ सालमा मसालबाट दीनानाथ शर्मा नेतृत्वको समूह अलग भए । २०७८ सालमा मसालमा फेरि विभाजन भएको छ । मसालको संसदीय मोर्चा राष्ट्रिय जनमोर्चाले संसदमा अहिले एक सिट जितेको छ ।
उता नेपालमा एउटै कम्युनिस्ट पार्टी भएर विकास नहुने देखेर २०३१ माघ १० गते दरभङ्गामा बसेको केन्द्रीय समितिको निर्णयअनुसार नेपाल मजदुर किसान पार्टी विधिवतरूपमा स्थापना भएको थियो । नारायणमान बिजुक्छे नेतृत्वको यो पार्टीले संघीय संसदमा एक सिट जितेको छ ।
त्यस्तै २०३३ सालसम्म आइपुग्दा कम्युनिस्ट एकता सम्पर्क समिति, नेपाल सर्वहारा क्रान्तिकारी संगठन र मुक्ति मोर्चा समूहजस्ता स–साना कम्युनिस्ट समूह अस्तित्वमा थिए । यता केशरजंग समूह पनि २०४३ सालसम्म अस्तित्वमा थियो । सो समूहबाट विष्णुबहादुर मानन्धर, कृष्णराज वर्मा अलग भए । जुन नेकपा(मानन्धर) र नेकपा(बर्मा) चिनिन्थ्यो । पछि केशरजंग आफैँ कारबाहीमा परे ।
यद्यपि अहिले संसदमा नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी मात्रै अस्तित्वमा छन् । संसद् बाहिर नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, गोपाल किराती नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(माओवादी), धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा(बहुमत) लगायत आधा दर्जनभन्दा बढी माओवादी घटक अस्तित्वमा छन् ।
- शक्तिशाली नेकपाको महापतन
नेकपाको तेस्रो महाधिवेशनपछि टुटफुट र विभाजनले निकै कमजोर भएको कम्युनिस्ट आन्दोलन २०७४ को निर्वाचनपछि निकै शक्तिशाली भयो । दुई ठुला वाम दल एमाले र माओवादीबिच चुनावी तालमेलसहित पार्टी एकता गरी नेपाल कम्युनिस्ट पार्टी गठन भएको थियो । संसदमा यो पार्टीको झण्डै दुई तिहाई सांसद थिए ।
निर्वाचनपछि ओली प्रधानमन्त्री भए । पूर्वसहमति अनुसार २०७५ साल जेठ ३ गते एमाले र माओवादी विलय भई नेकपा गठन गरेका थिए । ६९ वर्षको इतिहासमा शक्तिशाली कम्युनिस्ट पार्टी गठन भएको थियो । तर ओली र प्रचण्डबिच सत्ता र शक्ति संघर्षका कारण दुई वर्ष नपुग्दै विघटन भयो । २०७७ साल फागुन २३ गते नेकपा विवादसम्बन्धी विवादमा सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई मान्यता दिएपछि ओली–प्रचण्ड नेतृत्वको नेकपा विघटन भए । एमाले र माओवादी फेरि अस्तित्वमा आयो । २०७९ को निर्वाचनमा एमाले र माओवादी नै ठुला वामपन्थी दल भए पनि जनमत सिट सङ्ख्या घटेको छ ।
यद्यपि अहिले समाजवादी मोर्चाको नाममा वामपन्थी दलहरू एक हुने चर्चा सुरु भए पनि मूर्त रूप पाउन सकेको छैन । यथास्थितिमा नेपालमा कम्युनिस्ट पार्टीले अब नेतृत्वदायी भूमिका निर्वाह गर्न नसक्ने विश्लेषक रोकाको विश्लेषण छ । अहिलेका वामपन्थी दलहरू सच्चिएर मात्र नपुग्ने भन्दै जनताले देखिने गरी काम गर्न आवश्यक रहेको उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते
-
१० बजे १० समाचार : फेरि विद्यालय कर्मचारी रुष्टदेखि ओलीले झुक्याउने प्रचण्डको आशंकासम्म
-
किट विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेला
-
आईपीएल : मुम्बईले राजस्थानसामु दियो २१८ रनको लक्ष्य