मौलाउँदै नकारात्मकता झाँगिदै निराशा

‘हेर्नुस् गाइज’ भन्ने वाक्यांश सुन्नासाथ मलाई घृणा लाग्ने भएको छ । सुत्केरी छटपटाउँदै ‘पानी पानी... बचाउ–बचाउ’ भनिरहेकी हुन्छिन्, यता एउटा युवक हतार–हतार मोबाइल खोल्छ र भन्छ— हेर्नुस् गाइज, एकजना सुत्केरी बाटोमा छटपटाउँदै छन्... सरकार कहाँ छ ?
मानव सभ्यताको सुरुवातदेखि एक घरकाले अर्को घरकालाई सहयोग गर्दैै आएको हो, तर अहिले त्यो सद्भाव खै ? तल घरबाट आगो सल्काएर माथिल्लो घरमा खाना पकाउने पुर्खाका सन्तति कति चाँडै मतलबी र नकारात्मकतातिर हिँड्न सकेका ।
केही दिनअगाडि भारतमा इन्डियन प्रिमियर लिग चलिरहेको थियो, अनलाइनमा लाइभ हेर्न पसेँ, त्यहाँ सबैभन्दा बढी नेपाली नेतालाई असभ्य र अस्वाभाविक गालीको वर्षा चलिरहेको रहेछ । लाग्दैथ्यो कि क्रिकेट भारतमा चहिरहेको छ, नेपालमा गालीको विश्वकप । नेपाली नेताको पनौती लागेर कुनै टिमले गेम हार्ने या जित्नेझैँ !
बाबु समानको राष्ट्रका अग्रजलाई गाली–बेइज्जती गरेर पाइने के हो ? नेतृत्वको आलोचना, विरोध र आक्रोश नेपाली भूमि र परिवेशमा गरौँला; विदेशीका अगाडि राष्ट्रिय एकता कमजोर किन बनाउँदै छौँ हामी ? राष्ट्र संकटमा परेपछि आस्था, विचार, क्षेत्र जाति भेटिँदैनन्; भेटिन्छन् त केवल नेपाली र सुन्दर शान्त नेपाल ।
गाली, आरोप–प्रत्यारोप, दोषारोपण, आवेग, पक्ष र विपक्षमा आज नेपाली समाज नराम्ररी खण्डित भएको छ । आफ्नो अग्रगमनको खोजीभन्दा अरुको पश्चगमन चाहने शैली पछिल्लो समय मौलाइरहेको देखिन्छ । जसको व्यक्ति, समाज र राष्ट्रको समृद्धिसँग कतै र कहिल्यै साइनो रहँदैन । त्यसमा न कुनै आधार छ न त कुनै तथ्य नै । समाज वस्तुवादी र विज्ञानसम्मत बन्नुको साटो निराशाको खेतीमा रमाइरहेको छ । निराशालाई भावना र संवेदनासँग मात्र जोडेर बुझ्ने र त्यसैमा सहानुभूति र धारणा निर्माण गर्ने अभ्यास फस्टाइरहेको छ । जब सत्य र असत्यको तात्पर्यता छुट्याइँदैन, तब सत्य कमजोर र असत्य हाबी बन्छ । नकारात्मक सोच र चिन्तनबाट ग्रसित निर्णयबाट सकारात्मक परिणाम प्राप्त गर्न नसकिने कुरा अकाट्य हो ।
हामीकहाँ निराशाले उब्जाएका निम्न पक्ष देखिन्छन् ।
व्यक्तिवादी सोच
अचेल हाम्रो समाजमा अधिकांशको सोचाइको दायरा साँघुरिएका छन् । आमाबुवाले निकै दुःखले सन्तानलाई हुर्काउँछन्, पढाउँछन् । तिनै बाआमाका लागि आज विश्वभरि वृद्धाश्रम नामको नयाँ पूर्वाधारको विकास धमाधम भइरहेको छ । केही वर्षअगाडि वृद्धाश्रम बिरलै भेटिने र खाली हुने वृद्धाश्रम आज आएर भरिभराउ भएका छन् ।
अर्कोतिर कतिपय आमाबुवाले आफ्ना सन्तानलाई विभिन्न बहानामा होस्टल वा आफन्तकहाँ राख्ने प्रवृत्ति बढेको छ । जन्म दिने आमाबा र जन्म दिएको सन्तानका लागि नसोचिनु योभन्दा नकारात्मकता अर्को तह के हुन सक्ला ? आजभन्दा ठिक १० वर्षअगाडि नेपालमा सम्बन्ध–विच्छेदका घटना वार्षिक करिब पाँच सयको हाराहारीमा थिए । आज आएर प्रतिवर्ष ३८ हजार पुगेको छ । विश्वासमा बाँधिएका जोडी छुटिनलाई कुनै खास कारण चाहिएको छैन, यहाँ फेसबुकको लाइक–कमेन्ट र हदै भए पासवर्ड यथेष्ट कारण बनेका छन् सम्बन्ध–विच्छेदका लागि ।
विश्वभर मानसिक रोगीको संख्या भयावह हुँदै आउनु र प्रति ४० सेकेन्डमा एक जनाले विश्वमा आत्महत्याको बाटो रोज्नु कतै व्यक्तिवादी चिन्तनको कारण होइन ? व्यक्तिभित्रको नकारात्मक सोच नहटाई समाजमा जबर्जस्त जरा गाडेको निराशालाई आशामा रूपान्तरित गर्न सकिँदैन । यसका लागि सुरु आफैँबाट गर्नुपर्ने हुन्छ ।
तुलनात्मकवादी चिन्तन
प्रायः नेपाली सञ्चार सुविधाको पहुँचमा छन्, विश्व प्रविधिले समाजलाई मोबाइलको स्क्रिनमा साँघुराइदिएको छ । फोन या सामाजिक सञ्जालको प्रयोग गर्नेहरु बढिरहेका छन् ।
इन्टरनेटमा हेरेर नेपाली समाजले आफूलाई विश्वसँग तुलना गर्छ । अफ्रिका, अस्ट्रेलिया, अमेरिका, चीन, भारत कहाँ छन् ? के के आविष्कार गरे विश्वले ? एलन मस्क, बिल गेट्स, रतन टाटा, विनोद चौधरीजस्ता विश्वका खर्बपतिहरूको जीवनशैली कस्तो छ ? नागरिकता प्राप्त गरेकोे दशकमै विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतिमा बाराक ओबामाले कसरी बाजी मारे ? त्यही खोजिरहेको छ नेपाली समाजले ।
टिकटक कम्पनीको वार्षिक कमाइ नेपाल सरकारको वार्षिक बजेटभन्दा माथि छ, हाम्रो भूमिका खोज्दैनौ, करोडको गाडी पार्किङ ५० रुपैयाँ कर तिर्दा आन्दोलित हुन्छौँ, तर राष्ट्र निर्माणमा राज्य सञ्चालकभन्दा बढी जिम्मेवार नागरिक बन्नुपर्ने सिद्धान्त मात्र बिर्संदैनौँ । नेतृत्वको खबरदारी र निगरानी पनि सापेक्षमा निर्धारण गर्दछौँ । अरुको जस्तो खोजेर मात्रै हुँदैन, त्यसका लागि मिहिनेत र परिश्रम पनि गर्नुपर्छ ।
बर्सेनि करिब तीन–चार लाख दक्ष जनशक्ति रोजगारीका लागि नेपाली बजारमा आउँछन् । राज्य र निजी क्षेत्रले मुस्किलले १५/२० हजारलाई रोजगारीमा जोड्न सक्दैन । भविष्यका नाममा विवाह सबैभन्दा पहिलो कार्यभार सम्झने र बिदेसिने कारुणिक स्थिति छ देशमा । विदेशको कमाइको ठुलो हिस्सा उत्पादनमूलक क्षेत्रमा खर्च हुँदैन र उत्पादनविना देशले गति लिन सक्दैन ।
विलासिताले जन्माएको खिन्नता
नेतृत्व व्यक्ति होइन सामूहिक भावना हो, नेतृत्वको दृष्टि लाखौँको भावना समेट्दै सयौँ वर्षको गन्तव्य दिने र समाजलाई समृद्धिको यात्रामा डोर्याउने हुनुपर्छ । जनभावना र जनआकांक्षा बिर्सने शैली नेपाली राजनीतिक वृत्तमा स्थिर बनिरहेको छ । नागरिक तहमा असन्तुष्टि छ । अहिले नेतृत्वमा पुग्नेहरुले विलासी जीवन रोजेको देखिन्छ । कुनै राजनीतिक पदमा पुग्नासाथ उसले विलासी जीवन रोज्न थाल्छ । हिजोको उसको हाराहारीका मानिस नुनको जोहोमा हुन्छन्, ऊ सुनको जोहोमा लाग्छ । दिनचर्या ह्वात्तै बदलिन्छ र पाक्छ चौरासी व्यञ्जन । पेसा र व्यवसायविना ठुलाठुला सहरमा घर–घडेरी र गाडी कसरी आउँछ ? सन्तानका लागि महँगो शिक्षा तथा विलासी जीवनशैली कसरी सम्भव छ ?
नेताहरुको वा मुठीभर व्यक्तिहरुको जीवनशैली बदलिएको देखेर पनि नेपाली समाजमा निराशा बढेको छ । धेरैले नेता र पहुँचवालाहरुलाई गालीगलौज गरिरहेका छन् ।
सत्ताकेन्द्रित जमातले समाजमा नकारात्मकता सिर्जना गरिरहेको छ । विकास र निकासभन्दा पहिले जवाफ चाहिएको छ, पद बदलिए प्रतिष्ठा किन बदलिन्छ ? नेतृत्व वितरणमा रुमलिने हो कि योजना दिने हो ? वा साझेदारी खोज्ने हो ? त्यसैले सपनासहितको योजना चाहिएको छ, आशा रहे संकल्प गर्न सकिन्छ, बदलौँ सोच, थालौँ समुन्नतिको यात्रा ।
(लेखक पन्त नेपाली कांग्रेस जिल्ला कार्यसमिति जाजरकोटका सह–सचिव एवं प्रवक्ता हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको सँघारमा पनि स्थानीय तहमा छैन उत्साह, सरकारमाथिको अविश्वासले खुम्चिँदै आकार
-
रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश
-
कम्बोडियामा पक्राउ परे ज्योति भण्डारी, नेपाल झिकाउन इन्टरपोल मार्फत पत्राचार
-
रवीन्द्र मिश्रको थुनछेक बहस सकियो
-
सामाजिक सञ्जालमा नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गर्ने एक जना पक्राउ
-
सहसचिवको दरबन्दीमा सीडीओ बनेका उपसचिवहरू तानिए, अझै रित्तिएन जगेडा