पहलगाम घटनापछि आईसीसीलाई बीसीसीआईको पत्र
काठमाडौँ । भारत र पाकिस्तानबिचको तिक्ततापूर्ण राजनीतिक सम्बन्धको असर क्रिकेट खेलमा पनि पर्ने गरेको छ । त्यसैले भारत र पाकिस्तानले निकै लामो समयदेखि आपसमा द्विपक्षीय क्रिकेट शृङ्खला खेलेका छैनन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले आयोजना गर्ने अन्तर्राष्ट्रिय प्रतियोगितामा भने यी दुई टोली आपसमा भिडन्त गर्दै आएका थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई चिरप्रतिद्वन्द्वीबिचको खेललाई विशेष महत्वका साथ हेरिन्छ ।
आईसीसी र एसीसीले आयोजना गर्ने अधिकांश प्रतियोगितामा यी दुवै टोलीलाई एउटै समूहमा राख्न गरिएको छ । तर, यही अप्रिल २२ तारिखमा पहलगाममा भएको आतंकवादी हमलापछि भारतीय र पाकिस्तानी टोली आईसीसी र एसीसीको प्रतियोगितामा पनि आपसमा नभिड्ने सम्भावना बढेको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईसीसीलाई औपचारिक रूपमै पत्र पठाउँदै आगामी दिनमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भारत र पाकिस्तानलाई एउटै समूहमा नराख्न आग्रह गरेको छ । पहलगाममा भएको आतंकवादी हमलापछि बीसीसीआईले आईसीसीलाई यस्तो पत्र पठाएको हो ।
पहलगाम घटनामा २५ भारतीय र एक नेपाली नागरिकको हत्या गरिएको थियो । उक्त घटनापछि ‘बीसीसीआईले आईसीसीलाई पत्र पठाउँदै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूहगत चरणमा भारत र पाकिस्तानलाई एउटै समूहमा नराख्न आग्रह गरेको छ,’ बीसीसीआईका बरिष्ठ अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।
यस्तो स्थितिमा दुवै टोली अन्तर्राष्ट्रिय प्रतियोगिताको समूहगत चरण पार गर्दै सेमिफाइनल वा फाइनलमा पुगेमा मात्र आपसी भिडन्त हुनसक्ने देखिन्छ । अब आईसीसीको आगामी औपचारिक प्रतियोगिता सेप्टेम्बरमा पर्छ ।
आगामी आईसीसी एकदिवसीय महिला विश्वकप भारतमै आयोजना हुँदै छ । भारत र पाकिस्तान दुवै टोली महिला विश्वकपमा छनोट भइसकेका छन् । अब उक्त प्रतियोगितामा भारत र पाकिस्तानबिच खेल हुन्छ वा हुँदैन हेर्न बाँकी छ ।
पुरुषतर्फ भने आईसीसीको आगामी प्रतियोगिता सन् २०२६ को फेब्रुअरी र मार्चमा खेलिन्छ । भारत र श्रीलङ्कामा आईसीसी टी–२० विश्वकप आयोजना हुनेछ । यसका अतिरिक्त यसै वर्ष पुरुष एसिया कप पनि आयोजना हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण