आइतबार, २१ वैशाख २०८२
ताजा लोकप्रिय

इन्टर मियामीका प्रशिक्षक मास्चेरानोले लिए हारको जिम्मेवारी

‘मेस्सी, बुस्केट्स, अल्बा र स्वारेजलाई नखेलाउँदा अंक गुमायौँ’
सोमबार, १५ वैशाख २०८२, १२ : ४६
सोमबार, १५ वैशाख २०८२

काठमाडौँ । स्टार खेलाडी लियोनल मेस्सी आबद्ध क्लब इन्टर मियामीका प्रशिक्षक जेभियर मास्चेरानोले मेजर लिग सकर (एमएलएस) मा पहिलो हारको जिम्मा आफूले लिने बताएका छन् । एमएलएसको सोमबार सम्पन्न खेलमा एफसी डालासले इन्टर मियामीलाई ४–३ गोलले हराएको थियो । 

जारी सिजनको लिगमा पहिलो हार भोगेको इन्टर मियामी १८ अंकसहित तालिकाको पाँचौँ स्थानमा आसिन छ । अर्जेन्टिनी स्टार मेस्सी, सर्जियो बुस्केट्स, जोर्डी अल्बा र लुइस स्वारेजलाई डालासविरुद्धको खेलमा मैदानमा ओरालिएको थिएन । 

प्रशिक्षक मास्चेरानोले यसै साता हुने कनकाकाफ च्याम्पियन्स कपको सेमिफाइनलको दोस्रो लेग खेलका लागि उनीहरूलाई आराम दिएका थिए । सोही कारणले प्रशिक्षक मास्चेरानोले उक्त हारको जिम्मा आफूले लिने बताएका हुन् ।

इन्टर मियामी कनकाकाफ च्याम्पियन्स कप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलको पहिलो लेग खेलमा क्यानेडियन प्रतिद्वन्द्वी भानकुभर ह्वाइटक्याप्ससँग ०–२ गोलले पराजित भएको थियो । पहिलो लेग खेलमा पराजित भएपछि दबाबमा परेको इन्टर मियामीले दोस्रो लेग खेल घरेलु मैदानमा अप्रिल ३० तारिखमा खेल्नेछ । 

‘सेमिफाइनलको दोस्रो लेग खेललाई ध्यानमा राखी डालासविरुद्ध सिनियर खेलाडीहरुलाई आराम दिने निर्णय लिएको हुँ । यो मेरो गल्ती हो । हामीले अंक गुमायौँ । त्यसैले डालाससँग भोगेको हारको जिम्मेवारी मैले नै लिनु पर्छ,’ प्रशिक्षक मास्चेरानोले भनेका छन् । 

डालासविरुद्धको खेलमा दुई गोलको अग्रता लिएर पनि इन्टर मियामीले नतिजा गुमाउनु परेको थियो । खेल सुरु भएको आठौँ मिनेटमै डालासले अग्रता लिएको थियो । डालासका लागि साक्वेली मुरले पहिलो गोल गरेका थिए । 

त्यसपछि इन्टर मियामीले लगातार तीन खेल फर्काएको थियो । इन्टर मियामीका लागि १६औँ मिनेटमा फाफा पिकाउल्टले पहिलो गोल गरे । २९औँ मिनेटमा एलन ओबान्डोले इन्टर मियामीलाई २–१ गोलको अग्रता दिलाएका थिए । 

पहिलो हाफमा २–१ को अग्रता लिएको इन्टर मियामीका लागि ५६औँ मिनेटमा डेभिड मार्टिन्जले तेस्रो गोल थपेका थिए । त्यसपछि लगातार तीन गोल फर्काउँदै डालास एफसीले नतिजा आफ्नो पक्षमा पारेको थियो ।

डालासका लागि ६४औँ मिनेटमा ओसाजले दोस्रो गोल गरे । त्यसको पाँच मिनेटपछि नै डालासका लागि एन्डर्सन जुलियोले तेस्रो गोल गरेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा नौ मिनेटअघि डालासका लागि पेड्रिन्होले चौथो गोल थपेका थिए । 

‘सिनियर खेलाडीलाई बाहिर राखेर पनि हामीले डालासविरुद्ध उत्कृष्ट प्रदर्शन गर्‍यो । खेलको प्रारम्भमै गतिलो अग्रता लिएर पनि हामीले अंक गुमाउनु पर्‍यो । हामीले दबाब झेल्न सकेनौँ । त्यसैले यो हारको जिम्मा मैले नै लिनुपर्छ,’ प्रशिक्षक मास्चेरानोले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप