दोहोरो लिगमा १८ खेल नभई किन १४ खेलमात्र खेल्छन् सहभागी १० टोलीले ?
काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगितामध्येको एक इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा आधाभन्दा बढी खेल सकिएको छ । प्रतियोगिताका क्रममा कुल ७४ खेल खेलिनेछ । हालसम्म ४७ खेल सकिएको छ ।
जारी सिजनको आईपीएलमा केही टोलीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् भने गतिलो इतिहास बोकेका केही टोलीको प्रदर्शन निराशाजनक छ । केही टोली उपाधि होडबाट बाहिरिने निश्चित भइसकेको छ भने बाँकी टोली प्रतियोगिताको प्ले–अफ चरणमा स्थान पक्का गर्न संघर्षरत छन् ।
जारी सिजनको आईपीएलमा प्रत्येक टोलीले कुल १४ खेल खेल्नेछन् । प्रतियोगितामा १० टोली सहभागी छन् । यस आधारमा दोहोरो लिगको नियम अनुसार, प्रत्येक टोलीले कुल १८ खेल खेल्नु पर्ने हो । तर, आईपीएलमा प्रत्येक टोलीले १४ खेलमात्र खेल्छन् ।
आखिर किन ? खासमा, आईपीएलमा सहभागी १० वटै टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा पाँच–पाँच टोली रहेका छन् । निश्चित मापदण्डका आधारमा दुवै समूहका टोलीलाई पहिलोदेखि पाँचौँ स्थानमा क्रमैसँग राखिएको हुन्छ ।

प्रत्येक समूहमा रहेका टोलीले आफ्नो समूहमा परेका अन्य टोलीसँग दुई–दुई खेल खेल्नुपर्ने हुन्छ । अर्को समूहमा आफ्नै क्रममा रहेको टोलीसँग पनि दुई खेल खेल्नुपर्ने हुन्छ । उदाहरणको लागि, समूह ‘ए’ को चौथो स्थानमा रहेको टोलीले समूह ‘बी’ को चौथो स्थानमा रहेको टोलीसँग पनि दुई खेल नै खेल्नुपर्छ । तर, विपरीत समूहको अन्य टोलीसँग भने एक–एक खेलमात्र खेल्नुपर्छ ।
यसैगरी, समूह ‘ए’ को तेस्रो स्थानमा रहेको टोलीले समूह ‘बी’ को तेस्रो स्थानमा रहेको टोलीसँग पनि दुई खेल नै खेल्नु पर्छ । तर, विपरीत समूहको अन्य टोलीसँग भने एक–एक खेलमात्र खेल्नुपर्छ । त्यसैले आईपीएलमा सहभागी प्रत्येक टोलीले लिग चरणमा १४–१४ खेलमात्र खेल्नुपर्छ ।
जारी सिजनको आईपीएलमा समूह ‘ए’ मा चेन्नई सुपर किङ्स पहिलो, कोलकाता नाइट राइडर्स दोस्रो, राजस्थान रोयल्स तेस्रो, रोयल च्यालेन्जर्स बेंगलुरु चौथो र पञ्जाब किङ्स पाँचौँ स्थानमा रहेका छन् ।

यसैगरी, समूह ‘बी’ मा मुम्बई इन्डियन्स पहिलो, सनराइजर्स हैदराबाद दोस्रो, गुजरात टाइटन्स तेस्रो, दिल्ली क्यापिटल्स चौथो र लखनउ सुपर जायन्ट्स पाँचौँ स्थानमा रहेका छन् ।
यस आधारमा समूह ‘ए’ को पहिलो स्थानमा नम्बरमा रहेको चेन्नईले आफ्नो समूहमा परेका अन्य टोलीसँग दुई–दुई खेल खेल्नेछ । चेन्नईले समूह ‘बी’ को पहिलो स्थानमै रहेको मुम्बई इन्डियन्ससँग पनि दुई खेल खेल्नेछ । तर, चेन्नईले समूह ‘बी’ को बाँकी टोली हैदराबाद, गुजरात, दिल्ली र लखनउसँग भने एक–एक खेलमात्र खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको घोषणा : युक्रेनलाई प्याट्रियट क्षेप्यास्त्र अवरोधक उत्पादनको अनुमति दिइने
-
प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा रिट
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण