शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय
रिपोर्ट

‘ट्रम्प प्रभाव’ले विश्वव्यापी रूपमा मानवअधिकार सङ्कटमा पर्ने एम्नेस्टी इन्टरनेसनलको चेतावनी

मङ्गलबार, १६ वैशाख २०८२, १२ : २३
मङ्गलबार, १६ वैशाख २०८२

काठमाडौँ । एम्नेस्टी इन्टरनेसनलले डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी सरकारले विश्वमा विद्यमान हानिकारक प्रवृत्तिहरूलाई थप तीव्र बनाइरहेको दाबी गरेको छ ।

विश्वका विभिन्न मुलुकका मानव अधिकारको अवस्था समेटिएको प्रतिवेदन मंगलबार सार्वजनिक गर्दै एम्नेस्टी इन्टरनेसनलले सबैका लागि विश्वव्यापी मानवअधिकार स्थापना र प्रवर्द्धनका लागि भएको दशकौँदेखिको मेहनतपूर्ण प्रयासलाई मेटाउँदै र सम्पूर्ण मानव जगतलाई अधिनायकवादी अभ्यास र कर्पोरेट जगतको लालच अन्तर्घुलित भएको एउटा क्रूर नयाँ युगतर्फ धकेल्दै ‘ट्रम्प प्रभाव’ले सन् २०२४ भरि विश्वका अन्य नेताहरूद्वारा भएको क्षतिलाई अझ जटिल बनाइदिएको उल्लेख गरेको छ ।

एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामारलले वर्षैपिच्छे आफूहरूले मानवअधिकारमा भएको उपलब्धिबाट पछि हट्ने जोखिमताका बारे चेतावनी दिँदै आएको उल्लेख गरेकी छन् ।

‘प्रत्यक्ष प्रसारण भइरहेको तर कसैले वास्ता नगरेको इजरायलद्वारा गाजामा भइरहेको प्यालेस्टिनीहरूको जातीय संहारमात्र नभएर विगत १२ महिनामा भएका घटनाहरूले सबैभन्दा शक्तिशाली राष्ट्रहरूले अन्तर्राष्ट्रिय कानुनलाई त्याग्ने र बहुपक्षीय संस्थाहरूको बेवास्ता गर्ने कार्य गर्दा यो संसार धेरै मानिसहरूका लागि कति नारकीय बन्न सक्छ भन्ने उदाङ्ग पारिदिएको छ,’ उनले भनिन् । थोरैको हितका लागि संसारभरि अधिनायकवादी कानुन र अभ्यासमा वृद्धि भइरहेको यस ऐतिहासिक मोडमा सरकार र नागरिक समाजले मानवतालाई सुरक्षित स्थानतर्फ फर्काउनका लागि गम्भीरताका साथ काम गर्न आवश्यक रहेको उनको भनाइ छ ।

‘आफ्नो दोस्रो कार्यकालको सय दिन पूरा हुँदै गर्दा अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वव्यापी मानवअधिकारप्रति चरम घृणा देखाएका छन् । हाम्रो संसारलाई अझ बढी सुरक्षित र न्यायपूर्ण बनाउनका लागि तर्जुमा गरिएका अमेरिकी तथा अन्तर्राष्ट्रिय संस्था र पहलहरूलाई उनको सरकारले छिटोभन्दा छिटो र जानाजान यस्तो निशाना बनाएको छ,’ महासचिव आग्नेस कालामारले भनिन् ।

बहुपक्षीयता, शरण, जातीय तथा लैङ्गिक न्याय, विश्वव्यापी स्वास्थ्य र जीवनरक्षक जलवायु कार्यजस्ता अवधारणामाथि उनले गरेको व्यापक आक्रमणले यी सिद्धान्त र संस्थाहरूले पहिल्यैदेखि भोगिरहेका विशाल क्षतिलाई झन् गम्भीर बनाइरहेको जिकिर गर्दै उनले अन्य अधिकारविरोधी नेता तथा आन्दोलनहरूलाई समेत यस्तो आक्रमणमा सामेल हुन हौसला प्रदान गरिरहेको प्रस्ट पारिन् ।

उनले भनिन्, ‘तर हामी प्रस्ट हुनुपर्छ, यो विकृति राष्ट्रपति ट्रम्पका कार्यहरूभन्दा धेरै गहिरो छ । हामीले वर्षौँदेखि संसारका विभिन्न देशमा विनाशको यन्त्रका रूपमा स्वेच्छाले स्वतन्त्र काम गरिरहेका आकांक्षी र निर्वाचित नेताहरूबाट फैलाइएको अधिनायकवादी अभ्यासहरूको विस्तार क्रमिक फैलिँदै गइरहेको देखेका छौँ । जसै यी नेताहरूले हामीलाई अशान्ति र क्रूरताको नयाँ युगतर्फ तानिरहेका छन्, यस्तो समयमा स्वतन्त्रता र समानतामा विश्वास गर्ने हामी सबैले अन्तर्राष्ट्रिय कानुन र विश्वव्यापी मानवअधिकारमाथि चुलिँदै गएको चरम आक्रमणलाई सामना गर्न आफूलाई दृढ र कठोर बनाउनै पर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप