सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा : अर्थ मन्त्रालय र कर्मचारीबाट सहयोग भएन

मङ्गलबार, १६ वैशाख २०८२, १८ : ३५
मङ्गलबार, १६ वैशाख २०८२

हेटौँडा । बागमती प्रदेश सरकारको कार्य सम्पादनमा अर्थ मन्त्रालय र कर्मचारीका कारण समस्या भएको बताइएको छ । मङ्गलबार भएको छलफलमा अर्थ मन्त्रालय र कर्मचारीका कारण कार्य सम्पादनमा समस्या भएको बताइएको हो ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्माणका लागि बनेको दलीय कार्यदलको  आयोजनामा भएको समीक्षा बैठकमा सहभागी मन्त्रीहरूले कर्मचारी व्यवस्थापन समस्या हुँदा कार्य सम्पादन कमजोर भएको बताएका हुन् ।

उनीहरुले प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले अनावश्यक रूपमा फाइल रोक्ने काम गरेकाले काम अघि बढाउन समस्या भएको बताएका थिए ।छलफलमा भाग लिएका एक नेताका अनुसार अर्थ मन्त्रीले बजेट कार्यक्रम कार्यान्वयन तथा विभिन्न योजनाको फाइल स्वीकृतिका लागि पठाउँदा रोक्ने काम गरेको मन्त्रीहरूले गुनासो गरेका थिए ।

अर्थ मन्त्रालयबाट समयमा नै फाइलहरू स्वीकृत नहुँदा समस्या भएको मन्त्रीहरूले बताएको ती नेताले बताए ।‘धेरै मन्त्रीहरूको गुनासो र समस्या सुन्न आएको थियो । विषेशगरी अर्थ मन्त्रालयबाट सहयोग नभएको गुनासो बढी आयो । अर्थ मन्त्रालयले समयमा नै फाइलहरू स्वीकृत नगर्दा, लामो समयसम्म अड्काएर राख्दा समस्या भएको मन्त्रीहरूको गुनासो आएको थियो ।’ तीन नेताले भने, ‘विपद् व्यवस्थापन तथा अन्य योजनाहरूको रकमान्तर तथा बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा स्वीकृत गर्न प्रस्ताव तयार गरी पठाउँदा अर्थ मन्त्रीको गृह जिल्लामा कति बजेट पठाउने भन्दै बार्गेनिङ गरेको गुनासो आएको छ ।’

बजेट कार्यान्वयन तथा विकास निर्माणका काममा अर्थ मन्त्रीबाट सहज वातावरण तयार नभएको मन्त्रीहरूको गुनासो रहेको बैठकमा सहभागी अर्का एक सदस्यले बताए । 

बैठकमा अधिकांश मन्त्रीहरूले अर्थ मन्त्रीका कारण काम गर्न असहज भएको बताएको उनको भनाई छ । केही मन्त्रीहरू फाइल अघि नबढाएर जिल्ला केन्द्रित भएको र आफ्नो मन्त्रालयको काममा बाधा पुगेको भन्दै चर्काचर्कीमा उत्रिएको ती सदस्यले बताए । 

ती सदस्यका अनुसार अर्थ मन्त्रालयले यातायात मन्त्रालय, खेलकुद मन्त्रालय, कृषि मन्त्रालय, भौतिक मन्त्रालयको फाइल रोकेर अर्थ मन्त्रीको आलोचना गरेका थिए ।

बैठकमा कार्यदलमा सहभागी संसदीय दलका नेता तथा सचेतकहरूले पनि अर्थ मन्त्रीले मनोमानी ढङ्गबाट अघि बढेको बताएका थिए । उनीहरुले साझेदारी सरकारमा सहमति अनुसार अघि बढ्नु पर्ने भए पनि अर्थ मन्त्री फरक ढङ्गबाट चल्ने गरेको आरोप लगाएका थिए ।

बैठकमा मन्त्रीहरूले कर्मचारी व्यवस्थापन नहुँदा पनि काम गर्न समस्या भएको बताएका थिए । सङ्घीय सरकारले तारान्तर सचिवहरू फेर्ने, कर्मचारीहरू जिम्मेवार नबन्न, गम्भीरताका साथ काम नगर्ने समस्याका कारण कार्य सम्पादनमा कठिनाइ भएको बताएका थिए । 

बैठकमा आगामी आर्थिक वर्षको बजेट निर्माणमा तोकिएको सिलिङका सन्दर्भमा पनि मन्त्रीहरूले असन्तुष्टि व्यक्त गरेका थिए ।उक्त विषयमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले विगतका भएका कमीकमजोरी सुधार गरेर अघि बढ्ने बताएका थिए । बैठक पछि प्रतिक्रिया दिँदै मन्त्री काफ्लेले नीति नियम सङ्गत ढङ्गबाट मन्त्रालयहरूले काम गरेको बताए । 

प्रदेश सरकारले विगतको समस्या हल गर्दै आम नागरिकको हितमा काम गरेका उनले बताए । सरकारको रफ्तार निरन्तर बढी रहेको र सरकारका मन्त्रीको कार्य सम्पादन समग्रमा सन्तोषजनक रहेको बताएका थिए ।

उनका अनुसार सरकारले आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटलाई व्यवस्थित गर्ने विषयमा मन्त्रालयहरूले कमा गर्नुपर्ने धारणा आएको थियो । सरकारको राजस्व सङ्कलन, राजस्व चुहावट नियन्त्रणमा मन्त्रालय र कर्मचारीहरू गमिभर भएर लाग्नु पर्ने उनले बताए ।

विभागीय मन्त्रालयहरूको कार्य प्रगति र समस्याका विषय बैठकमा छलफल गरिएको मन्त्री काफलेका अनुसारले बताए । आगामी आर्थिक वर्षको बजेटको तालमेलको विषयमा मन्त्रालय, मन्त्री र दलका नेताहरू बिच छलफल गरिएको उनको भनाई छ ।

उनका अनुसार आर्थिक प्रगति प्राप्तिका लागि अर्थ मन्त्रालयले निर्देशनात्मक भूमिका खेलेको छ । साथै राजस्व चुहावटको विषयलाई लिएर विज्ञ समितिको प्रतिवेदनमाथि समीक्षा भएको छ ।

मन्त्रीहरूले कम बजेटमा पनि धेरै काम गर्नुपर्ने वाध्यात्मक परिस्थितिमा कर्मचारीहरू कार्यक्रम छुट्याएको रकम नै लुकाउन, मन्त्रीहरूलाई जानकारी नै नदिई कार्यक्रमहरू सञ्चालन गर्ने, अनुकूलतामा योजनाहरू सञ्चालन अग्रसर भएको आरोप लगाएका थिए । 

मन्त्रालयका कर्मचारीहरू नागरिकको माग र आवश्यकता भन्दा पनि आफ्नो सहजतामा काम गर्ने प्रवृत्तिमा अघि बढेको मन्त्रीहरूले बताएका थिए ।समीक्षा बैठकमा हालसम्म प्रदेश सरकारले सम्पादन गरेका काम कारबाही, आगामी नीति योजना, मन्त्रालयगत प्रगति र मुख्यतया बजेट सीमाका विषयमा छलफल गरिएको कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले बताए ।

उपनेता चित्रकारका अनुसार पछिल्लो समय सरकारको भौतिक तथा वित्तीय प्रगति वृद्धि भइरहेको छ । सरकारको बजेट रकम हरेक आर्थिक वर्षमा घटिरहेको अवस्थामा नागरिक केन्द्रित भएर आगामी बजेटलाई कसरी बढाउने भन्ने विषयमा छलफल गरिएको उनले बताए । 

मन्त्रालयले लक्ष्य अनुरूपको राजस्व रकम उठाउन कसरी पहलकदमी चाल्न निर्देशन गरिएको उनले बताए । बैठकले चालू आर्थिक वर्षको चैत सम्ममा बागमतीमा सरकारको कार्यसम्पादन सन्तोषजनक रहेको निष्कर्ष निकालेको उनले बताए ।

बैठकमा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा सहित १३ जना मन्त्री, एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकार, प्रमुख सचेतक गोविन्द लम्साल, एमाले संसदीय दलका सचेतक मदुसुदन पौडेल लगायतको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप