केही घण्टाकै अन्तरमा चुँडियो इतिहास रच्ने दुई हस्तीको सपना
काठमाडौँ । समकालीन विश्व फुटबलका दुई महान् खेलाडी हुन्, अर्जेन्टिनी ‘आइकन’ लियोनल मेस्सी र पोर्चुगिज ‘स्टार’ क्रिस्टियानो रोनाल्डो । वर्तमान विश्व फुटबलका थुप्रै कीर्तिमान यी दुई महान् खेलाडीको नामसँग जोडिएका छन् ।
त्यसैले अहिले पनि विश्व फुटबलमा यी दुवै स्टार खेलाडीका करोडौँ समर्थक छन् । यद्यपि, अहिले यी दुवै खेलाडी कुनै चर्चित क्लबमा आबद्ध छैनन् । ३७ वर्षीय मेस्सी अमेरिकी क्लब इन्टर मियामीबाट र ४० वर्षीय रोनाल्डो साउदी अरेबियन क्लब अल–नासरबाट व्यावसायिक फुटबल खेल्छन् ।
तर, समयको कुनै कालखण्डमा यी दुवै स्टार खेलाडी एउटै लिगमा सक्रिय थिए । त्यतिबेला यी दुई प्रभावशाली खेलाडीको प्रतिद्वन्द्विता हेर्नलायक थियो । मेस्सी स्पेनिस क्लब बार्सिलोनाबाट खेल्थे भने रोनाल्डो स्पेनकी रियल म्याड्रिडमा आबद्ध थिए ।
मेस्सी र रोनाल्डोमा एउटा फरक भने देखिन्छ । मेस्सीले आफ्नो व्यावसायिक खेल जीवनको अधिकांश समय बार्सिलोनामै बिताए भने रोनाल्डो रियल म्याड्रिडका अतिरिक्त पोर्चुगिज लिग, इङ्लिस प्रिमियर लिग, इटालियन सिरिए लगायतका विश्वका अन्य चर्चित लिगमा पनि सक्रिय भए ।
मेस्सीले सन् २००४ देखि सन् २०२१ सम्म बार्सिलोनाबाट खेलेका थिए । उनले व्यावसायिक खेल जीवनको सुरुवात नै बार्सिलोनाबाटै गरेका हुन् । त्यसपछि उनी सन् २०२१ मा बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) तर्फ हानिए भने सन् २०२३ मा पीएसजीबाट इन्टर मियामीमा आबद्ध हुन पुगे ।
रोनाल्डोले भने सन् २००९ देखि सन् २०१८ सम्म रियल म्याड्रिडबाट खेलेका थिए । तर, उनले त्यसअघि नै पोर्चुगिज क्लब स्पोर्टिङ सीपी र इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट खेलिसकेका थिए ।
त्यसपछि उनी सन् २०१८ मा रियल म्याड्रिड छाडेर इटालियन क्लब युभेन्ट्समा आबद्ध भए । करिब तीन वर्ष युभेन्ट्समा बिताएर उनी पुनः आफ्नो पुरानै क्लब म्यानचेस्टर युनाइटेडसँग जोडिन पुगे भने सन् २०२३ मा साउदी व्यावसायिक लिग खेल्न अल–नासरमा आबद्ध भए ।
गौरवशाली इतिहास बोकेका यी दुई खेलाडी पछिल्लो समय भने कुनै चर्चित क्लबमा आबद्ध छैनन् । विश्व क्लब फुटबलमा पटक–पटक सबैजसो ठुला प्रतियोगिताको उपाधिको स्वाद चाखिसकेका मेस्सी र रोनाल्डोलाई विगत केही वर्षयता क्लबस्तरीय प्रतिष्ठित प्रतियोगितामा देख्न पाइँदैन ।
मेस्सीको वर्तमान क्लब इन्टर मियामी र रोनाल्डोको क्लब अल–नासर यतिबेला विश्व क्लब फुटबलमा आफूलाई स्थापित गर्न सङ्घर्षरत छन् । अनि, यी दुवै क्लबले आफ्नो सपना साकार पार्ने दायित्व पनि समकालीन विश्व फुटबलका यी दुई महान् खेलाडीकै काँधमा सुम्पिएका छन् ।
जारी सिजनमा मेस्सी र रोनाल्डो दुवैको टोलीले दुई फरक प्रतियोगिताको उपाधि जित्ने अनुमान गरिएको थियो । इन्टर मियामी र अल–नासर दुई फरक प्रतियोगिताको सेमिफाइनलसम्म पनि पुगिसकेका थिए ।
दुर्भाग्य, यी दुवै स्टार खेलाडीको क्लब क्रमशः इन्टर मियामी र अल–नासरको उपाधि सम्भावना केवल केही घण्टाको अन्तरमा सेमिफाइनल चरणमै चकनाचुर बन्न पुग्यो । रोनाल्डो आबद्ध अल–नासर बुधबार राति खेलिएको एएफसी च्याम्पियन्स लिगको उपाधि होडबाट बाहिरिन पुग्यो ।
सेमिफाइनलमा रोनाल्डोको टोली अल–नासरलाई जापानी क्लब कावासाकी फ्रन्टेलले स्तब्ध पार्यो । जापानी क्लबले सेमिफाइनल खेलमा अल–नासरलाई ३–२ गोलले पराजित गरेको हो । रोनाल्डो र उनका असङ्ख्य समर्थकका लागि त्यो निकै दुर्भाग्यपूर्ण क्षण थियो ।
यसैगरी, त्यसको केही घण्टापछि नै मेस्सी आबद्ध इन्टर मियामी पनि जारी सिजनको कनकाकाफ च्याम्पियन्स कपको उपाधि होडबाट बाहिरिन पुग्यो । सेमिफाइनल खेलमा इन्टर मियामीलाई क्यानेडियन क्लब भानकुभर ह्वाइटक्याप्सले स्तब्ध पार्यो ।
इन्टर मियामी बिहीबार बिहान सम्पन्न सेमिफाइनलको दोस्रो लेग खेलमा भानकुभर ह्वाइटक्याप्ससँग १–३ गोलले पराजित भएको हो । सेमिफाइनलको दोस्रो लेग खेल इन्टर मियामीकै घरेलु मैदानमा खेलिएको थियो ।
इन्टर मियामी भानकुभर ह्वाइटक्याप्स १–५ कुल गोल भिन्नताका आधारमा पराजित भएको थियो । त्यसअघि, भानकुभर ह्वाइटक्याप्सको घरेलु मैदानमा खेलिएको सेमिफाइनलको पहिलो लेग खेलमा पनि इन्टर मियामी ०–२ गोलले पराजित भएको थियो । यसरी आफ्नो नयाँ क्लबका लागि महत्वपूर्ण उपाधि जितेर अर्को इतिहास रच्ने यी दुई खेलाडीको सपना केही घण्टाको अन्तरालमा भताभुङ बन्न पुग्यो ।
आठपटकका बालन डी’ओर विजेता मेस्सी र यही सम्मान पाँच पटक हात पारेका रोनाल्डोबिच जोडिएको यो अर्को रमाइलो संयोग पनि हो । यसअघि पनि यी दुई खेल नायकसँग धेरै संयोग जोडिएका थिए ।
यी दुबैले विश्वका चर्चित क्लबबाट थुप्रै उपाधि जिते, यी दुबैले एकै वर्ष आफ्नो पुरानो क्लब परित्याग गरे, यी दुवै हस्ती पटक–पटक बोलन डी’ओर अवार्डमा एक–अर्काका प्रतिद्वन्द्वी पनि बने र पछिल्लो समय यी दुवै स्टार खेलाडी विश्व फुटबलमा खासै नाम नचलेको क्लबसँग जोडिन पुगे ।
अहिले आएर फेरि यी दुवै प्रभावशाली खेलाडीको क्लब केवल केही घण्टाको अन्तरमा दुई ठुला प्रतियोगिताको उपाधि होडबाट बाहिरिन पुग्यो, त्यो पनि सेमिफाइनल चरणबाटै ।
व्यावसायिक खेल जीवनको कुरा गर्दा मेस्सीले हालसम्म बार्सिलोनाबाट १० पटक ला लिगाको उपाधि चुमेका छन् भने रोनाल्डोले रियल म्याड्रिडलाई दुई पटक ला लिगाको उपाधि चुमाए । रोनाल्डोले आफ्नो व्यावसायिक खेल जीवनमा विभिन्न क्लबबाट पाँच पटक च्याम्पियन्स लिगको उपाधि कुम्ल्याए भने यही उपाधि मेस्सीले चार पटक जिते ।
रोनाल्डोले चार पटक रियल म्याड्रिडबाट र एक पटक म्यानचेस्टर युनाइटेडबाट च्याम्पियन्स लिग जितेका हुन् भने मेस्सीले चार पटक नै बार्सिलोनालाई च्याम्पियन्स लिग जिताएका हुन् । स्पेन बाहिर मेस्सीले पेरिस सेन्ट जर्मन (पीएसजी) लाई दुई पटक फ्रेन्च लिगको उपाधि जिताए भने रोनाल्डोले युभेन्ट्सलाई दुई पटक इटालियन सिरिएको र म्यानचेस्टर युनाइटेडलाई तीन पटक प्रिमियर लिगको उपाधि दिलाए ।
यसैगरी मेस्सीले सात पटक कोपा डेल रेको उपाधिको स्वाद चाखे भने रोनाल्डोले दुई पटक कोपा डेल रे, एक पटक कोपा इटालिया, दुई पटक इङ्लिस लिग कप र एक पटक एफए कपको उपाधि जिताउन आफ्नो क्लबलाई सहयोग पुर्याए ।
यसैगरी आफ्नो व्यावसायिक खेल जीवनमा मेस्सीले नौ पटक र रोनाल्डोले सात पटक आफ्नो क्लबलाई घरेलु सुपर कपको उपाधि दिलाए । रोनाल्डोले रियल म्याड्रिडलाई तीन पटक यूईएफए सुपर कपको उपाधि चुमाए भने मेस्सीले पनि तीन पटक नै यो उपाधि बार्सिलोनालाई दिलाए ।
क्लब विश्वकपको मामलामा भने मेस्सीभन्दा रोनाल्डो अगाडि रहे । रोनाल्डोले चार पटक र मेस्सीले तीन पटक आ–आफ्नो क्लबको तर्फबाट फिफा क्लब विश्वकपको उपाधि जिते । रोनाल्डोले रियल म्याड्रिडबाट सन् २०१४, सन् २०१६ र सन् २०१७ तथा म्यानचेस्टर युनाइटेडबाट सन् २००८ मा क्लब विश्वकप जितेका थिए ।
मेस्सीले भने सन् २००९, सन् २०११ र सन् २०१५ मा बार्सिलोनालाई क्लब विश्वकपको उपाधि चुमाएका थिए । मेस्सीले सन् २०२३ मा अमेरिकी क्लब इन्टर मियामीलाई लिग्स कपको उपाधि दिलाएका थिए भने रोनाल्डोले पनि सन् २०२३ मै अल–नासरलाई अरब क्लब च्याम्पियन्स कपको उपाधि चुमाएका थिए ।
पछिल्लो समय समकालीन विश्व फुटबलका यी दुई महान् खेलाडी आ–आफ्नो क्लबलाई सफलताको नयाँ उचाइमा पुर्याउन सङ्घर्षरत छन् । उनीहरूकै सुनौलो इतिहास र लोभलाग्दो लोकप्रियताका कारण चर्चित बन्न पुगेका इन्टर मियामी र अल–नासरले हासिल गर्ने सफलता पनि यी दुई खेलाडीकै प्रदर्शनमा भर पर्ने निश्चित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण