शनिबार, २० वैशाख २०८२
ताजा लोकप्रिय

‘अनटेस्ट’ मोटरसाइकल छोएको निहुँमा सिराहामा खुकुरी प्रहार, तीनजना पक्राउ

शुक्रबार, १९ वैशाख २०८२, ०९ : ५६
शुक्रबार, १९ वैशाख २०८२

सिराहा । आफ्नो ‘अनटेस्ट’ मोटरसाइकल छोएको निहुँमा सिराहामा खुकुरी प्रहारको घटना सार्वजनिक भएको छ । यही १७ गते सिराहाको लहान नगरपालिका ३ दंग्राहा टोलमा ‘अनटेस्ट’ मोटरसाइकल छोएको विषयमा विवाद हुँदा खुकुरी प्रहारको भएको सिराहा प्रहरीले जानकारी दिएको छ ।

सोही ठाउँ बस्ने २७ वर्षीय देवकुमार महतोले आफ्नो नयाँ मोटरसाइकल छोएको भन्दै उनीमाथि खुकुरी प्रहार गरिएको सिराहा प्रहरी प्रवक्ता वीरेन्द्र पासवानले बताए ।  उनका अनुसार बुधबार साँझको उक्त घटना हो, त्यही दिन देवकुमार महतोले मोटरसाइकल छोएका थिए । 

डिएसपी पासवान भन्छन्, ‘किन आफ्नो मोटरसाइकल छोएको भन्दै मोटरसाइकल धनी मनिष महतोसहितका घरपरिवारले सुरुमा वादविवाद गरे, त्यो उग्ररुप लिन थालेपछि मनिषका श्रीमती, भाइ र आमासहितकाले देवलाई लछारपछार गर्दै निर्घात कुटपिट गर्न थाले । यही बेला मोटरसाइकल धनी मनिषका भाइ मुकेश महतोले खुकुरी प्रहार गरे, जसबाट देव घाइते भएका हुन् ।’

प्रहरीका अनुसार देवकुमार घाइते भई हाल प्रादेशिक अस्पताल सिराहामा उपचाररत छन्। उनको टाउको, घाँटी र ढाडमा चोट लागेका सिराहा प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले मनिषसहित उनका बुवा दिवस महतो र आमा सिता देवीलाई पक्राउ गरिसकेको जनाएको छ । खुकुरी प्रहार गर्ने मुकेश भने अहिलेसम्म फरार रहेको सिराहा प्रहरीले जनायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप