शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
स्मृति

बहुआयामिक प्रदीप नेपाल उर्फ सञ्जय थापा

खरो स्वभाव, प्रस्ट वक्ता र तार्किक व्यक्तित्व
मङ्गलबार, २३ वैशाख २०८२, २१ : २०
मङ्गलबार, २३ वैशाख २०८२

काठमाडौँ । राजनीति, साहित्य र पत्रकारिताको पृष्ठभूमि बोकेका वामपन्थी नेता प्रदीप नेपालको ७१ वर्षको उमेरमा निधन भएको छ । एक दशकयता पार्किन्सन्स रोगसँग लडिरहेका नेपाल मंगलबार त्यही रोगसँग हारे । 

नेपालको भौतिक शरीर नरहे पनि उनले नेपालको वामपन्थी राजनीति, प्रगतिशील साहित्य र पत्रकारिता क्षेत्रमा अमिट छाप छाडेका छन् । सायद त्यसैले धेरैले नेता नेपालको मृत्युअघिको ‘इच्छापत्र’ स्मरण गर्न बाध्य भए । ‘इच्छापत्र’मा उनले आफ्नो मृत्युपछि माला, झण्डा र सलामी नचाहिने घोषणा गरेका थिए ।

नेपालको इच्छा अनुसार नै उनको मृत्युमा कुनै पार्टीको झण्डा ओढाइएन । यद्यपि, सरकारले भने उनलाई राष्ट्रिय झण्डा ओढाएर सलामी अर्पण गरेको थियो । कोअर्डिनेसन केन्द्र, माले र नेकपा एमाले हुँदै वामपन्थी राजनीति गरेका नेपाल रोगले च्यापेसँगै राजनीतिबाट झण्डै एक दशकदेखि निष्क्रिय रहन पुगेका थिए ।  

स्पष्ट वक्ता, तार्किक व्यक्तित्व र कुशल संगठकका रूपमा परिचित प्रदीप नेपाल उर्फ सञ्जय थापा निर्णय क्षमतामा समेत अब्बल मानिन्थे । नेपाली राजनीतिमा प्रदीपको प्रचार शैलीलाई समेत धेरैले अनुसरण गर्ने गरेका छन् ।

तत्कालीन नेकपा एमालेको प्रचार विभाग प्रमुख रहँदा नेपालले अपनाएको प्रचार शैलीको प्रभावकारिता बढेपछि अन्य पार्टीले समेत पार्टीमा प्रचार विभागको महसुस गर्न बाध्य भएको एमाले केन्द्रीय सदस्य समेत रहेका विष्णु रिजाल स्मरण गर्छन् ।

२०५५ पछि नेकपा एमालेको प्रचार विभाग प्रमुखको जिम्मेवारीमा रहँदा हाल एमालेका स्थायी कमिटी सदस्य रहेका राजेन्द्र गौतम प्रचार विभागको सचिवको जिम्मेवारीमा रहेका थिए । प्रमुखको हैसियतमा गौतमले नेपालसँग समीपमा रहेर ५ वर्ष काम गरेका थिए ।

पूर्वमन्त्री समेत रहेका नेपाललाई राजनीतिक पाटोबाट मात्र बुझ्दा उनीमाथि अन्याय हुने गौतमको भनाई छ । ‘उहाँ कुशल संगठक, निर्णायक क्षमताका धनी, खरो र प्रस्ट स्वभाव, विलक्षण लेखन क्षमताका धनी’, गौतमले स्मरण गरे, ‘कुनै पनि काम गर्छु भनेपछि गरेरै छाड्ने स्वभाव थियो । तर हुन्न भनेपछि हुँदैन थियो ।’

त्यसो त प्रदीप पार्टीमा आफू नेता र अरू कार्यकर्ता हुन् भन्ने व्यवहार गर्दैन थिए । ‘उहाँसँग काम गर्ने साथीभाइ कसैले पनि नेता र कार्यकर्ताको अनुभव गर्दैन थिए । उहाँ सबैको कमरेड हुनुहुन्थ्यो,’ गौतम भन्छन्, ‘पार्टीको जटिल काम पनि गर्न अघि सर्ने र रिस्क मोल्न सक्ने नेता हुनुहुन्थ्यो ।’

त्यही कारण प्रदीपलाई बहुआयममा बुझ्नुपर्ने बताउँछन् गौतम । ‘पहिलो आयाम राजनीति हो भने दोस्रो आयाम लेखनतर्फ साहित्य सिर्जना हो । उहाँका झण्डै ४५ वटा साहित्य सिर्जना लिखित कृति रहेका छन्’, गौतमले भने । सञ्जय थापाको नामबाट प्रदीपले देउमाईको किनारमा, पूर्वतिर, पार्टीकी आमा, एक्काइसौँ शताब्दीकी सुम्निमा, आकाशगंगाको तीरैतीर, खुइते कडेरिया जस्ता कृति लेखेका थिए ।

 ‘भूमिगत कालमा सञ्जय थापा र बाहिर निस्केपछि प्रदीप नेपालका नाममा उपन्यास, संस्मरण र कविता लेखेका नेपालले हजारौँको संख्यामा विभिन्न पत्रपत्रिकामा लेखहरू लेखेका थिए ।

‘सिद्धहस्त लेखकका रूपमा परिचित नेता नेपालले साहित्यिक सिर्जनामा खेलेको भूमिकालाई अलग राखेर उहाँको प्रगतिशील आन्दोलन अघि बढ्दैन । त्यसको वस्तुनिष्ठ समीक्षा र समालोचना गर्न जरुरी हुन्छ भन्ने लाग्छ’, गौतमको बुझाई छ ।

२०५१ सालमा पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको नौ महिना सरकारमा सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारी पाएका नेपालले त्यसपछि विभिन्न समयमा स्वास्थ्य जलश्रोत र शिक्षा मन्त्रालयको समेत जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए ।

पार्टी जिम्मेवारी र कम्युनिस्ट आचरणबाट कति पनि विचलित नहुने स्वभावका नेपाल २०३३ सालमा नख्खु जेल ब्रेकरमध्येमा पनि पर्छन् ।

कांग्रेस नेता कृष्णप्रसाद भट्टराई, माले नेता सीपी मैनाली, गोपाल शाक्य, नारद वाग्ले, वीरबहादुर लामा, भीष्म धिमाल लगायत नेताहरूले ०३३ को राति जेलब्रेक गरेका थिए । त्यही विद्रोही स्वभाव उनमा पछिसम्म नै रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

हालका एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, वामदेव गौतम वा कांग्रेसका तत्कालीन नेता गिरिजाप्रसाद कोइरालाको समेत स्वस्थ आलोचना गर्न डराउँदैन थिए, नेपाल ।

२०५५ सालतिर एमाले पार्टीको प्रचार विभाग प्रमुख बनेका नेपालकै कार्यकायलमा हाल नेकपा एमालेले सञ्चालन गरेको सीपीएन यूएमएल ओआरजी नामक वेबसाइट दर्ता भएको थियो ।

पार्टी जीवनमा सक्रिय रहेका बेला ०६५ सालमा नेकपा एमालेको महासचिव पदमा प्रतिस्पर्धा गरेका नेपाल हालका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग पराजित बनेका थिए ।

२०२६ सालदेखि वामपन्थी राजनीतिमा लागेका प्रदीप २०३५ मा नेकपा मालेकातर्फबाट संगठन विस्तारमा खटिएका थिए । २०४७ सालमा नेकपा माले र माक्र्सवादीको एकता भएर एमाले बनेपछि उनी पनि एमाले बनेका थिए । २०४९ सालको पाँचौँ महाधिवेशनमा केन्द्रीय कमिटीमा प्रदीप नअटाएपछि महाधिवेशनपछि बसेको बैठकमा मदन भण्डारीको प्रस्तावमा एमाले केन्द्रीय सदस्य बनेका थिए ।

२०४९ सालको स्थानीय चुनावपछि राष्ट्रियसभा सांसद भएका प्रदीप २०५४ सालमा वामदेव गौतम, सीपी मैनालीलगायतले एमाले पार्टी फुटाएर अलग पार्टी माले बनाएपछि उनले (बासी) अर्थात् बामदेव सीपी गुटको संज्ञा दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप