शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘अपरेसन सिन्दूर’ बारे भारतीय विदेश सचिवले के भने ?

बुधबार, २४ वैशाख २०८२, १७ : ४४
बुधबार, २४ वैशाख २०८२

काठमाडौँ । भारतले बुधबार बिहान पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको छ । 

बुधबार बिहान भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले पत्रकार सम्मेलनमा भारतीय सशस्त्र बलले ६–७ मे २०२५ को राति १ः०५ देखि १ः३० बजेको बिचमा ’अपरेसन सिन्दूर’ चलाएको बताएकी छन् । 

आक्रमणबारे भारतीय विदेश सचिव विक्रम मिस्रीले पनि जानकारी साझा गरेका छन् । 

यस्तो छ उनको भनाई 

यहाँहरू सबैलाई विदितै छ, यही अप्रिल २२ गते लस्कर–ए–तैयबासँग जोडिएका पाकिस्तानी र पाकिस्तानद्वारा प्रशिक्षित आतङ्ककारीहरूले भारतको जम्मू र कश्मीरको पहलगाममा भारतीय पर्यटकहरूमाथि बर्बरतापूर्वक आक्रमण गरेका थिए । 

उनीहरूले एक नेपाली नागरिक सहित २६ जनाको हत्या गरेका थिए जसमा सन् २००८ नोभेम्बर २६ मा मुम्बईमा भएको हमला पछि भारतमा भएको आतङ्कवादी हमलामा सबैभन्दा धेरै नागरिक हताहत भएका थिए । 

पहलगाम आक्रमण चरम बर्बरताले भरिएको थियो जसमा धेरै जसो पीडितहरूलाई उनीहरूको परिवारको सामुन्ने र निकै नजिकबाट टाउकोमा गोली हानी हत्या गरिएको थियो । हत्यामा अपनाइएको तरिकाले परिवारका सदस्यहरूलाई जानाजान आघात पुर्‍याइएको थियो, साथै उनीहरूलाई सन्देश बोकी जान भनी उपदेश दिइएको थियो ।

यो आक्रमण स्पष्ट रूपमा जम्मू र कश्मीरमा फर्किरहेको सामान्य अवस्थालाई कमजोर पार्ने उद्देश्यले गरिएको थियो । विशेष गरी यो हमला गत वर्ष २३ मिलियन पर्यटकले भ्रमण गरेको रेकर्ड रहेको यस उपत्यकाको अर्थतन्त्रको मुख्य आधार पर्यटनलाई असर गर्ने उद्देश्यले डिजाइन गरिएको थियो । 

खास गरी यहाँको विकास र गतिलाई हानी पुर्‍याए यसले यस क्षेत्रलाई सधैँ पछाडि पारिराख्ने र पाकिस्तानबाट हुने निरन्तर सीमापार आतङ्कवादका लागि उर्बर भूमि निर्माण गर्न मद्दत गर्ने उनीहरूको आकलन थियो । 

जुन तवरले आक्रमण गरिएको थियो त्यसको उद्देश्य नै दुवै जम्मू र कश्मीर र बाँकी देशमा कलह भड्काउने उद्देश्यले गरिएको थियो । यी योजनाहरू विफल हुनुमा सरकार र भारतका जनतालाई श्रेय जान्छ । 

आफूलाई ‘द रेसिस्टेन्स फ्रन्ट’ (टीआरएफ) भनी चिनाउने समूहले सो आक्रमणको जिम्मा लिएको छ । यो समूह संयुक्त राष्ट्र संघद्वारा प्रतिबन्धित पाकिस्तानी आतङ्कवादी समूह, लस्कर–ए–तैयबाको लागि काम गर्ने एक मोर्चा हो । 

उल्लेखनीय छ कि भारतले सन् २०२४ मे र नोभेम्बरमा संयुक्त राष्ट्र संघको १२६७ प्रतिबन्ध समितिको अनुगमन टोलीलाई अर्धवार्षिक प्रतिवेदनमा पाकिस्तानमा रहेका आतङ्कवादी समूहका लागि काम गर्ने टीआरएफ बारे जानकारी दिएको थियो । यसअघि पनि, सन् २०२३ डिसेम्बरमा भारतले अनुगमन टोलीलाई टीआरएफ जस्ता साना आतङ्कवादी समूहहरूमार्फत लस्कर–ए–तैयबा र जैश–ए–मोहम्मदले काम गरिरहेको बारेमा जानकारी गराएको थियो । यस सन्दर्भमा अप्रिल २५ मा संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रेस विज्ञप्तिमा टीआरएसँग सम्बन्धित प्रसङ्ग हटाउन पाकिस्तानले दिएको दबाब उल्लेखनीय छ । 

पहलगाम आतङ्कवादी आक्रमणको अनुसन्धानले आतङ्ककारीहरुको पाकिस्तानमा र पाकिस्तानसँग सम्पर्क रहेको देखाएको छ । द रेसिस्टेन्स फ्रन्टले गरेका दाबी र लस्कर–ए–तैयबाको सामाजिक सञ्जाल ह्यान्डलहरूबाट गरिएको रिपोस्टले पनि यसलाई पुष्टि गरेको छ । प्रत्यक्षदर्शीहरूको बयान र कानुनी निकायहरूसँग उपलब्ध अन्य जानकारीको आधारमा आक्रमणकारीहरूको पहिचान जस्ता कार्यहरू अघि बढिसकेका छन् । हाम्रा गुप्तचर निकायले यस टिमका लागि काम गर्ने योजनाकार र समर्थकहरूको वास्तविक तस्बिर पनि फेला पारिसकेको छ ।  

यस आक्रमणका विशेषताहरू पाकिस्तानले भारतमा गर्ने सीमापार आतङ्कवादको लामो ट्रयाक रेकर्डसँग पनि सम्बन्धित रहेका छन् जसलाई राम्रोसँग अभिलिखित गरिएको छ र ती प्रश्नभन्दा बाहिर रहेका छन् ।

विश्वभरका आतङ्ककारीहरूका लागि आश्रयस्थलको रूपमा पाकिस्तान कहलिएको छ र अन्तर्राष्ट्रिय रूपमा प्रतिबन्धित आतङ्ककारीहरू दण्डको डर नबोकी बसिरहेका छन् । यसका साथै यस विषयमा विश्वलाई तथा वित्तीय कार्यवाही कार्यदल जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूलाई जानाजानी भ्रमित गर्ने कुरामा पाकिस्तान परिचित रहेको छ । 

यसको सबैभन्दा ज्वलन्त उदाहरण साजिद मीरको मुद्दा हो जसमा उक्त आतङ्ककारीलाई मृत घोषित गरिएको थियो र पछि अन्तर्राष्ट्रिय स्तरबाट दबाब आएपश्चातको प्रतिक्रियामा पुनर्जीवित पारिएको थियो र त्यसपछि जीवित फेला पारी पक्राउ गरिएको थियो ।

पछिल्लो समयमा पहलगाममा भएको आक्रमणले जम्मू कश्मीर र भारतका अन्य भागहरूमा समेत गहिरो आक्रोश उत्पन्न गरेको छ ।

उक्त आक्रमणपश्चात् भारत सरकारले पाकिस्तानसँगको आफ्नो भूमिकासँग सम्बन्धित रहेर प्रारम्भिक कदमहरूका साथ स्वाभाविक रूपमा प्रतिक्रिया दिएको छ । यहाँहरू सबैलाई अप्रिल २३ गते घोषणा गरिएका निर्णयहरू बारे थाहा नै छ ।

यद्यपि अप्रिल २२ गतेको आक्रमणका दोषी र योजनाकारहरूलाई न्यायको कठघरामा ल्याउनु आवश्यक थियो । आक्रमण भएको दुई साता बितिसक्दा पनि पाकिस्तानबाट आफ्नो भूभाग वा आफ्नो नियन्त्रणमा रहेको भूभागमा रहेको आतङ्कवादी पूर्वाधार विरुद्ध कारबाही गर्न कुनै ठोस कदम चालिएको छैन ।

त्यसको सट्टा उसले अस्वीकार र आरोप मात्र लगाएको छ । हाम्रो गुप्तचरले पाकिस्तानमा रहेका आतङ्कवादी मोड्युलहरुको अनुगमनपछि भारत विरुद्ध थप आक्रमणहरू हुने संकेत गरेको थियो । तसर्थ यसलाई रोक्नु र यस विरुद्ध पूर्वतयारी गर्नु दुवै हाम्रा लागि बाध्यता थियो ।

यहाँहरूलाई थाहा भएकै होला कि आज बिहानै भारतले यस्ता सीमापार आक्रमणहरू विरुद्ध प्रतिक्रिया दिने, पूर्वतयारी गर्ने र यसलाई रोक्ने आफ्नो अधिकारको प्रयोग गरेको छ । यी कार्यहरू आकलित, नभड्किने खालका, आनुपातिक र जिम्मेवारीपूर्ण थिए । यी कार्यहरू आतङ्कवादी पूर्वाधारलाई ध्वस्त पार्ने तथा भारत पठाइने सम्भावित आतङ्ककारीहरूलाई निमिट्यान्न पार्ने कुरामा केन्द्रित थिए ।

यहाँहरूलाई याद होला कि सुरक्षा परिषद्ले यही अप्रिल २५ गते पहलगाम आतङ्कवादी हमलाको बारेमा एक प्रेस विज्ञप्ति जारी गरेको थियो । 

त्यसलाई यहाँ मैले उद्धृत गरेको छु, “यस निन्दनीय आतङ्कवाद कार्यका दोषी, योजनाकार, यसलाई आर्थिक र अन्य तवरले सघाउ पुर्‍याउनेहरूलाई जवाफदेही बनाउने र न्यायको कठघरामा उभ्याउने आवश्यकता रहेको छ”। भारतले गरेको पछिल्लो कार्यलाई यसै सन्दर्भमा हेरिनुपर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप