बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : फिल्मसिटीको अन्योल

फिल्मसिटीमा लगानी अन्योल : काभ्रेले उत्साहित बनाउँदा, ‘दोलखा’ले निराश

आइतबार, २८ वैशाख २०८२, ०९ : ५३
आइतबार, २८ वैशाख २०८२

काठमाडौँ । स्क्रिप्ट फाइनल भएपछि चलचित्रकर्मीमा एउटा टेन्सन सुरु हुन्छ । फिल्ममा देखाइने प्रहरी स्टेसन, अस्पताल, कलेजजस्ता आउडोर र इन्डोरका लागि आवश्यकताअनुसार घर कहाँ पाइएला ? यस्ता दृश्यहरू एकै ठाउँमा भेट्न त मुस्किल छँदै छ, फरकफरक ठाउँमा समेत भनेका वेला र खोजेको जस्तो पनि नपाइने अर्को समस्या छ । 

आवश्यकताअनुसार सेट लगाउने पर्याप्त स्पेस भएका मल्टिकास्टिङ काम गर्न सकिने एउटै पनि स्टुडियो नेपालमा छैन ।  

तर नेपालमा सुटिङका लागि स्टुडियो नखुलेका भने होइनन् । बुढानीलकण्ठमा ‘मह,’ बालाजुमा ‘एनएपडीसी,’ अनामनगरमा ‘नूतन,’ ललितपुरको टीकाथलीमा ‘बोगटी,’ ललितपुरको च्यासलमा राजु पेन्टरको, नक्खुमा ‘भैँसेपाटी स्टुडियो,’ भैँसेपाटीमै ‘स्टुडियो फोर,’ नेपाल आइडल छायांकन गर्ने टोखा र साँखुमा पनि स्टुडियो छन् । तर यी एउटा सिंगोको सामान्य दृश्य खिच्न पनि पर्याप्त छैनन् । 

बालाजुको एनएपडीसी अहिले फुल क्यापासिटीमा छैन । त्यसको जग्गा भाडामा लगाएपछि साँघुरिँदै गएको छ । जहाँ एउटा सामान्य दृश्य छायांकन गर्न सकिँदैन । 

अनामनगरको नूतन स्टुडियो र ललितपुरको टीकाथलीको बोगटी स्टुडियो त बन्द नै भइसके । अन्य सानातिना र पर्याप्त स्पेस नभएका स्टुडियोले फिल्म धान्दैन । तीमध्ये पनि केहीमा टेलिभिजनहरूको कार्यक्रम खिच्नै भिड लाग्छ । 

अर्थात् नेपालमा भएका कुनै पनि स्टुडियोमा फिल्मका लागि आवश्यकताअनुसार सेट लगाउन सकिँदैन । 

सरकारले काभ्रेमा ठुलो स्टुडियो निर्माण गर्ने भएपछि चलचित्रकर्मी उत्साहित भए । तर यो उत्साह दोलखाको फिल्मसिटीजस्तो नहोस् भन्नेमा सबै चिन्तित छन् । त्यसैले सबैको मनमा अहिले एउटै प्रश्न छ, सरकारले निर्माण गर्ने स्टुडियो कहिले प्रयोग गर्न पाइन्छ ?

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी काभ्रेमा निर्माण हुने स्टुडियो दसैँपछि प्रयोगमा आउने र फिल्मकर्मीले काम गर्न सक्ने बताउँछन् ।

‘काभ्रेको स्टुडियोको लागि फुलफेजको बजेटको व्यवस्था भएको छैन,’ डिसी भन्छन्, ‘तर पनि प्रयोग गर्ने हिसाबले दसैँसम्म आउँछ ।’ दसैँसम्म काभ्रे स्टुडियोमा एउटा ठुलो डिजिटल अत्याधुनिक पर्दासहित ठुलो कभर्ड हल र केही संरचना बनेर प्रयोगमा आउने उनी दाबी गर्छन् । 

डिसीका अनुसार स्टुडियो निर्माणका लागि ठेकेदार कम्पनीसँग सम्झौता भइसकेको छ । 

  • कसरी सुरु भयो काम ? 

काभ्रेमा फिल्म स्टुडियो निर्माणको बीजारोपण २०७९ सालमा भएका थियो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेटमा काभ्रेको बनेपामा इन्डोर स्टुडियो निर्माण घोषणा गर्दै केही बजेटसमेत विनियोजन गरेका थिए ।

तत्कालीन विकास बोर्ड अध्यक्ष दयाराम दाहालले स्टुडियो निर्माणका लागि काभ्रेका विभिन्न स्थानको अध्ययन गर्दै बनेपा नगरपालिका १० र १३ मा पर्ने बाहुन डाँडाको जग्गा स्टुडियोका लागि प्रयोग गर्न सकिने प्रतिवेदन पेस गरेका थिए ।

स्टुडियो निर्माणका लागि नेपाल सरकारबाट चलचित्र विकास बोर्डले २०८० असार २८ गते जग्गा प्राप्त गरेको थियो । तत्कालीन सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले बाहुनडाँडा वनको २.५०८५ हेक्टर जग्गा चलचित्र विकास बोर्डलाई स्टुडियो निर्माणका लागि दिने मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेकी थिइन् ।

उक्त निर्णयपछि तत्कालीन चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको पहलमा वन तथा भूसंरक्षण विभागबाट बोर्डलाई स्टुडियो निर्माणका लागि जग्गाको स्वामित्व प्राप्त भएको थियो । विभागका महानिर्देशक शिवकुमार वाग्लेले बोर्ड अध्यक्ष केसीलाई उक्त जग्गा हस्तान्तरण गरेका थिए ।

जग्गा प्राप्त गर्दै गर्दा चालु आर्थिक वर्षबाटै निर्माण कार्य सुरु हुने र असारअघि नै टेन्डर आह्वान गर्ने तयारीमा बोर्ड अध्यक्ष केसी लागेका थिए । त्यस समय उनले अनुदानको बजेटबाट दुई करोड र आन्तरिक बजेटबाट ५० लाख रुपैयाँबाट टेन्डर आह्वान गर्न लागिएको जानकारी दिएका थिए । तर टेन्डर आह्वान प्रक्रिया विभिन्न कारणले ढिलाइ हुँदै गयो । उनको कार्यकाल पनि सकियो ।

२०८१ भदौमा दिनेश डिसी चलचित्र विकास बोर्डका अध्यक्ष नियुक्त भए । अलमलमा परेको काभ्रे स्टुडियोको टेन्डर आह्वान प्रक्रिया फेरि अघि बढाए । डिसीको सक्रियता बोर्डले गत वर्ष (२०८१) माघमा स्टुडियोका लागि बोलपत्र (टेन्डर) आह्वान गर्‍यो । १० करोड लागतको टेन्डरका लागि ९ ठेकेदार कम्पनीले आवेदन दिएका थिए । तीमध्ये बोर्डले काभ्रेका ठेकेदार कम्पनी यु एन्ड एस, एनएस, रेग्मी जेभी माझी फेडाको बोलपत्र स्वीकृत गरेको छ । 

यी कम्पनीले संयुक्त रूपमा टेन्डर आवेदन दिएका थिए । भवन निर्माणका लागि १० करोड लागतको टेन्डर खुलाइए पनि उक्त कम्पनीले सबैभन्दा कम ५ करोड ३६ लाख रुपैयाँको लागत पेस गरेको थियो । बोर्ड ठेकेदार कम्पनीसँग ठेक्का एग्रिमेन्ट सकेर अहिले शिलान्यासको तयारीमा जुटेको छ ।

स्टुडियो आगामी ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास हुने अध्यक्ष डिसी बताउँछन् । 

‘शुभारम्भ कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री, विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति, चलचित्रकर्मीको समेत सहभागिता रहनेछ,’ डिसी भन्छन्, ‘पहिलो चरणको निर्माण दसैँसम्म सकिनेछ ।’ 

अहिलेको काम दसैँसम्म जसरी पनि सक्ने सर्तमा ठेक्का एग्रिमेन्ट भएको पनि डिसीले जानकारी दिए ।

  • समस्या के थियो र फाइदा के ?

दुई–तीन वर्षमा एउटा फिल्म बन्ने चलचित्र उद्योगमा अहिले वर्षमै डेढ सयजति बन्छन् । तर छायांकनका लागि भनेजस्तो स्टुडियो कतै छैन । अर्कोतिर कतिपय समय क्रिएसन मार्नुपरेको अवस्था पनि छ । यस्तोमा सरकारले भव्य स्टुडियो निर्माण गर्ने भएपछि फिल्मकर्मीहरू निकै उत्साहित छन् । 

नेपालमा व्यवस्थित इन्डोर स्टुडियोको अभाव काभ्रेको निर्माणाधीन स्टुडियोले पूरा गर्ने निर्देशक दीपेन्द्र लामा बताउँछन् । ‘कोठा, घरभित्रको सेट होस् वा सामान्य भीएफएक्स खिच्न पनि ठुलो लम्बाइ, चौडाइ र उचाइ भएको स्टुडियो अभाव थियो, काम गर्न समस्या थियो,’ लामा भन्छन्, ‘ठुलो स्टुडियो निर्माण हुनु खुसीको कुरो स्वाभाविकै भयो नि ।’ स्टुडियोमा उपलब्ध हुने सुविधा र इक्युपमेन्टले भने खुसी निर्धारण गर्ने लामा बताउँछन् ।

dipendra lama

‘हामीलाई हवाईजहाजका इन्टेरियरहरू पनि चाहिन्छन् । त्यसका लागि हवाईजहाज भित्र खिच्न मिल्दैन । त्यो जहाँ पनि सेटमै खिच्ने हो,’ लामा थप्छन्, ‘त्यो उपलब्ध हुन्छ/हुँदैन, अस्पतालको सेटअप कसरी बनाउँछ, राम्रो तवरबाट बन्यो भने फिल्मकर्मीका लागि फाइदाजनकै छ ।’

अचेल सुटिङका लागि मानिसले घर दिन छोडे, दिए पनि सबै ठाउँमा दिनरात सुटिङ गर्न पाइँदैन । ‘दिनकै ७०–८० हजार भन्छन्,’ लामा भन्छन्, ‘स्टुडियो भयो भने निर्धक्क काम गर्न पाइन्छ ।’ 

त्यस्ता स्टुडियोमा घर, कोठाका इन्टेरियरलगायत इन्डोर सुटिङका लागि चाहिने सम्पूर्ण पूर्वाधार उपलब्ध हुनुपर्ने सुझाउँछन् । ‘स्टुडियोभित्र नै राति काम गर्ने कलाकार, टेक्निसियन बस्न खाने सुविधाजनक गेस्टहाउसको पनि व्यवस्था हुनुपर्‍यो,’ उनी बताउँछन् । 

राम्रो स्टुडियो अभावले चलचित्रकर्मीलाई समस्यै समस्या परेको बताउँछन् चलचित्र निर्देशक समाजका अध्यक्ष तथा फिल्म निर्देशक जनकदीप पराजुली पनि ।

Janakdeep-parajuli

‘सुटिङका लागि व्यक्तिको घर र होटलमा रिक्वेस्ट गर्नुपर्ने अवस्था छ । यस्तो गर्दा पनि लामो समय पाइँदैन । महँगोसमेत पर्छ,’ पराजुली भन्छन्, ‘उपलब्ध भए पनि फिल्म सुटिङका हिसाबले बनेका हुँदैनन् । त्यो अवस्थामा क्रिएसनमा कम्प्रमाइज गर्नुपर्छ ।’ 

फिल्म एकदमै दयनीय स्थितिमा बनिरहेका सुनाउँदै पराजुली थप्छन्, ‘म त छक्क पर्थेँ । निर्माता निर्देशकले कसरी फिल्म बनाइरहेका छन्, अहिले बन्न लागेको स्टुडियोले सबै समस्या समाधान हुन्छ भनेर आशा राख्न सक्छौँ ।’ 

पराजुली पनि अहिले बन्न लागेको स्टुडियोमा हलबाहेक घरहरू, किचन बैठकलगायत विभिन्न सेटअप पनि हुनुपर्ने सुझाउँछन् । आवश्यक सेटअपसमेत भयो भने सुनमा सुगन्ध हुने तर ठाउँ मात्र नभएर सेटका लागि बोर्डले विभिन्न कम्पनीलाई ठाउँ दिएर सदुपयोग गर्नुपर्ने उनी सल्लाह पनि दिन्छन्  । 

  • फिल्मसिटी निर्माण भने अलमलमा ?

सरकारले काभ्रेको स्टुडियोभन्दा अगाडि नै दोलखा फिल्मसिटी बनाउने घोषणा गरेको थियो । तर एक दशक बढी समय बित्दा पनि यसको २५ प्रतिशत काम पनि हुन सकेको छैन । उल्टै निर्माण कार्य अलमलिएको छ । काम अलमलिएको देख्दा चलचित्रकर्मी अब फिल्मसिटी बन्दैन भन्नेमा पुगिसकेका छन् । 

तत्कालीन समय फिल्मसिटी निर्माणका लागि दोलखा फिल्म नगरी निर्माण समितिसमेत गठन भएको थियो । जसको संयोजक कलाकार मदनदास श्रेष्ठ रहेका छन् । अहिले पनि त्यसैले काम गरिरहेको छ । कामको गति सुरुको समयजस्तो देख्न सकिन्नँ । किन अलमलियो फिल्मसिटी, कि बन्दैन ? जस्ता प्रश्न उठ्नु स्वाभाविक बनेको छ । 

चलचित्र विकास बोर्डको बेवास्ता र बजेट अभावमा दोलखाको फिल्मसिटी निर्माणले गति लिन नसकेको निर्माण समितिका संयोजक श्रेष्ठ बताउँछन् ।

‘चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नै दोलखाको फिल्मसिटी बन्दैन भनेर भन्दै हिँड्नुभएछ,’ श्रेष्ठ भन्छन्, ‘जसले पहल गर्नुपर्ने हो, उसैले बेवास्ता गरेपछि अलमलमा पर्छ नै ।’ 

बनेको संरचना बुझ्नुस् भन्दा पनि बोर्डले बेवास्ता गरेको श्रेष्ठले आरोप लगाए । 

‘हामीले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै र स्थानीय बजेटबाट समेत गरेर बाटोसहित केही संरचना निर्माण गरिसकेका छौँ,’ श्रेष्ठ थप्छन्, ‘बोर्ड र सरकारबाट पछिल्लो समय सहयोग भएन ।’ सरकार नै फिल्मसिटी बनाउने पक्षमा नदेखिएको पनि उनी आक्रोश पोख्छन् । 

अध्यक्ष डिसी भने फिल्मसिटीका लागि लाग्ने भनिएको १७ अर्बको बजेट सुनिश्चित हुन नसक्दा अलमल परेको बताउँछन् । भन्छन्, ‘जुन दिन बजेट सुनिश्चित हुन्छ, तब अगाडि बढ्छ ।’ 

आफूले केहीअघि बजेट अभावले दोलखाको फिल्मसिटी अलमल पर्‍यो भन्दा त्यसलाई बङ्ग्याएर हल्ला फिँजाएको उनले दुखेसो पोखे । ‘बजेट सुनिश्चित भएपछि फिल्मसिटी त बनिहाल्छ नि । अहिलेसम्म बजेट सुनिश्चित भएको छैन,’ डिसी भन्छन्, ‘त्यो १७ अर्ब अहिले कतैबाट विनियोजन हुन सकेको छैन ।’

दोलखामा मात्र नभई सातै प्रदेशमा यस्ता फिल्मसिटी बनोस् भन्ने आफूलाई लागेको पनि उनी बताउँछन् । 

  • कति भयो खर्च र काम ?

सरकारको आर्थिक वर्ष २०६९/०७० को बजेटमा पहिलो पटक फिल्मसिटी परेको थियो । उक्त समय सरकारले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ र दोलखाको भीमेश्वर नगरपालिका–९ को बिचमा पर्ने डाङडुङे डाँडामा फिल्मसिटी निर्माण गर्न सकिने घोषणा गरेको थियो । सँगै रिसर्चका लागि केही बजेटसमेत छुट्याएको थियो । त्यही समयदेखि फिल्मसिटीको काम अघि बढेको हो । त्यही समय निर्माणका लागि दोलखा फिल्म नगरी निर्माण समितिसमेत गठन भएको थियो ।

समितिले अध्ययनपछि ३० अर्ब लागत लाग्ने बताएको थियो । तर धेरै भयो भनी घटाएर १७ अर्बमा झारिएको थियो । पछि यसमा सरकारले पटक–पटक बजेट थप्दै पनि आयो । ०८१/८२ को बजेटमासमेत यो फिल्मसिटी परेको थियो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका अर्थमन्त्री प्रकाशशरण महतले ०८०/८१ को बजेटमा दोलखा फिल्मसिटी साझेदारीमा बढाइने उल्लेख गरेका थिए । ०८१/८२ को बजेटमा पनि अर्थमन्त्री वर्षमान पुनले यसलाई सम्बोधन गरेका थिए । तर काम भने बढेनन् । 

पटक–पटक बजेटमा परेको फिल्मसिटीको केही काम भइसकेको निर्माण समितिका संयोजक श्रेष्ठ बताउँछन् । ‘हामीले आफ्नो पहलमा आवास तथा भौतिक मन्त्रालय विभिन्न निकायको सहकार्य गर्दै २५ करोड बराबरको काम गरिसकेका छौँ’, श्रेष्ठ थप्छन्, ‘फिल्मसिटी बन्ने स्थानसम्म सडक कालोपत्रे, प्रवेशद्वार निर्माण, बिजुली र खानेपानीलगायत प्रशासनिक भवन, सांस्कृतिक संग्रहालय भवन र गेस्ट हाउस गरी तीन वटा भवनसमेत निर्माण सम्पन्न भइसकेका छन् ।’

र अबको बजेटले बाहिरी लगानीको वातावरण खुल्ने र लगानी भित्रिने आफूहरूमा विश्वास पनि भएको उनी बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप