बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
महिला टी–२० विश्वकप छनोट

खेल हङ्कङ र बहराइनबिच, नतिजाको प्रतीक्षामा नेपाल

शुक्रबार, ०२ जेठ २०८२, ०९ : ५१
शुक्रबार, ०२ जेठ २०८२

सारांश

  • थाइल्याण्डमा जारी महिला टी-२० विश्वकप छनोटमा हङकङ र बहराइनबीचको खेल नेपालका लागि महत्त्वपूर्ण।
  • हङकङले हारेमा नेपाल सुपर-३ चरणमा पुग्ने, तर जितेमा नेपालको सम्भावना समाप्त हुने। नेट रनरेटको आधारमा पनि टुङ्गो लाग्न सक्ने।
  • प्रतियोगिताबाट दुई टोलीले विश्वकप छनोटमा स्थान बनाउनेछन् र चार टोलीले सन् २०२६ को विश्वकप खेल्नेछन्।

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोट प्रतियोगितामा शुक्रबार हङ्कङले बहराइनको सामना गर्दै छ । यो खेल हङ्कङका अतिरिक्त नेपालका लागि पनि निकै महत्त्वपूर्ण छ ।

त्यसैले हङ्कङ र बहरानबिचको खेलको नतिजा नेपाली टोलीका लागि पनि प्रतीक्षाको विषय हो । हङ्कङ र बहराइनबिचको भिडन्त समूह ‘सी’ को अन्तिम खेल हो । यो खेलपछि समूह ‘सी’ बाट प्रतियोगिताको सुपर–३ चरणमा पुग्ने टोलीको टुङ्गो लाग्नेछ । 

नेपालको पनि सुपर–३ चरणमा पुग्ने सम्भावना कायमै छ । नेपाल चार खेलबाट पाँच अंक बटुल्दै तालिकाको पहिलो स्थानमा आसिन छ । शुक्रबारको खेलमा हङ्कङ पराजित भए नेपाल सुपर–३ चरणमा पुग्नेछ । 

तर, उक्त खेलमा हङ्कङ विजयी भए नेपालको अगाडि बढ्ने सम्भावना समाप्त हुनेछ । तीन खेलबाट चार अंक बटुलेको हङ्कङ तालिकाको दोस्रो स्थानमा छ । बहराइन भने यसअघि नै समूहगत चरणबाटै बाहिरिएको छ ।

शुक्रबार हुने बहराइन र हङ्कङबिचको खेल अनिर्णीत रूपमा सकिए नेपाल र हङ्कङको अंक बराबर हुनेछ । यस्तो स्थितिमा नेट रन रेटका आधारमा अगाडि बढ्ने टोलीको टुङ्गो लाग्नेछ । हालको स्थितिमा नेट रन रेटमा थोरै अन्तरले हङ्कङ अगाडि छ । हाल हङ्कङको नेट रन रेट ०.८६७ र नेपालको नेट रन रेट ०.८३० रहेको छ । 

नेपालले चारमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ । नेपाली टोलीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । नेपाल र हङ्कङबिचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।

नेपाली टोलीले आफ्नो दोस्रो खेलमा बहराइनलाई नौ विकेटको फराकिलो अन्तरले हराएको थियो । आफ्नो तेस्रो खेलमा नेपाली टोली हङ्कङसँग सात विकेटले पराजित भएको थियो । आफ्नो चौथो खेलमा नेपालले बहराइनलाई डकवर्थ एन्ड लुइस नियमका आधारमा ६ विकेटले हराएको थियो । 

जारी प्रतियोगितामा प्रारम्भिक चरणको खेलपछि तीनवटै समूहबाट एक–एक टोली ‘सुपर–३’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर–३’ चरणमा तीनवटै टोलीले एक–अर्कासँग एक–एक खेल खेल्नेछन् ।  

प्रतियोगिताको समूह ‘ए’ मा भुटान, कुवेत र आयोजक थाइल्यान्ड रहेका छन् । समूह ‘बी’ मा भने मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) परेका छन् । समूह ‘बी’ बाट यूएई सुपर–३ चरणमा पुगिसकेको छ । समूह ‘ए’ बाट भने आयोजक थाइल्यान्ड सुपर–३ चरणमा पुग्ने बलियो सम्भावना छ । 

यो प्रतियोगिताबाट दुई टोलीले आगामी महिला टी–२० विश्वकपको विश्वस्तरीय छनोट प्रतियोगितामा स्थान बनाउने छन् । विश्वस्तरीय छनोट प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । हालसम्म विश्वस्तरीय छनोट प्रतियोगिता खेल्ने तीन टोलीको मात्र टुङ्गो लागेको छ । बंगलादेश, स्कटल्यान्ड र अमेरिकाले विश्वस्तरीय छनोट प्रतियोगितामा स्थान बनाइसकेका छन् । 

विश्वस्तरीय छनोट प्रतियोगितामा सहभागी हुने सात टोलीको भने टुङ्गो लाग्न बाँकी छ । विश्वस्तरीय छनोट प्रतियोगिताका लागि अब एसियाबाट दुई, युरोपबाट दुई, अफ्रिकाबाट दुई र पूर्वी एसिया–प्यासिफिक क्षेत्रबाट एक टोलीको टुङ्गो लाग्न बाँकी छ । 

विश्वस्तरीय छनोट प्रतियोगितामा चार टोलीले सन् २०२६ मा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् । त्यसैले एसियाली क्षेत्रको यो छनोट प्रतियोगिता सहभागी टोलीका लागि आगामी विश्वकपमा स्थान बनाउने महत्त्वपूर्ण खुड्किलो हो ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप