बागलुङका पाँच पालिका पूर्णखोप सुनिश्चित घोषणा

समाचार सारांश
- बागलुङका पाँच स्थानीय तह पूर्णखोप सुनिश्चितता तथा दिगोपन भएका पालिका घोषणा गरिएका छन्।
- बागलुङ नगरपालिका, गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका र ताराखोला गाउँपालिका पूर्णखोप सुनिश्चित भएका हुन्।
- जिल्लाका अन्य पाँच पालिकामा खोप अभियान जारी छ र जेठ २५ गतेभित्र जिल्लालाई पूर्णखोप सुनिश्चितता घोषणा गर्ने योजना छ।
ढोरपाटन । बागलुङका पाँच स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन भएका पालिका घोषणा गरिएको छ । जिल्लाको बागलुङ, गलकोट, ढोरपाटन र जैमिनी नगरपालिका तथा ताराखोला गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन भएका पालिका घोषणा गरिएको हो ।
बागलुङ नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका छ सय ६३ जना बालबालिकाले नियमित खोप लगाइरहेका र १६ देखि २४ महिना उमेर समूहका चार सय ४९ जनालाई खोप दिएपछि पूर्णखोप सुनिश्चित नगर बनेको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए । नगरपालिकाका १४ वटै वडाका स्वास्थ्य संस्थामा खोपको सुविधा उपलब्ध गराएको उनले जानकारी दिए ।
गलकोट नगरपालिकामा जन्मेदेखि १५ महिनाका चार सय २७ जना बालबालिका र १६ देखि २३ महिनाका तीन सय २७ बालबालिकालाई खोप दिएपछि नगरलाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख सुशील पौडेलले जानकारी दिए । पालिकामा १४ वटा स्वास्थ्य संस्था रहेका जनाउँदै उनले सबै संस्थाबाट खोप दिने व्यवस्था मिलाइएको बताए ।
ढोरपाटन नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका छ सय आठ बालबालिका र १६ देखि २३ महिना उमेर समूहका चार सय ५४ जना बालबालिकालाई खोप दिएपछि नगरलाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य संयोजक भुमिश्वर शर्माले बताए । गत माघ १ गतेदेखि खोजपड्ताल कार्यक्रम सुरु गरिएको भन्दै गत चैत्र र गत वैशाखमा नौ वटै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गरेसँगै अहिले पालिकालाई घोषणा गरिएको उनले उल्लेख गरे ।
जैमिनी नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका तीन सय १३ र १६ देखि २३ महिना उमेर समूहका दुई सय २६ बालबालिकालाई खोप दिएपछि नगरलाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य संयोजक गोविन्दप्रसाद शर्माले जानकारी दिए ।
जिल्लाको ताराखोला गाउँपालिकामा १५ महिना उमेर समूहका एक सय २३ जनाले नियमित खोप लगाइरहेका र १६ देखि २३ महिना उमेर समूहका ७० जनालाई खोप दिएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख उदित थापाले जानकारी दिए । पलिकामा ६ वटा स्वास्थ्य संस्था रहेका भन्दै ती सबैबाट खोप सेवा दिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।
निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका, काठेखोला गाउँपालिका, बडिगाड र बरेङ गाउँपालिका पूर्णखोप घोषणा हुन बाँकी छन् । यी पाँच पालिका घोषणा भएपछि बागलुङलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन भएको जिल्ला घोषणा गरिने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले बताए । यही जेठ २५ गतेसम्म सबै पालिकामा खोप अभियान सम्पन गरी पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिने उनको भनाइ छ ।