‘कुलिङ पिरियड’ को प्रावधान यथावत रहन्छ : मन्त्री गुप्ता
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा राखिएको दुई वर्षे ‘कुलिङ पिरियड’को प्रावधान यथावत रहने बताएका छन् ।
‘कुलिङ पिरियड’विरुद्ध सरकारका सचिवहरूदेखि मुख्यसचिवसम्मले विरोध जनाइरहेका बेला मन्त्री गुप्ताले उक्त व्यवस्था फेरबदल नभइ ऐनका रूपमा आउने स्पष्ट गरेका हुन् । मुलुकमा सुशासन कायम राख्न र कर्मचारीहरूलाई जवाफदेही बनाउने उद्देश्यअनुसार उक्त प्रावधान राखिएकाले संशोधन नहुने उनको अडान छ ।
मन्त्री गुप्ताले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै भने, ‘अहिले उच्च तहका रहनुभएका कर्मचारीले सेवाबाट अवकास लिएर पनि उच्च तहमै बस्न रुचाउने प्रवृत्ति बढेको छ । त्यसबाट सुशासनको सवालमासमेत गम्भीर प्रश्नहरू उठिरहेकै छन् । तिनै प्रश्नहरूको अन्त्यका लागि हामीले कुलिङ पिरियडको प्रावधान राखेका हौँ, यसमा कुनै पनि हालतमा संशोधन हुँदैन ।’ नयाँ प्रावधानले सार्वजनिक सेवामा रहँदा समाजसँग टुटेको आफ्नो सम्बन्ध नवीकरण गर्ने तथा समाजको यथार्थ बुझ्ने मौका कर्मचारीहरूमा सृजना हुने भएकाले सकारात्मकरूपमा लिनुपर्ने मन्त्री गुप्ताको तर्क छ ।
‘राज्य व्यवस्था तथा सुशासन समितिमा लामो छलफल, बहस र विज्ञहरूको सुझावका आधारमा यो प्रावधान राखिएको हो । यसले संवैधानिक निकायमा हुने र अन्य राजनीतिक नियुक्तिहरूमा व्यापक सुधार ल्याउने हाम्रो अपेक्षा छ,’ मन्त्री गुप्ताले भने, ‘यही जेठ १३ अर्थात् आगामी मंगलबार यो विधेयक संसदमा दर्ता हुँदैछ र कुलिङ पिरियडको प्रावधान यथावत राखेर पारित हुनेछ ।’ उनले कुलिङ पिरियड राख्ने विषयमा सबै राजनीतिक दलका नेताहरूसमेत सहमत रहेको स्मरणसमेत गराए ।
राज्य व्यवस्था तथा सुशासन समितिले हालै पारित गरेको सङ्घीय निजामती सेवा विधेयकमा निजामती कर्मचारीले माथिल्लो तहबाट अवकाश पाएपछि संवैधानिक, कूटनीतिक र राजनीतिक पदमा नियुक्ति खान दुई वर्ष कुर्नुपर्नेगरी ‘कुलिङ पिरियड’ राखिएको छ । उक्त प्रावधानप्रति मुख्यसचिसमेतले असन्तोष प्रकट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण