शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय
रातोपाटी साताको कविता

सरस्वती प्रतीक्षाका तीन कविता

शनिबार, १० जेठ २०८२, १६ : ००
शनिबार, १० जेठ २०८२
  • १) अहिले ऊ आँखा देख्दैन

जतिवेला ऊ आँखा देख्थ्यो
नदेख्नुपर्ने सब कुरा देख्थ्यो
देख्नुपर्ने केही पनि देख्दैनथ्यो । 

ऊ उदाउँदै गरेको घाममा
लालिमा देख्दैनथ्यो
जुत्ताको तुना बाँधेर दौडन तम्तयार हतारो देख्थ्यो ।

धेरै कुराहरू छोप्न दौडँदा दौडँदै
कतिवेला आफू आफैँबाट छुटिसक्थ्यो ? मेसोमेलो पाउँदैनथ्यो
त्यतिवेला उसलाई थाहै भएन,
बस स्टेसनमा आउँदा आउँदै
अन्तिम बस छुट्नु घटना हुन सक्छ
आफू आफैँबाट छुट्नुचाहिँ ठुलो दुर्घटना हो भन्ने कुरा !

ऊ कसाही थिएन
तर स्वयंलाई काटेर टुक्रा–टुक्रा बनाउनु उसको दैनिकी थियो
हरदिन दौडधुपको अचानोमा राखेर
आफैँलाई निमर्मतापूर्वक टुक्रा–टुक्रा पाथ्र्यो
र स–सानो पोकामा हालेर स्वयंलाई बेचिदिन्थ्यो– पुँजीबजारमा !

जतिवेला ऊ आँखा देख्थ्यो
ऊ चारैतिर रफ्तार मात्र देख्थ्यो
आफ्नो रफ्तारमा ब्रेक नलागोस् भनेर
आर्यघाटमा समेत हतार–हतारमा लास जलाइरहेका मलामीहरू देख्थ्यो

एक दिन बोधिवृक्षको सियाँलमा
मुख धुँदै गर्दा
अचानक उसका आँखाहरू गायब भएँ
अहिले ऊ आँखा देख्दैन
बस् आवाज सुन्छ
धन्न आफ्नो मुटुले काम गर्न छोड्नुअघि नै
पहिलोपटक 
ऊ आफ्नै मुटु धड्किएको आवाज सुन्दै छ... ।

पहिले चराहरू आकाशमा उडेको मात्र देख्थ्यो
र उचाइ उसको सबैभन्दा प्रिय शब्द थियो
आजकल चराहरूको चिर्बिर–चिर्बिर आवाज सुन्छ
चराहरूको चिर्बिर–चिर्बिर आवाजमा
यसरी लट्ठिन्छ कि
ऊ आफैँ सुफी बन्छ
सुफियाना अन्दाजमा मदमस्त झुम्दै नाचिरहन्छ ।

पहिले सागरलाई भेट्न
हतारिँदै बग्ने नदीहरू मात्र देख्थ्यो, नदीहरूको वेग देख्थ्यो
आजकल टक्क अडिएर
नदीहरूको सुसाइ सुन्छ
त्यो सुसाइभित्रको नदीको गहिरो सास फेराइ सुन्छ
मानौँ कि नदीको हर सासले भनिरहेको छ—
जीवन क्षणभंगुर छ, भोलिलाई नसाँच
आज बाँच, अहिले बाँच र अहिल्यै बाँच !


कुनै वेला
ऊ आफ्नै विपना ताछी–ताछी
सपनाका प्वाँखहरू बनाउने गथ्र्यो
ताकि सपनामा उड्ने वेला परऽऽ परसम्म पुग्न सकोस्
अहिले बुझ्दै छु—
अल्पायु सपनाका लागि
विपनामा स्वयंलाई पलपल मार्नु कति घातक कुरा रहेछ !

रहर थियो उसको
कुनै दिन संसारकै भव्य र महँगो पेन्टिङ खरिद गर्ने
जुन पेन्टिङमा हरियो रङ हाबी होस्
कलात्मक रुखैरुख हुन् 
अनि रुखका अर्धअमूर्त कथाहरू बोलोस् पेन्टिङले
उसका अरु पनि थुप्रै महँगा रहरहरू थिए
ती रहरहरू पूरा गर्नका लागि ऊ रात–दिन घोटिँदै थियो
मान्छेका पार्टपुर्जा निकालेर 
आफैँभित्र मेसिनका पार्टपुर्जा फिट गर्दै थियो
ऊ मान्छेबाट क्रमशः मेसिनमा रूपान्तरित हुँदै थियो ।

आज जङ्गलको बिचमा उभिएको छ
र सुन्दै छ—
हावा लाग्दा सर्सराउने रुखका पातहरूको सरसराहट
झ्याउँकिरीहरूको झ्याउँझ्याउँ शास्त्रीय सङ्गीत !

आफ्नो वरपर जङ्गल नै जङ्गल हुँदा पनि
जङ्गलको चित्र हेरेर रमाउन खोज्ने उतिवेलाको पटमुर्ख ऊ
अहिले बुझ्दै छ—
खुसी कुनै वस्तुमा जमेर बस्दैन रहेछ
खुसीको मूल स्वभाव त बग्नु रहेछ— बस् आफैँभित्र !

ट्रेडमलमा जिन्दगीभर दौडे पनि
पुग्ने त आखिर ट्रेडमिलसम्म नै रहेछ
दौडेर दर्जनौँपटक पहाडको टुप्पोमा पुगे पनि
ओर्लेर बेसीमै फर्केपछि भेटिने रहेछन् आफ्ना प्रियजनहरू !

नामको भोक नहोस्
बदनामको भय नहोस्
बेनाम–बेनाम नै खिल्खिलाउन सकिने मुदित मौसम होस् ।

दृष्टि भएर पनि दृष्टिकोण नहुनुभन्दा
दृष्टि नहोस् बरु, तर दृष्टिकोण होस् !

सत्य हो,
उतिवेला ऊ आँखा देख्थ्यो
यद्यपि केही देख्दैनथ्यो
अहिले ऊ आँखा देख्दैन
तर सबै–सबै कुरा देख्छ ।

००

  • २) सबैभन्दा ठूलो शत्रु

मेरो सबैभन्दा ठुलो शत्रु 
कहीँ छ भने त्यो म आफैँभित्र छ ।

सर्पले के फणा फिजाउँछ ?
फणा त मभित्रको अर्को मान्छेले फिजाउँछ
र जीवनको हरेक मोडमा मलाई नै डसेर मरणासन्न बनाइरहन्छ ।

कोही छ मभित्र
जो मेरो खिलाफ मलाई नै प्रयोग गर्न माहिर छ
म भरिएको आधा गिलासको कुरा गर्छु
ऊ प्याच्च गिलास त आधा खाली छ भन्छ
म मभित्रको बुद्घसित बोधिचर्याको कुरा गर्छु
ऊ मभित्रको हिटलर जगाउन हरक्षण अलार्म बजाइरहन्छ
म जाँगर र उत्साहका कविताहरू लेख्न बस्छु
ऊ आलस्य र थकानका शब्दहरू थुपारेर मलाई हैरान बनाउँछ ।

ऊ हल्लाको हिमायती/सकेसम्म आफैँलाई प्रदर्शन गर्छ
म मौनताको पूजारी/सकेसम्म स्वयंलाई लुकाउँछु
एकान्तमा बसेर मैले एकान्त सेवन गरिरहँदा 
ऊ कटुवाली पारामा मलाई एकान्तको दुव्र्यसनी घोषित गर्छ ।

मैले जीवनका मन्त्रहरू उच्चारण गरिरहँदा
ऊ छेवैमा बसेर मृत्युको सहनाई बजाइरहन्छ
बदमास पनि यतिसम्मको बदमास छ कि
बारबार मेरो आशाको शिरोच्छेदन गरेर निराशाको टाउको जोडिरहन्छ ।

दुनियाँको बाल मतलब !
मिलन हुँदा
म चिहानघारीमा समेत प्रेमका रोमान्टिक गीतहरू गाइदिन्छु
विछोड हुँदा
कसैको यादलाई सितन बनाएर घुटुक्क आफ्नै आँसु पिइदिन्छु
र आँसुकै क्यानभासमा आफ्नो रुन्चे पोट्रेट बनाइदिन्छु
ऊ ‘मकुण्डोधारीहरूको यो जमानामा 
जतिवेला पनि मुस्कुराइरहेको मकुण्डो पहिरेर हिँड’ भनिरहन्छ
बारबार मलाई प्राकृत हुनबाट रोकिरहन्छ ।

म जराप्रेमी
हाँगामा एउटा पात नहँुदा पनि 
जराको गीतमा मनमगन नृत्य गर्ने मान्छे !
ऊ हाँगामा नक्कली प्लास्टिकका पातहरू गाँसेर भए पनि 
जङ्गलमा राज गर्न कुनै कसर छोड्न हुन्न भन्छ
ऊ क्रूरताको आर्किटेक्चर
मेरो कोमलपनलाई फगत कमजोरीको संज्ञा दिन्छ ।

म मायाको कुरा गर्छु
ऊ मोहको राग अलापी–अलापी मलाई दिग्भ्रमित पारिरहन्छ
म करुणाको कुरा गर्छु
ऊ वासनाको तीनपाने प्याला पिलाएर मलाई लठ्याइरहन्छ ।

मलाई फसाउन ज–जसले खाडल खने
ती त केटाकेटीले खेल्नका लागि बनाएका खाडलजस्ता हुन् मेरा लागि
मलाई कसैले खाडलमा जाक्न सक्छ भने
मभित्रको ‘म’ले मात्र जाक्न सक्छ
म कुन र कस्तो खाडलमा फस्छु ? 
मभित्रको मान्छेलाई बाहेक अरुलाई थाहा छैन ।

मभित्रै छन् सेता परेवाहरू र परेवाहरूको कलरव पनि
मभित्रै छन् हुँडारहरू र हुँडारहरूको नृशंस गर्जन पनि ।

मभित्रको विश्वयुद्घमा
म आफैँ यो पक्षको पनि हुँ र त्यो पक्षको पनि
यो दुईधारे हतियार–दुईधारे कटान
म आफैँ यताको पनि हतियार हुँ र उताको पनि ।

वर्षौंदेखि म मेरो सबैभन्दा ठुलो शत्रुसित लडिरहेछु
अर्थात् म आफैँभित्रको अर्को कुरूप मान्छेसित लडिरहेछु ।

मान्छेको सबैभन्दा ठुलो शत्रु ऊ आफैँभित्र हुँदोरहेछ
जसले आफैँभित्रको शत्रुलाई जित्यो,  
उसले जित्न बाँकी केही रहँदैन रहेछ । 

००

  • ३) यो चुरोटको विज्ञापन होइन

जसरी सम्हालेर राख्छन् मान्छेहरूले
गुलाफका फूलहरू/प्रेमपत्रहरू
सिनेमाका टिकटहरू/क्याडबरीका खोलहरू/सँगै खिचिएका तस्बिरहरू
त्यसरी नै अतिशय प्रेमले
सम्हालेर राखेकी छु मैले केही थान चुरोटका ठुटाहरू !

दिल खोलेर हाँस्न जोसँग पनि सकिन्छ
पूरै दिल खोलेर रुन खास मान्छेसँग मात्र सकिन्छ
म कसरी बिर्सन सक्छु—
पहिलोपटक मेरो एउटा हात समातेर भित्रैबाट ऊ रुँदा
उसको अर्को हातमा चुरोट थियो ।

सँगै ब्ल्याक–टी पिउँदा
ब्ल्याक लेबलको रक्सीले भन्दा बढी नशा लागेपछि
वेटरलाई चियाको मूल्यभन्दा दोब्बर टिप्स दिएका थियौ
त्यहीबखत पहिलोपटक उसको एउटा हातले 
मेरा केशराशिको लम्बाइ नाप्दै गर्दा
उसको अर्को हातमा चुरोट थियो ।

धुम्रपानविरोधी एउटी स्वास्नीमान्छे
आजकल उसले छोडिगएका चुरोटमा ठुटाहरू देख्दैमा तरंगित हुन्छु
मानौँ, 
चुरोटका ठुटाहरू चुरोटका ठुटाहरू होइनन्
उसको स्पर्शको चास्नीमा डुबाइएका प्रेमग्रन्थहरू हुन् ।

मान्छेहरू प्रेमको साक्षी
मन्दिर वा गुम्बा बनाउँछन्, रुख वा नदीनाला बनाउँछन्
उड्दै गरेको चुरोटको धुँवालाई साक्षी राखेर ऊ भन्छ,
‘तँ किताब ! आइज म तँलाई पढ्छु
तँलाई शब्दमा मात्र होइन
शब्द–शब्द बिचको ग्याप र ग्यापको सूक्ष्मतामा पढ्छु ।’

झगडा, घुर्की, समपर्ण, प्यासन
सबै भाव र रङ्गहरूको सिङ्गो प्याकेज ऊ
त्यही प्याकेजको पाउमा यो शिर राख्दाका साक्षी चुरोटका ठुटाहरू
एउटा अपत्यारिलो सत्यका साक्षी चुरोटका ठुटाहरू

कतिसम्म निख्खर हुन सक्छ प्रेम
र तिख्खर हुन सक्छ प्रेमको स्वाद ?
तमाम तत्त्वबोधका साक्षी चुरोटका ठुटाहरू ।

माफ गर्नु होला
चुरोटको कुनै अमूक मल्टिनेसनल कम्पनीको विज्ञापन होइन यो
अहँ, यो चुरोटको विज्ञापन होइन !

०००

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरस्वती प्रतीक्षा
सरस्वती प्रतीक्षा
लेखकबाट थप