आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय
राजनीति

सर्वसम्मतको नाममा ‘जबरजस्ती’ गर्न खोजेकाे आरोपपछि युवासंघको नेतृत्व चयन अन्योल

आइतबार, ११ जेठ २०८२, १० : ०८
आइतबार, ११ जेठ २०८२

समाचार सारांश

  • युवा संघको निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल हुँदै गएको छ, तर नेताहरू अझै प्रयास गरिरहेका छन्।
  • अध्यक्ष पदका लागि क्षितिज थेबे र सुमन पुरीबीच प्रतिस्पर्धा हुने सम्भावना बढेको छ, तर केपी शर्मा ओलीले थेबेलाई समर्थन गरेका छन्।
  • प्रतिनिधि चयनमा देखिएको विवाद र पदाधिकारीको संख्या घटाउने निर्णयले महाधिवेशनको प्रक्रियालाई प्रभावित पारेको छ।

पोखरा । अहिले पनि केन्द्रीय नेताहरूलाई सोध्ने हो भने युवा संघको निर्वाचन सर्वसम्मत टुङ्गिन्छ भन्न छोडेका छैनन् । रातोपाटीसँग कुरा गर्दै इन्चार्ज राजीव पहारीले भने, ‘सर्वसम्मतको प्रयास भइरहेको छ । सर्वसम्मत नेतृत्व चयन हुनेमा विश्वास छ । हामी लागिरहेका छौँ ।’ सर्वसम्मत नामावली घोषणा गर्न तयारी भएकैले अहिलेसम्म निर्वाचन प्रक्रिया अघि बढेको छैन ।

निर्वाचन समितिले अध्यक्ष मण्डललाई शनिबार साँझ ६ बजेसम्मको समय दिएर सर्वसम्मतको प्रयास गर्न भनेको थियो । पूर्व अध्यक्षहरु भानुभक्त ढकाल, महेश बस्नेत र राजीव पहारी सदस्य रहेको समिति बनाइएकोमा उनीहरुले सर्वसम्मत नामावली दिन नसकेका हुन् । 

आइतबार नै सबै प्रक्रिया पूरा गरेर नयाँ कमिटी तयार गर्ने घोषणा गरेका इन्चार्ज पहारी सोमबारसम्म लाग्न सक्ने बताउँछन् । ‘आजै सक्ने भनेको हो । सर्वसम्मत भए त अझै १२–१४ घण्टा समय छ । तर सर्वसम्मत नभए भोली पनि लाग्ने भयो,’ उनले भने, ‘यति ठुलो सङ्गठनमा दाबी धेरै आउनु स्वाभाविक हो । सबैको चार्म युवा संघमा छ भन्ने यसैले पुष्टि पनि गरेको छ नि ।’

त्यसपछि निर्वाचन समितिले आइतबार बिहानदेखि मनोनयन प्रक्रिया सुरु गर्ने भनेको थियो । अहिलेसम्म मनोनयन हुन सकेको छैन । शनिबार राती अबेरसम्म उम्मेद्वारहरुले आ–आफ्नो पक्षमा नाराबाजी लगाए । एक पक्षले हालकै अध्यक्ष क्षितिज थेबेलाई सर्वसम्मत अध्यक्ष बनाउनुपर्ने माग गरे भने अर्को पक्षले निर्वाचनको माग गरे । स्रोतका अनुसार अध्यक्ष थेबे र हालका महासचिव सुमन पुरीबिच नेतृत्वमा प्रतिस्पर्धा हुने लगभग पक्का छ । यद्यपि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले थेबेको नाममा सर्वसम्मत गर्न नेताहरूलाई दबाब दिएका छन् । 

‘सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ भन्ने अनि नाम पनि माथिबाटै पठाएपछि निर्वाचन प्रक्रिया अघि बढेको छैन । निर्वाचनमा खटिएका एक नेताले भने, ‘यो हदसम्मको जबरजस्ती गरेर कस्तो नेतृत्व ल्याउने हो ? कसको नेतृत्व ल्याउने हो ? कमसेकम प्रतिनिधिले आफ्नो नेता छान्न पाउने अधिकार किन दिइँदैन ?’ निर्वाचन प्रक्रिया अझै अनिश्चित छ । 

युवा संघका पूर्व उपाध्यक्ष माधव बास्तोलाले महाधिवेसन अब निर्वाचनतर्फ सोझिएको बताए । ‘सर्वसम्मतको प्रयास टुटेको जस्तो छ । प्रयास त अहिले पनि गरिरहनुभएको छ । तर खासै प्रभावकारी हुने देखिएन,’ उनले भने, ‘अब निर्वाचनतर्फ सबै प्रतिनिधिको मन गैसकेको छ । निर्वाचन प्रक्रिया सुरु हुन्छ होला ।’ थेबे र पुरीसँगै हालका उपाध्यक्ष महाराजा गुरुङ, प्रकाश केसी र युवा संघको युवा विज्ञ परिषद् प्रमुख मदन भण्डारीले पनि अध्यक्षमा आकांक्षा गरेका छन् । 

पहिला थेबेलाई नदोहोर्‍याउने अभिव्यक्ति दिएका युवा संघका इन्चार्ज राजीव पहारी, पूर्व अध्यक्ष महेश बस्नेत लगायतको टोली पनि अहिले थेबेकै पक्षमा खुलेका बताइएको छ । पुरीलाई पूर्व अध्यक्ष रमेश पौडेल, बचनबहादुर सिंह लगायतको साथ छ । उनी विष्णु पौडेल निकटका हुन् । महाराजा चाहिँ पार्वत गुरुङका भान्जा हुन् । 

अझै प्रतिनिधिमै विवाद

महाधिवेसनको प्रक्रिया ठप्प हुनुमा प्रतिनिधि चयनमा भएको विवाद पनि हो । १ हजार ८ सय ३५ प्रतिनिधि सहभागी हुनुपर्नेमा केही ठाउँमा विवाद भएपछि नाम टुङ्ग्याउन समस्या परेको हो । उम्मेदवारका आकाङ्क्षीहरूले पहिला प्रतिनिधिको टुङ्गो लगाउन र छिनो प्रक्रिया अघि बढाउन दबाब दिएका छन् । ‘प्रतिनिधिमा विवाद देखियो । अब प्रतिनिधिको टुङ्गो लगाएर मात्रै महाधिवेशन प्रक्रिया अघि बढ्छ,’ अध्यक्षका एक आकाङ्क्षीले भने, ‘अहिलेसम्म महाधिवेशन अघि बढ्न सकेको छैन ।’

यसैबिच, मतदानका लागि मेसिन भने पोखरा आइसकेको छ । ४६ वटा मेसिनबाट मतदान हुने र उक्त मेसिन पोखरा आइसकेको युवा संघले जनाएको छ । यसपालि पदाधिकारीको संख्या घटाइएको छ । साबिक १७ बाट घटाएर ९ बनाउन लागिएको छ । उमेर सीमा ४० वर्षमा सीमित गरिएको पहारीले बताए । महाधिवेशनले अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, उपमहासचिव, चार सचिवसहित १५१ सदस्यीय नयाँ समिति चयन गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप