आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शिक्षक आन्दोलन, ‘मुरलीधर मास्टर र सन्देश

आइतबार, ११ जेठ २०८२, १७ : ०२
आइतबार, ११ जेठ २०८२

२०४०–२०५० सालतिर ‘मुरलीधर मास्टर’को कथा निकै चर्चित थियो । मैले पहिलोपटक यो रोचक कथा गोरखाको एक माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक शम्भु मरहट्ठाबाट सुनेँ, जुन बेला म अर्को माध्यमिक विद्यालयको प्रधानाध्यापक थिएँ । उहाँ मजाकप्रेमी मात्र होइन, शिक्षा, शिक्षक र समसामयिक विषयहरूमा प्रसङ्ग आउँदा रसिक ढङ्गले गहिरो टिप्पणी गर्ने स्वभावको हुनुहुन्थ्यो । प्रधानाध्यापक बैठक तथा अन्य कार्यक्रममा भेटघाट हुँदा र उहाँसँग निकटताका कारण यो कथा हाम्रो बिचमा निकै चलनचल्तीमा थियो । 

  • मुरलीधर मास्टरको कथा

एउटा समय थियो, कुनै एक देशमा एउटा राजा थिए । उनको जीवन विलासी, मनोरञ्जनप्रेमी र संगीतको सौन्दर्यमा डुबेको थियो । समय–समयमा दरबारमा संगीत महोत्सवको आयोजना गर्दै थिए । एक दिन राजाले सबै संगीतकारहरूलाई बोलाएर विशेष संगीत कार्यक्रमको आयोजना गर्न आदेश दिए । सबै आ–आफ्ना बाजा बोकेर दरबार आइपुगे ।

कार्यक्रम सुरु भयो । मादल, बाँसुरी, ढोल, झ्याली, सारंगी, सहनाई, तबला, हार्मोनियम — सबैजना आफ्नो बाजा बजाउन थाले, तर बाँसुरी सानो थियो तर त्यसको धुन यति मिठो थियो कि बाँकी सबै बाजाहरू त्यसको तालमा समायोजित भए । कार्यक्रम उत्कृष्ट भयो ।

राजा हर्षित भए । उनले घोषणा गरे— जो जसको बाजाभित्र जति सुनको असर्फी जान्छ, त्यति पुरस्कार पाउनेछन् । ठुलो बाजा भएकाहरूले बढी असर्फी पाए र प्रफुल्लित हुँदै फर्किए । बाँसुरी त सानो थियो, एउटा असर्फी पनि प्वालभित्र छिर्न सकेन, त्यसैले बाँसुरीवादकले केही पनि पाएनन् । बिचरा बाँसुरीवादक रित्तो हात फर्किए ।

वर्षौंपछि फेरि राजा संगीत कार्यक्रम आयोजना गर्छन् । पुनः सबै संगीतकारहरू आउँछन् । बाँसुरीवादक पनि आइपुग्छन्, तर योपटक उनको बाँसुरी बेसुरमा बज्छ । कार्यक्रम बिग्रिन्छ, राजा रिसाउँछन् । उनले आदेश दिन्छन्, सबैले आफ्नो बाजा मुखबाट छिराउने । कोही सफल भएनन्, किनकि सबैका बाजा मुख भन्दा ठुला थिए । केवल बाँसुरीवादकको मुखबाट मात्र छिर्न सक्यो ।

त्यही दिनदेखि ‘मुरलीधर मास्टर’ भन्ने व्यङ््य चलनचल्तीमा आउँछ ।

  • वास्तविकता र विडम्बना

कथाको सार अहिलेको शिक्षाप्रति रहेको सरकारको दृष्टिकोणसँग निकै मेल खान्छ । मुरलीधर मास्टरको कथा केवल एउटा हास्यजस्तो लाग्न सक्छ, तर यसको गहिराइमा झर्दा यो हाम्रो शासन व्यवस्था, मूल्य–मान्यता, शिक्षा र शिक्षकप्रतिको दृष्टिकोणप्रतिको व्यङ्ग्य हो । शिक्षाको धरोहर बोकेका मास्टरहरू, जसले समाजलाई रूप दिन्छन्, स्वर दिन्छन्, चेतना जगाउँछन्, सबैलाई समायोजन गर्छन् उनीहरू अहिले आफ्नै देशमा उपेक्षित छन् । जतिसक्दो राम्ररी बजाउँदा पनि ‘बाँसुरी’ले पुरस्कार होइन, अपमान पाउँछ भने त्यो समाजको मापन के हो ?

शिक्षकहरूले आन्दोलन गर्छन्, तलब माग्छन्, सुधार माग्छन्, तर तिनको मागलाई ‘राज्यविरुद्धको अपराध’ ठानिन्छ । दुःखद के भने केही भूतपूर्व प्रधानमन्त्रीहरू (केही दिवंगत भइसक्नु भो) तथा शिक्षामन्त्रीहरू विगतमा शिक्षक नै थिए, तर राज्य सत्तामा पुगेपछि उनीहरू आफ्नो विगत बिर्सन्छन् । आन्दोलनमा संलग्न शिक्षकहरूलाई बल प्रयोग गरेर रोकिन्छ । सत्ताबाहिर पर्नेबित्तिकै शिक्षक आन्दोलनको समर्थन गर्न पुगेका उदाहरण हालसालै देखिए, जुन निर्लज्ज र द्वैध चरित्रको द्योतक हो । के शिक्षा क्षेत्रमा हिजो शिक्षक पृष्ठभूमि भएकाहरूको एउटै मात्र सम्झन लायकको उदाहरणीय काम देख्न सकिन्छ ? 

वास्तवमा, शिक्षकमाथिको असम्मान, आन्दोलनमाथिको बलप्रयोग र शिक्षालाई राज्यको प्राथमिकता नदिने परिपाटीले भविष्यलाई अँध्यारो बनाउने जोखिम निम्त्याउँछ । कहिलेकाहीँ प्रश्न उठ्छ— शासक बन्नुको अर्थ के केवल शासन गर्ने हो कि सेवा गर्ने हो ? यही सन्दर्भमा एउटा शक्तिशाली संस्कृत श्लोकले गहिरो सन्देश दिन्छ :

‘शिवे क्रुद्धे गुरुस्त्राता, गुरौ क्रुद्धे न कश्चन ।
तस्मात् सर्वप्रयत्नेन, गुरोः क्रोधं न कारयेत ।।’

अर्थात् शिव रिसाए भने गुरुले बचाउन सक्छन्, गुरु रिसाए भने कसैले बचाउन सक्दैन । त्यसैले गुरु रिसाउने काम कहिल्यै गर्नु हुँदैन ।

  • अब के ?

शिक्षकहरू ‘मुरलीधर मास्टर’जस्ता पात्र हुन्, सधैँ अरूको लय मिलाउने, तर पुरस्कार नपाउने । राज्यले उनीहरूको महत्त्व बुझेन भने त्यो समाज बाँझो हुनेछ । राज्यको बुद्धिमता तब ठहरिन्छ, जब उसले शिक्षालाई प्राथमिकता दिन्छ । ‘मास्टरहरू’लाई अपमान होइन, सम्मान दिन आवश्यक छ, किनकि तिनकै तालमा देश बन्छ र बिग्रिन्छ । सरकारले सुन्न जरुरी छ । मूल्य सानो देखिनेले होइन, सन्देश दिनेले निर्धारण गर्छ । आजको शिक्षक, जो समाजको साँचो वादक हो, त्यसको सम्मान नगरे राष्ट्रको संगीत नै बेसुर भइरहेको छ र हुनेछ । अन्त्यमा, ‘संसार बदल्न सकिने सबैभन्दा बलियो अस्त्र भनेको शिक्षा हो ।’ — नेल्सन मन्डेला ।
सम्बन्धित सरोकारवाला सबैमा चेतना भया !
(दुल्लभ मावि, रेडन कलेजका पूर्वप्राचार्य, नेल्टाका पूर्वअध्यक्ष तथा नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय वरिष्ठ उपाध्यक्ष डा. भट्ट कोवेन्ट्री विश्वविद्यालय ग्रुप, बेलायतमा प्राध्यापन गर्छन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. चण्डिका भट्ट
डा. चण्डिका भट्ट
लेखकबाट थप