‘असान्जमाथि योजनाबद्ध अन्याय गरिएको रहेछ’

समाचार सारांश
- कान्स फिल्म फेस्टिभलमा विकिलिक्सका संस्थापक जुलियन असान्जको जीवनमा आधारित वृत्तचित्र 'द सिक्स बिलियन डलर म्यान' प्रदर्शन गरियो।
- वृत्तचित्रले असान्जको जीवनका राजनीतिक पाटोलाई उजागर गर्छ, जसमा एडवार्ड स्नोडेन र राफेल कोरिया जस्ता पात्रहरूको अन्तर्वार्ता समेटिएको छ।
- निर्देशक युजेन जारेकीले असान्जको फिल्म बनाउनुको कारण र यसले अमेरिकामा वितरणमा भोग्नुपरेका कठिनाइबारे चर्चा गरेका छन्।
फ्रान्समा हुने ‘कान्स फिल्म फेस्टिभल’ लाई चलचित्र क्षेत्रको धेरै ठुलो महोत्सव मानिन्छ । यसका आयोजकहरू यसलाई गैरराजनीतिक कर्म मान्छन् । गतसाताको पत्रकार सम्मेलनमा महोत्सवका प्रमुख थिएरी फ्रेमक्सले भने, ‘कलाकारहरू राजनीतिक प्राणी भएपछि महोत्सव पनि राजनीतिक जस्तो भइहाल्छ ।’
यसपटकको संस्करणको महोत्सव त अझ संयुक्त राष्ट्रसंघको बैठक जस्तै देखिन्छ । चाहे अमेरिकी राष्ट्रपति ट्रम्प हुन, इजरायल–हमास युद्ध होस, मी टु अभियान होस वा इरान, रुस वा इजिप्टका सत्ताका सन्दर्भ नै होउन् । तपाईँले खोजेका हरेक सामाजिक राजनीतिक संकटका सन्दर्भ कुनै न कुनै रूपमा त्यहाँ झुल्किन आइपुग्छ । प्रस्तुतिका सन्दर्भमा भएन भने कम्तीमा कुराकानीमा त पक्कै आइपुग्छ ।
गत बुधबार राति भने सबैलाई छक्क पार्ने खालको दृश्य देख्न पाइयो । सायद यो सन्दर्भ कान्स महोत्सवकै सबैभन्दा विवादास्पद तथा राजनीतिक क्षण हुनसक्छ । कान्समा विकिलिक्सका संस्थापक जुलियन असान्जको उदय, बन्दी जीवन तथा रिहाइसम्म समेटिएको वृत्तचित्र ‘द सिक्स बिलियन डलर म्यान’ प्रदर्शन भयो । यो वृत्तचित्र युजेन जारेकीले निर्देशन गरेका हुन् । उनले यसअघि हेनरी किसिन्जरको जीवन र कृत्यबारे ‘द ट्रायल्स अफ हेनरी किसिन्जर’ नामको वृत्तचित्र बनाएका थिए ।
यही मेसोमा जारेकीको वृत्तचित्रले धेरैको ध्यान तान्न सफल भयो । फिल्मले असान्जको जीवनमा घटित उतार–चढावलाई राजनीतिक कोणबाट हेर्ने प्रयास गर्छ । यसमा एडवार्ड स्नोडेनदेखि इक्वेडरका पूर्व राष्ट्रपति राफेल कोरिया जस्ता व्यक्तिसम्मको कुराकानी समेटिएको छ । राफेल कोरियाले लन्डनस्थित आफ्नो देशको दूतावासमा सात वर्षसम्म असान्जलाई शरण दिएका थिए । असान्ज त्यस्ता प्रतिनिधि व्यक्ति हुन्, जो वर्तमानको राजनीतिक प्रणालीसँग एक्लै लड्दै छन् । सिनेमाले असान्जलाई त्रुटिसहितको असल मान्छेका रूपमा देखाउने प्रयास गरेको छ ।
उनै असान्ज फिल्मको विश्वव्यापी प्रिमियरको अघिल्लो दिन कान्समा अचानक झुल्किए । उनलाई आफ्नै बारेको फिल्म प्रदर्शन हुँदैछ भन्ने थाहा थिएन । त्यसपछि फिल्मका निर्देशक जारेकी र उनी लामो समय गफिए । यसै मेसोमा ग्लोब एन्ड मेलले फिल्मका निर्देशक जारेकीसँग कुराकानी गरेको छ ।
- तपाईंको सिनेमा गत जनवरीमा अमेरिकाको ‘सन्डेन्स फिल्म फेष्टिभल’ मा प्रिमियर गर्ने निधो भएको थियो तर तपाईंले ‘अनपेक्षित विकासक्रम’ देखा परेको भन्दै सारेर यहाँसम्म ल्याई पुर्याउनु भयो । एक्कासि के भयो त्यस्तो ?
गत वर्षको जुन महिनामा जुलियन असान्जमाथि लगाइएका विभिन्न आरोपबाट उनले उन्मुक्ति पाउने भए । अमेरिकाले उनीमाथि लगाएका १८ वटा मध्ये १७ वटा मुद्दा फिर्ता गर्ने निधो गर्यो । यी आरोपहरुलाई कानुनी मामलाका धेरै विज्ञहरू त सुरुदेखि नै आधारहीन मान्ने गर्थे । हामी तिनै असान्जमाथि लगाइएका आरोपहरू बारे सबै पक्षबाटले हेर्नै पर्ने सिनेमा बनाउँदै थियौँ । उनलाई जेलमा थुनेर साँच्चिकै अन्याय भएको हो वा होइन भनी हामी बुझ्न र देखाउन चाहन्थ्यौँ ।
मलाई गत वर्षको अन्त्यसम्ममा सबै काम सक्काउँछु भन्ने लागेको थियो । तर, समयमै पुरा गर्न सकिएन । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि मलाई अब हतार गर्नु हुन्न भन्ने लाग्न थाल्यो । अर्को कारण भनेको केही समय पर्खिदा मैले जुलियनलाई नै फिल्ममा देखाउन सक्ने अवस्था देखियो । तेस्रो कारण चाहिँ, म खासमा यो फिल्म अमेरिकाको सन्डेन्समै प्रिमियर गर्न चाहन्थेँ । तर, त्यसो गर्दा मैले प्रिमियर गरेको देशमा जुलियन आफै आउन सक्दैनथे ।
- तपाईंको सिनेमा हेर्दा त्यहाँ असान्ज बिरलै बोलेको पाउँछौँ । त्यो पनि अन्त्यतिर मात्रै । अब कान्स महोत्सव सकिएपछि यसमा अझै थपघट हुने हो कि ?
तपाईंले सिनेमामा असान्जलाई त्यति मात्रै सुन्न पाउनुहुन्छ जति मैले महत्त्वपूर्ण र आवश्यक ठानेको थिएँ । जुलियनले लामो समय बोल्न पाएनन् । उनलाई थुनेरै राखियो । अब पनि उनी थप केही बोल्न चाहन्छन् भने म त त्यो कुरा फिल्मबाट संसारलाई सुनाउन रुचिकर छु । तर, मलाई लाग्छ उनले बोल्नै पर्ने धेरै कुरा बाँकी छैन । उनले जीवनमा झेल्नुपरेका घटनाहरूले नै धेरै कुरा आफै बोलिसकेका छन् ।
- यो सिनेमामा काम गर्नुअघि असान्समाथि लागेका यौन दुर्व्यवहारका आरोपबारे तपाईँलाई कत्तिको थाहा थियो ? त्यसले तपाईंको आफ्नो काममा कत्तिको सहजता–असहजता निम्त्यायो ? वा त्यसले केही फरक पारेन ?
मैले जुलियन असान्जले अमेरिकामा डोनाल्ड ट्रम्पलाई जिताउन चुनावमा धाँधली गरे भन्ने सुनेको थिएँ । उनी रुसका लागि काम गर्ने मान्छे हुन् भन्ने सुनेको थिएँ । यस्ता धेरै कुरा सुनेको थिएँ । मेरो काम भनेको त्यस्ता वाहियात हल्लाको पछाडि दौडिने होइन । तथ्यको जगमा टेकेर अघि बढ्ने हो । हामीले यो फिल्म बनाउने क्रममा धेरै नयाँ कुरा थाहा पाउँदै गयौँ । उनको चरित्र हत्या गर्न असाध्यै धेरै काम भएको रहेछ । धेरै अवस्थामा त योजनाबद्ध रूपमा सूचनाहरू बङ्ग्याएर उनलाई बदनाम गराइएको रहेछ ।
हामीले सत्यलाई नजिकैबाट नियाल्यौँ । त्यो क्रममा मैले स्विडेनमा जुलियन यौन अपराधमा संलग्न छन् भन्ने थाहा पाएको भए म त्यो कुरा नै सिनेमाबाट भनिदिन्थेँ । तर, मैले त स्विडेनका यस मामलाबारे थाहा पाउने मानिसहरूबाट उल्टै यो त जुलियनमाथि नै चरम अन्याय गरिएको थाहा पाएँ । सिनेमाका धेरै ठाउँमा तपाईंले असान्जको व्यवहारलाई लिएर आलोचना गरिएको पाउनु हुन्छ । तर, त्यस्ता कमजोरी प्रत्येक मानिसमा तपाईंले पाउनुहुन्छ । मलाई लाग्छ ती धेरै ठुला कमजोरीहरू होइनन् ।
- यो सिनेमा यस्तै महोत्सवहरूमा बाहेक बाहिर प्रदर्शन गर्न, वितरण गर्न असाध्यै कठिनाइको सामना गरिरहेको छ भन्ने सुनेको छु, वास्तविकता के हो ?
तपाईंले सुनेको सही हो । धेरै मानिसलाई सत्य पचाउन सजिलो छैन । पक्कै पनि अप्ठेरो हुन्छ । झन् यो सिनेमाले त अमेरिकी प्रणालीको आलोचना गर्छ । अब अमेरिकामा यो फिल्मले ‘हल’ पाउन सक्छ त ? झट्ट सुन्दा यो कुरा तपाईँलाई व्यङ्ग्यात्मक लाग्न सक्छ । तर, म यसलाई सिधा रूपमा बुझ्छु । मलाई लाग्छ अमेरिकामा त्यस्ता धेरै वितरक, प्रकाशक तथा सञ्चार गृहहरू छन्, जसले अमेरिकी लोकतन्त्रको वास्तविक आधार ‘सत्य’ हो भन्ने ठान्छन् । अब त्यसको विपरीत बाटो समाएर सत्यलाई इन्कार गर्दै वा झन् दमन गर्दै जाली फटाहाहरूकै तालमा नाच्छन् भने त म के भन्न सक्छु र !
यसमा उनीहरूले नै गुमाउनुपर्ने हुन्छ । मलाई अन्तर्हृदयबाटै के कुरामा विश्वास छ भने ठुला मिडिया कम्पनीहरूमा काम गर्ने व्यक्तिहरूले ठुलो स्वरमा हल्ला नगरे पनि भित्र–भित्र उनीहरूलाई सत्य कुरा सबैलाई देखाउनु पर्छ भन्ने राम्रोसँग थाहा छ । चाहे त्यो सत्य देखाउँदा सरकार वा ठुला निगमहरू जस्ता शक्तिशाली संस्थाहरूको आलोचना नै किन नहोस् ।
यो सिनेमा किन्न वितरकहरूबिच तछाडमछाड हुन्छ त म भन्दिन तर मलाई के विश्वास छ भने अमेरिकामा यो सिनेमा देखाउने कोही न कोही त पक्कै फेला पर्नेछ । किनभने यो उद्योगमा लागेका व्यक्तिलाई यस्ता महत्त्वपूर्ण कथाहरू जनतामा पुर्याउन सक्दो गर्नुपर्छ भन्ने राम्रोसँग थाहा छ ।
- यो वर्ष त तपाईंले आफ्नो सिनेमा कान्समा ल्याउनुभयो । आजका राजनीतिक मुद्दासँग सम्बन्धित धेरै सिनेमाहरूमध्ये तपाईंको पनि एक हो । अरू पनि यस्तै राजनीतिक मामिलाका फिल्महरू यसपटक कान्समा देखाइए । धेरै राजनीतिक विषयका सिनेमा देखाउन थालियो भनेर अर्को वर्ष यस्ता सिनेमाहरूले स्थान नपाउने सम्भावना बढ्छ जस्तो लाग्दैन ?
अवश्य हुन सक्छ । यस पटकको श्रेय चाहिँ विशेष गरी महोत्सवका प्रमुख थिएरी फ्रेमोक्सलाई जान्छ । फ्रान्सेलीहरू प्रायः अमेरिकाका लागि अगुवा जस्ता हुन् । उनीहरू धेरै मामलामा अगाडी छन् । हामीले अमेरिकाको स्वतन्त्रता संग्राममा पनि उनीहरूको नेतृत्वलाई पछ्याएका थियौँ । केही वर्षअघि इराक युद्धका बारेमा पनि फ्रान्सेलीहरूले सही कुरा गरेका थिए ।
अहिले पछिल्लो समय अमेरिकी सरकार फासीवाद, कर्पोरेट नियन्त्रण र क्रूरताको खतरनाक मिश्रणको बाटोमा गइरहेको बेला कान्स महोत्सवले यस्ता सिनेमालाई अवसर दिएको छ । अरू पनि यस्ता सिनेमाहरू यहाँ प्रदर्शन भएका छन् । राउल पेकको अर्वेलबारेको वृत्तचित्र देखाइएको छ । प्यालेष्टाइनी फोटो पत्रकार फात्मा हस्सोनाबारेको फिल्म देखाइएको छ । यी सबै काम आजको समयमा कान्सले चालेका महत्त्वपूर्ण कदम हुन् भन्ने ठान्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोर्खा कपको उपाधि नेपाल ड्रिम टिमलाई, १५ हजारभन्दा बढीको सहभागिता
-
१० बजे १० समाचार : भिजिट भिसा प्रकरणले संसद्मा हंगामा, गभर्नरविरूद्ध अर्को रिट
-
बुधबारदेखि काठमाडौँमा २२ औँ किम्फ महोत्सव सुरु हुँदै
-
कप्तान ऋषभ चम्किँदा बेंगलुरुसामु जितका लागि २ सय २८ रनको लक्ष्य
-
कृष्ण सेन ‘इच्छुक’ को २३ औँ स्मृति दिवस मनाइयो
-
युवासंघमा ओलीका उम्मेदवारले जित्दा पदाधिकारीमा को-को विजयी (नतिजासहित)