कप्तान ऋषभ चम्किँदा बेंगलुरुसामु जितका लागि २ सय २८ रनको लक्ष्य

काठमाडाैँ । कप्तान ऋषभ पन्तको शानदार शतकको मद्दतले लखनउ सुपर जायन्ट्सले रोयल च्यान्जर्स बेंगलुरुसामु जितका लागि २ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मंगलबार लखनउमा जारी इन्डियन प्रिमियर लिगको अन्तिम लिग खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय २७ रन बनाएको हो ।
पन्तले ६१ बलको सामना गर्दै नटआउट रहेर १ सय १८ रन बनाए । उनले ११ चौका र ८ छक्का प्रहार गरे । उनलाई ओपनर मिचेल मार्सले राम्रो साथ दिए । दुवैले मात्र ७८ बलमा १५२ रनको साझेदारी गरे ।
१६ औँ ओभरमा भुवनेश्वरको कुमारको बलमा आउट हुनअघि उनले ३७ बलमा ६७ रन जोडे । उनले ४ चौका र ५ छक्का बनाए । ओपनर म्याथ्यु ब्रिट्जकीले १२ बलमा १४ रन बनाउँदै १ चौका र १ छक्का हिर्काए । निकोलस पुरनले १० बलमा १३ रन बनाए । उनले १ चौका हिर्काए ।
बेंगलुरुका लागि नुवान थुसारा, भुवनेश्वर कुमार र रोमारियो सेफर्डले १–१ विकेट लिए । आईपीएलको जारी संस्करणमा पञ्जाब किङ्स, गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेंगलुरु र मुम्बई इन्डियन्स प्ले–अफ चरणमा पुगिसकेका छन् । पञ्जाब १९ अंकसहित तालिकाको पहिलो र गुजरात १८ अंकसहित दोस्रो स्थानमा आसीन छन् ।
यो खेलपछि प्ले–अफ चरणमा पुगिसकेका चारमध्ये पहिलो क्वालिफायर खेल्ने माथिल्ला दुई टोली र एलिमिनेटर खेल्ने बाँकी दुई टोलीको टुङ्गो लाग्नेछ ।
बेंगलुरु १७ अंकसहित तेस्रो र मुम्बई १६ अंकसहित चौथो स्थानमा छन् । मुम्बईले प्रतियोगिताको एलिमिनेटर खेल्ने पक्का भइसकेको छ । तर, पञ्जाबले भने पहिलो क्वालिफायर खेल्ने निश्चित भइसकेको छ ।
बाँकी रहेका दुई टोली गुजरात र बेंगलुरुमध्ये एउटा टोलीले मुम्बईसँग एलिमिनेटर र अर्को टोलीले पञ्जाबसँग पहिलो क्वालिफायर खेल्नुपर्ने अवस्था छ । यसको टुङ्गो भने मंगलबार हुने बेंगलुरु र लखनउबिचको खेलले लगाउने छ ।
यो खेलमा लखनउलाई हराउन सके बेंगलुरुले पञ्जाबसँग पहिलो क्वालिफायर खेल्नेछ । तर, यो खेलमा पराजित भए बेंगलुरुले मुम्बईसँग एलिमिनेटर चरणमा भिडन्त गर्नुपर्नेछ । यो खेल अनिर्णीत रूपमा सकिए नेट रन रेटका आधारमा पहिलो क्वालिफायर र एलिमिनेटर खेल्ने टोलीको टङ्गो लाग्नेछ ।
खेल अनिर्णीत रूपमा सकिएको अवस्थामा गुजरात र बेंगलुरुको १८–१८ अंक हुनेछ । त्यसपछि नेट रन रेट निर्णायक बन्नेछ । हाल नेट रन रेटमा गुजरात थोरैले अगाडि छ । गुजरातको नेट रन रेट ०।२५४ र बेंगलुरुको नेट रन रेट ०।२५५ रहेको छ ।
जारी सिजनको आईपीएलमा लखनउ र बेंगलुरु पहिलो पटक आपसमा भिड्दै हुन् । बेंगलुरुले आईपीएलमा सधैँ उत्कृष्ट प्रदर्शन गर्दै आए पनि हालसम्म उपाधि भने जित्न सकेको छैन । बेंगलुरु आईपीएलमा तीनपटक फाइनलमा पुगेर पराजित भएको छ । बेंगलुरु सन् २००९ मा पहिलो पटक फाइनलमा पुगेको थियो ।
त्यतिबेला फाइनलमा बेंगलुरुलाई डेक्कन चार्जर्सले ६ रनले हराएको थियो । सन् २०११ को फाइनलमा बेंगलुरुलाई चेन्नईले ५८ रनले हराएको थियो । सन् २०१६ को फाइनलमा बेंगलुरुको टोली सनराइजर्स हैदराबादसँग आठ विकेट पराजित भएको थियो ।
उपाधि होडबाट बाहिरिइसकेको लखनउका लागि भने हार वा जितले ठुलै अर्थ राख्दैछ । लखनउ हाल १२ अंकसहित तालिकाको सातौँ स्थानमा आसीन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पालिकाद्वारा किसानलाई अनुदानमा धानको बीउ वितरण
-
लिभरपुल कार आक्रमण : भीडभाडमा धेरै मान्छेको हत्या प्रयास गरेको आरोपमा ५३ वर्षीय व्यक्ति पक्राउ
-
लोकतन्त्र र प्रजातन्त्रमा प्रदेश सरकारको अटुट विश्वास छः मुख्यमन्त्री लामा
-
कप्तान जितेश र विराट चम्किएपछि लखनउविरुद्ध बैंग्लुरुको शानदार जित
-
१२ बजे, १२ समाचार : विकास निर्माणमा बेथितिदेखि रवि थुनामुक्त नभएपछि रास्वपामा कमाण्डरको खोजीसम्म
-
दुई वर्षमा २७ किलोमिटर पदमार्ग निर्माण