झलनाथलाई ७ प्रश्न : माधव नेपालसँग बोलचाल बन्द भएको हो ?

समाचार सारांश
- नेकपा (एकीकृत समाजवादी) ले 'सुशासन र रोजगारी, समाजवादको तयारी' नाराका साथ दोस्रो चरणको आन्दोलन सुरु गरेको छ। तर, पार्टीको समाजवादी कार्यक्रम अझै प्रकाशित नभएकोमा नेता झलनाथ खनालले असन्तुष्टि जनाए।
- पार्टीभित्रको आन्दोलनको औचित्य र समाजवादी कार्यक्रम सार्वजनिक नहुँदा पार्टीमा ऊर्जा कम भएको खनालको भनाइ छ। उनले पार्टी नेतृत्वमा तालमेलको कमी र कमजोरी औंल्याए।
- खनालले पार्टीमा देखिएका समस्या समाधान गर्न र वैज्ञानिक समाजवादतर्फ अघि बढ्न आवश्यक रहेको बताए, साथै पतञ्जलि जग्गा प्रकरणमा पार्टी मौन रहेकोमा सचिवालय बैठक बोलाउनुपर्नेमा जोड दिए।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) यतिवेला ‘सुशासन र रोजगारी, समाजवादको तयारी’को नारा अघि सारेर दोस्रो चरणको आन्दोलनमा छ । तर, दसौँ राष्ट्रिय महाधिवेशनले झन्डै एक वर्षअघि पारित गरेको पार्टीको समाजवादी कार्यक्रम अझै प्रकाशित गरेको छैन ।
अर्कोतिर पार्टी गठन गर्दा नेता कार्यकर्तामा देखिएको उत्साह बिस्तारै सेलाउँदै गएको छ । पार्टीको नेतृत्वमा दुई पूर्वप्रधानमन्त्रीहरू भए पनि पार्टीले गति लिन नसकेको देखिन्छ । पार्टीभित्र यस्तो अवस्था किन आयो ? रातोपाटीले नेकपा समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई सोधेको छ ।
उनीसँग गरिएका सात सवालजवाफ–
- पार्टी पहिलो चरणको आन्दोलन सकेर दोस्रोमा छ, आन्दोलनको औचित्य के हो ?
हाम्रो पार्टीले दशौँ राष्ट्रिय महाधिवेशन गरेको अब एक वर्ष पुग्न लागेको छ । यो अवधिसम्म महाधिवेशनले पारित गरेका सबै दस्ताबेज नै प्रकाशित गरिसकेका छैनौँ । त्यसमाथि पनि नेपाली विशेषताको समाजवादी कार्यक्रम त प्रकाशित नै भएको छैन ।
हाम्रो लक्ष्य के हो भन्ने कुरा नै जनता, कार्यकर्ता र पार्टी सदस्यबिच पुर्याइसकेका छैनौँ । यो अवस्थामा हामीले जतिसुकै कल्पना गरे पनि ठुला आन्दोलनको आधार तयार भइसकेको छैन ।
- तपाईं पार्टीले अहिले गरिरहेको आन्दोलनको विपक्षमा हो र ?
आन्दोलनको विपक्षमा म सिङ्गो जीवनमै हुन्नँ । भविष्यमा पनि हुन्न र विगतमा पनि थिइनँ । तर कम्युनिस्ट पार्टीहरूले गर्ने आन्दोलन सचेत रूपले, योजनाबद्ध ढंगले र उद्देश्यमूलक ढंगले गर्ने गरिन्छ । हामीले आफ्नो लक्ष्यका रूपमा रहेको समाजवादी कार्यक्रमलाई आफ्नै पार्टीभित्र पुर्याउन नसकेको अवस्थामा के उद्देश्यका लागि हामी संघर्ष गर्छौ भन्ने प्रश्नको जवाफ दिने वेला भएकै छैन । आन्दोलनका निम्ति आवश्यक आत्मगत र वस्तुगत तयारीको कुरा हुन्छ, यो आत्मगत तयारी भइनसकेको अवस्था हो ।
- पार्टीको नाम समाजवादी, समाजवादमा पुग्ने लक्ष्यसहितको आन्दोलन भनिएका छ । तर समाजवादी दस्ताबेज सार्वजनिक नगर्नुले विचार र कार्यक्रमबिच तालमेल नमिलेको हो किजस्तो देखिन्छ नि ?
हो तालमेल मिलिरहेको छैन । यो तालमेल नमिलेको कुराप्रति हाम्रो नेतृत्वले जुन गहिराइकासाथ अनुभूत गर्नुपर्ने र यी समस्याहरूलाई समाधान गरेर सिङ्गो पार्टीलाई एकताबद्ध बनाएर लानुपर्नेमा केही गम्भीर कमजोरीहरू देखा परेका छन् । यो महसुस गरेर कमजोरी हटाउने पहिलो आवश्यकता हो भन्ने मलाई महसुस भएको छ ।
- पार्टीमा ऊर्जा बढ्नुको साटो खिइँदै र क्षयीकरणतर्फ गएकोजस्तो देखिन्छ, यसो हुनुमा कारण के देख्नुहुन्छ ?
मुख्य कुरा हाम्रो पार्टी समाजवादी क्रान्ति र रूपान्तरणको पक्षमा दृढतापूर्वक उभिनुपर्ने हो । हामीले भनेका पनि छौँ, महाधिवेशनले पारित पनि गरेको छ– अब हाम्रो लक्ष्य वैज्ञानिक समाजवाद हो । त्यो वैज्ञानिक समाजवाद प्राप्त गर्ने कार्यदिशा, नीति, सिद्धान्त, रणनीति, कार्यनीति, कार्यक्रम, कार्यशैली र संगठनात्मक ढाँचामा एकरूपताका साथ पहलकदमी लिन सक्ने अवस्थामा पुग्नुपर्छ ।
तर त्यो कुरामा केही समस्याहरू छन् । त्यसले गर्दा पार्टीले जसरी अग्रगति प्राप्त गर्नुपर्ने थियो, त्यो हुन सकिरहेको छैन । यी भित्री अलमल र समस्यालाई चाँडो समाधान गर्नुपर्ने पार्टीका डेढ लाख सदस्यहरूको भनाइ छ ।
- पार्टीभित्रको मुख्य समस्या के हो ? अध्यक्ष र तपाईंबिच खासै बोलचाल र छलफलसमेत हुँदैन भनिन्छ, वास्तविकता पनि यस्तै हो त ?
यो पार्टी विद्रोह गरेर बनाउँदा नै दक्षिणपन्थी अवसरवादविरुद्ध संघर्ष गर्ने र वैज्ञानिक समाजवादका पक्षमा दृढतापूर्वक अगाडि बढ्ने भन्ने थियो । हामीले दशौँ महाधिवेशन गर्दा पनि ‘दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, वैज्ञानिक समाजवादको दिशामा दृढतापूर्वक अगाडि बढाऔँ’ भन्ने आम नारा अगाडि सारेका थियौँ । त्यो दिशामा एकताबद्ध भएर बढ्ने हो भने यो पार्टीले जति तीव्र विकास गर्ने सम्भावना अरू कुनै पार्टीको छैन । तर वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद भन्ने कुरामा अहिले पनि नेतृत्व पंक्ति हाराबारा खेलिरहेको अवस्था छ । यस्तो हाराबारा जहिलेसम्म रहन्छ, त्यसवेलासम्म यो पार्टीको अग्रगतिमा पूर्ण खग्रास चन्द्र ग्रहण लागिरहन्छ ।
- पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि पतञ्जलि जग्गा प्रकरणबारे प्रश्न उठिरहेको छ, तर पार्टी मौन छ । नेतृत्वमाथि पटक–पटक यस्ता प्रश्न उठ्नुले पार्टीको भविष्य के होला त ?
पतञ्जलि जग्गाबारे मिडियामा जे चर्चा भइरहेको छ । यदि यो सत्य हो भने पार्टीको सचिवालय बैठक अविलम्ब राखिनुपर्ने र यसबारे चलिरहेका चर्चा के हुन् त्यसबारे छलफल हुनुपर्ने हो । र, यदि गलत प्रचार हुन् भने खण्डन हुनुपर्ने आवश्यकता हो ।
- यसका लागि बैठकमा छलफल गर्ने कुनै तयारी छैन ?
अहिलेसम्म बैठकका लागि कुनै सूचना आइसकेको छैन । तर मिडियाहरूमा जुन ढंगले प्रचारहरू भइरहेका छन्, ती गम्भीर छन्, हानिकारक पनि छन् । तपाईंले पार्टीको भविष्य र अस्तित्वको जे कुरा गर्नुभयो, यसमा हाम्रो पार्टीको अस्तित्व समाप्त हुने कुराको म कल्पना पनि गर्न सक्दिनँ ।
तर पार्टीमा विविध कारणले वैचारिक, राजनीतिक र संगठनात्मक पुनर्गठन अनिवार्य छ । त्यो हुँदै पनि आएको छ, तर अब झन् बढी तीव्रताका साथ हुनुपर्ने भएको छ । त्यसैले हामी यो पार्टीलाई अझ बढी पुनर्गठित, व्यवस्थित र रूपान्तरित गर्छौँ र नयाँ उचाइमा पुर्याएर छाड्छौँ भन्ने हामीसँग संकल्प कायमै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य विपद् व्यवस्थापनको पूर्व तयारीबारे छलफल, गृहमन्त्रीले दिए यस्तो निर्देशन
-
संसद्को अवरोध खोल्न बसेको तीन दलको बैठकमा जुटेन सहमति
-
एलिनाको स्वरमा ‘म त एक्लै ज्यूँछु बरु’ सार्वजनिक
-
अनेरास्ववियुको अध्यक्षका लागि ५ जना सचिवहरूबिच प्रतिस्पर्धा
-
प्रेस काउन्सिल नेपालमा ६ सदस्य नियुक्त
-
एकदिवसीयमा कहिल्यै भुल्न नसकिने म्याक्सवेलका ती १० इनिङ्स