मौद्रिक नीतिको प्रभाव टिकेन: ६६ अंक बढेको बजार घटेर बन्द

समाचार सारांश
- सेयर बजार परिसूचक २.९७ अंकले घटेर २६७७ विन्दुमा बन्द भयो।
- आज ७ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा ९२ कम्पनीको मूल्य बढ्यो भने १५५ को घट्यो।
- मौद्रिक नीतिको समीक्षापछि सुरुमा बजार बढे पनि अन्त्यमा बिक्रीकर्ता हावी हुँदा बजार घट्यो।
काठमाडौँ । सेयर बजार परिसूचक घटेर बन्द भएको छ । प्रि–ओपनिङ सेसन र कारोबारको पहिलो केही मिनेटभित्रै करिब ६६ अंक माथि पुगेको बजार अन्तमा २.९७ अंकले घटेको हो । योसँगै परिसूचक २६७७ विन्दुमा झरेको छ ।
आज बजारमा ७ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । आज बजारमा ९२ कम्पनीको मूल्य बढ्दा १५५ कम्पनीको मूल्य घटेको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै शेयर बजारसँग सम्बन्धित विषयमा खुकुलो नीति लिएको थियो । यसको प्रभावस्वरुप सुरुमा बजार बढे पनि पछि बिक्रेता हाबी हुँदा बजार घटेको देखिन्छ ।
समग्र बजार घटे पनि बैंकिङ लगायतका केही परिसूचक बढेको छ । बजारमा होटल र माइक्रोफाइनान्स लगायतका सूचक घटेका छन् ।
आज बजारमा ओम मेगाश्री हाइड्रोपावरको मूल्य सकारात्मक सर्किट लाग्दा गुराँस लघुवित्त र बाराही हाइड्रोपावरको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
बजारमा आज राधी जलविद्युत् कम्पनीको शेयर सर्वाधिक कारोबार भएको छ । ङादी ग्रुप पावर कारोबार संख्या र शेयर सङ्ख्याका आधारमा अगाडि छ ।