क्वालिफायर–१ खेल्ने बेंगलुरुको योजनामा बाधक बन्नसक्छ उपाधि होडबाट बाहिरिएको लखनउ

समाचार सारांश
- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरु र लखनउ सुपर जायन्ट्सबीचको खेल मंगलबार हुँदैछ, जसले प्लेअफ समीकरण निर्धारण गर्नेछ।
- बेंगलुरु प्लेअफमा पुगिसकेको छ, तर लखनउ उपाधि होडबाट बाहिरिएको छ, र खेलको नतिजाले प्लेअफका टोलीहरूको स्थान निर्धारण गर्नेछ।
- खेल लखनउस्थित इकाना स्टेडियममा हुनेछ, जहाँ पिचको अवस्था अनिश्चित रहेको छ र मौसम सफा रहनेछ।
काठमाडौँ । इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा लिग चरणको अन्तिम खेल मंगलबार खेलिँदैछ । यो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले लखनउ सुपर जायन्ट्सको सामना गर्दैछ । खेल लखनउपस्थित इकाना स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ ।
जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ७०औँ खेल हो । यो खेलपछि प्ले–अफ चरणमा पुगिसकेका चारमध्ये पहिलो क्वालिफायर खेल्ने माथिल्ला दुई टोली र एलिमिनेटर खेल्ने बाँकी दुई टोलीको टुङ्गो लाग्नेछ ।
बेंगलुरु प्रतियोगिताको प्ले–अफ चरणमा पुगिसकेको छ भने लखनउ यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । जारी सिजनको आईपीएलमा लखनउ र बेंगलुरु पहिलो पटक आपसमा भिड्न लागेका हुन् ।
रोयल च्यालेन्जर्स बेंगलुरुले आईपीएलमा सधें उत्कृष्ट प्रदर्शन गर्दै आए पनि हालसम्म उपाधि भने जित्न सकेको छैन । बेंगलुरु आईपीएलमा तीनपटक फाइनलमा पुगेर पराजित भएको छ । बेंगलुरु सन् २००९ मा पहिलो पटक फाइनलमा पुगेको थियो ।
त्यतिबेला फाइनलमा बेंगलुरुलाई डेक्कन चार्जर्सले ६ रनले हराएको थियो । सन् २०११ को फाइनलमा बेंगलुरुलाई चेन्नईले ५८ रनले हराएको थियो । सन् २०१६ को फाइनलमा बेंगलुरुको टोली सनराइजर्स हैदराबादसँग आठ विकेट पराजित भएको थियो ।
अर्कोतिर, लखनउ सुपर जायन्ट्सले हालसम्म आईपीएलको उपाधि चुम्न सकेको छैन । आईपीएलमा लखनउको सहभागिताको इतिहासमा पनि खासै लामो छैन । सन् २०२२ देखि लखनउले आईपीएलमा सहभागिता जनाउन थालेको हो ।
लखनउ सुपर जायन्ट्स हालसम्म दुईपटक आईपीएलको प्लेअफ चरणमा पुगेको छ । यो नै लखनउको सबैभन्दा ठुलो उपलब्धि हो । लखनउ सन् २०२२ र सन् २०२३ को संस्करणमा प्लेअफ चरणसम्म पुगेको थियो ।
अंक तालिकाको समीकरण
आईपीएलको जारी संस्करणमा पञ्जाब किङ्स, गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेंगलुरु र मुम्बई इन्डियन्स प्ले–अफ चरणमा पुगिसकेका छन् । पञ्जाब १९ अंकसहित तालिकाको पहिलो र गुजरात १८ अंकसहित दोस्रो स्थानमा आसीन छन् ।
बेंगलुरु १७ अंकसहित तेस्रो र मुम्बई १६ अंकसहित चौथो स्थानमा छन् । मुम्बईले प्रतियोगिताको एलिमिनेटर खेल्ने पक्का भइसकेको छ । तर, पञ्जाबले भने पहिलो क्वालिफायर खेल्ने निश्चित भइसकेको छ ।
बाँकी रहेका दुई टोली गुजरात र बेंगलुरुमध्ये एउटा टोलीले मुम्बईसँग एलिमिनेटर र अर्को टोलीले पञ्जाबसँग पहिलो क्वालिफायर खेल्नुपर्ने अवस्था छ । यसको टुङ्गो भने मंगलबार हुने बेंगलुरु र लखनउबिचको खेलले लगाउने छ ।
यो खेलमा लखनउलाई हराउन सके बेंगलुरुले पञ्जाबसँग पहिलो क्वालिफायर खेल्नेछ । तर, यो खेलमा पराजित भए बेंगलुरुले मुम्बईसँग एलिमिनेटर चरणमा भिडन्त गर्नुपर्नेछ । यो खेल अनिर्णीत रूपमा सकिए नेट रन रेटका आधारमा पहिलो क्वालिफायर र एलिमिनेटर खेल्ने टोलीको टङ्गो लाग्नेछ ।
खेल अनिर्णीत रूपमा सकिएको अवस्थामा गुजरात र बेंगलुरुको १८–१८ अंक हुनेछ । त्यसपछि नेट रन रेट निर्णायक बन्नेछ । हाल नेट रन रेटमा गुजरात थोरैले अगाडि छ । गुजरातको नेट रन रेट ०.२५४ र बेंगलुरुको नेट रन रेट ०.२५५ रहेको छ ।
त्यसैले लखनउभन्दा पनि बेंगलुरुका लागि यो खेल निकै महत्त्वपूर्ण छ । उपाधि होडबाट बाहिरिइसकेको लखनउका लागि भने हार वा जितले ठुलै अर्थ राख्दैछ । लखनउ हाल १२ अंकसहित तालिकाको सातौँ स्थानमा आसीन छ ।
बेंगलुरुलाई हराउन सके लखनउले तालिकाको छैटौँ स्थानमा रहेर जारी सिजनको आईपीएल टुंग्याउने छ । त्यसैले गुमाउन बाँकी केही नरहेको लखनउ मंगलबारको खेलमा बलियो बेंगलुरुका लागि घातक बन्न सक्छ ।
- हेड टु हेडमा एक खेलले बेंगलुरु अगाडि
आईपीएलमा हालसम्म रोयल च्यालेन्जर्स बेंगलुरु र लखनउ सुपर जायन्ट्सबिच कुल पाँच खेल खेलिएको छ । त्यसमध्ये तीन खेलमा बेंगलुरुले लखनउलाई हराएको छ । लखनउले भने दुई खेलमा बेंगलुरुलाई पराजित गरेको छ ।
यसअघि, सन् २०२४ को आईपीएलमा पनि यी दुई टोलीबिच एकपटक मात्र भिडन्त भएको थियो । त्यो खेलमा लखनउले बेंगलुरुलाई २८ रनले हराएको थियो । त्यसअघि, सन् २०२३ को आईपीएलमा यी दुई टोलीबिच दुई खेल खेलिएको थियो । दुवै टोलीले एक–एक खेल जितेका थिए ।
- लयमा छन् लखउनका मार्श र मार्क्रम
आईपीएलको जारी सिजनमा लखनउ सुपर जायन्ट्सका लागि माथिल्लो क्रमका ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्दै आएका छन् । अघिल्लो खेलमा लखनउले गुजरातलाई ३३ रनले हराएको थियो । त्यो खेलमा मिचेल मार्शले शतक र निकोशल पुरनले अर्धशतक बनाएका थिए ।
कप्तान ऋषभ पन्त भने लयमा देखिएका छैनन् । एकपछि अर्को निराशाजनक प्रदर्शनपछि ऋषभ आफ्नो अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्ने धुनमा रहने छन् । मिचेल मार्श जारी सिजनको आईपीएलमा चौथो सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् ।
उनले हालसम्म १२ खेल खेल्दै कुल पाँच सय ६० रन बनाएका छन् । उनले अघिल्लो खेलमा एक सय १७ रन बनाएका थिए । एडेन मार्क्रमले पनि १३ खेलमा चार सय ४५ रन बनाएका छन् । लखनउका लागि सर्वाधिक विकेट लिने बलर भने दिग्वेश राठी हुन् ।
निलम्बनमा परेका कारण उनले अघिल्लो खेल खेल्न पाएका थिएनन् । उनले हालसम्म १२ खेलमा १४ विकेट लिइसकेका छन् । उनी मंगलबारको खेलमा भने टोलीमा रहनेछन् । शार्दुल ठाकुर, रवी बिश्नोई, आवेश खानजस्ता प्रभावशाली बलर पनि लखनउको टोलीमा छन् ।
- बेंगलुरुको सर्वाधिक रन विराटको नाममा
जारी सिजनको आईपीएलमा रोयल च्यालेन्जर्स बेंगलुरुका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान विराट कोहली हुन् । उनले एकपछि अर्को उत्कृष्ट पाली खेल्दै आएका छन् । उनले हालसम्म कुल पाँच सय ४८ रन बनाइसकेका छन् ।
यस क्रममा विराटले सातवटा अर्धशतक पनि प्रहार गरेका छन् । जारी सिजनको आईपीएलमा सातवटा अर्धशतक प्रहार गर्ने उनी एकमात्र ब्याट्सम्यान हुन् । विराट यो सिजनको आईपीएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा छैटौँ स्थानमा आसीन छन् ।
बेंगलुरुका लागि सर्वाधिक विकेट लिने बलर भने जस हेजलउड हुन् । उनी बिचमा अस्ट्रेलिया फर्किएका थिए । तर, उनी बेंगलुरुसँग जोडिन भारत फर्किसकेका छन् । हेजलउडले १० पालीमा कुल १८ विकेट लिइसकेका छन् ।
इकाना स्टेडियमको अन्योलपूर्ण पिच
रोयल च्यालेन्जर्स बेंगलुरु र लखनउ सुपर जायन्ट्सबिच मंगलबारको खेल हुने लखनउस्थित अटल बिहारी बाजपेई (इकाना) स्टेडियमको पिचले अचम्मको ब्यवहार देखाउने गरेको छ । यो पिचले कहिले बलरलाई त कहिले ब्याट्सम्यानलाई साथ दिने गरेको छ ।
त्यसैले कालो र रातो माटोले तयार पारिएको यो पिचमा कहिले ठुलो स्कोर बन्छ भने कहिले निकै कम योगफलमा टोलीहरू समेटिने गरेका छन् । यो स्टेडियममा हालसम्म आईपीएलको कुल २१ खेल खेलिएको छ ।
त्यसमध्ये नौ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । ११ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् । एक खेल भने अनिर्णीत रूपमा सकिएको छ ।
- छैन वर्षाको सम्भावना
लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच खेल हुने दिन मंगलबार लखनउको मौसम सफा रहने छ । त्यहाँको जल तथा मौसम विज्ञान विभागका अनुसार, मंगलबार वर्षाको कुनै सम्भावना छैन । तापक्रम ३५ देखि ४२ डिग्री सेल्सियसको बिचमा रहनेछ ।
- सम्भावित टोली
लखनउ सुपर जायन्ट्स : ऋषभ पन्त (कप्तान तथा विकेटकिपर), मिचेल मार्श, एडेन मारक्रम, निकोलस पुरन, आयुष बदोनी, अब्दुल समाद, हिम्मत सिंह, दिग्वेश राठी, आकाश दीप, आवेश खान र विलियम ओ’रुर्क ।
रोयल च्यालेन्जर्स बेंगलुरु : रजत पाटिदार (कप्तान), फिल साल्ट, विराट कोहली, जितेश शर्मा (विकेटकिपर), टिम डेभिड, रोमारियो शेफर्ड, क्रुणाल पाण्ड्या, भुवनेश्वर कुमार, यश दयाल, जस हेजलउड र सुयंश शर्मा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : विकास निर्माणमा बेथितिदेखि रवि थुनामुक्त नभएपछि रास्वपामा कमाण्डरको खोजीसम्म
-
दुई वर्षमा २७ किलोमिटर पदमार्ग निर्माण
-
गोर्खा कपको उपाधि नेपाल ड्रिम टिमलाई, १५ हजारभन्दा बढीको सहभागिता
-
१० बजे १० समाचार : भिजिट भिसा प्रकरणले संसद्मा हंगामा, गभर्नरविरूद्ध अर्को रिट
-
बुधबारदेखि काठमाडौँमा २२ औँ किम्फ महोत्सव सुरु हुँदै
-
कप्तान ऋषभ चम्किँदा बेंगलुरुसामु जितका लागि २ सय २८ रनको लक्ष्य