बिहीबार, १५ जेठ २०८२
ताजा लोकप्रिय
खेलाडी

भारतीय क्रिकेटमा उथलपुथल ल्याउने कोहलीको संन्यास

बुधबार, १४ जेठ २०८२, ०९ : १३
बुधबार, १४ जेठ २०८२

समाचार सारांश

  • विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरे, जसलाई मानसिक थकान, पारिवारिक कारण र व्यापारिक सञ्जालसँग जोडिएको छ।
  • उनले १४ वर्ष लामो टेस्ट खेल जीवनमा उत्कृष्ट प्रदर्शन गर्दै भारतीय ब्याटिङको खम्बाको रूपमा पहिचान बनाए।
  • कोहली भारतको सर्वाधिक सफल टेस्ट कप्तान हुन् र उनको नेतृत्वमा भारतले टेस्ट क्रिकेटमा सुनौलो युग अनुभव गर्यो।

काठमाडौँ । चर्चित भारतीय क्रिकेटर विराट कोहलीले वैशाख २९ गते टेस्ट क्रिकेटबाट अप्रत्याशित रूपमा संन्यासको घोषणा गरे । आफ्ना सहकर्मी रोहित शर्मालाई पछ्याउँदै सन्न्यासको घोषणा गरेका थिए, कोहलीले । त्यसअघि रोहितले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका थिए । 

टेस्टमात्र होइन, टी–२० अन्तर्राष्ट्रियबाट पनि भारतीय क्रिकेटका यी दुई हस्तीले एक अर्कालाई पछ्याउँदै सन्न्यास लिएका थिए । सामाजिक सञ्जाल इन्स्टाग्रामको एक पोस्टमार्फत विराटले टेस्ट क्रिकेटबाट आफ्नो संन्यासको निर्णयको समयलाई लिएर ‘उपयुक्त समय’ भनेका छन् । 

तर, धेरै क्रिकेट विश्लेषकले उनको सन्न्यासको निर्णयलाई पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर कमजोर प्रदर्शन, मानसिक थकान, परिवारसँग समय बिताउने व्यग्र चाहना, परोपकारी संस्थाको काम र आफ्नो फैलँदो व्यापारिक सञ्जालसँग जोडेर हेरेका छन् । 

400661

आफ्नो १४ वर्षे लामो टेस्ट खेल जीवनमा ‘किङ कोहली’ का रूपमा आफ्नो गहकिलो परिचय बनाएका विराट भारतीय ब्याटिङ लाइनको खम्बा मानिन्थे । आगामी महिना इङ्ल्यान्डमा आयोजना हुन् लागेको टेस्ट क्रिकेटमा कोहलीको अनुपस्थितिले भारतीय टोलीलाई ठुलो धक्का पुगेको धारणा राख्नेहरूको पनि कमी छैन । 

समकालीन विश्व क्रिकेटका महान् खेलाडीमध्येका एक कोहलीले १० हजार टेस्ट रनको कोशेढुंगा पार गरेरमात्र सन्न्यास लिने धेरैको अनुमान थियो । तर, त्यो सत्य भएन । उनले टेस्ट क्रिकेटमा एक सय २३ खेल खेल्दै कुल नौ हजार दुई सय ३० रन बनाएका छन् । 

यस क्रममा उनले टेस्ट क्रिकेटमा ३० शतक र ३१ अर्धशतक पनि प्रहार गरेका छन् । टेस्ट क्रिकेटमा उनको औसत ४६.८५ र स्ट्राइक रेट ५५.५७ रहेको छ । टेस्ट क्रिकेटमा यो लोभलाग्दो तथ्याङ्क हो । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर भने अविजित दुई सय ५४ रन हो । 

यी आंकडाले कोहलीलाई भारतको क्रिकेट इतिहासमै सर्वकालिक शीर्ष पाँच ब्याट्सम्यानको सूचीमा उभ्याएको छ । तर, उनको विरासत भने ब्याटिङका यी उपलब्धिमा मात्र सीमित छैन । ३६ वर्षीय कोहलीले गत वर्ष भारतले आईसीसी टी–२० विश्वकपको उपाधि जितेपछि यो ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिताबाट पनि संन्यास लिएका थिए । तर, उनी एकदिवसीय ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगितामा भने अहिले पनि सक्रिय छन् । 

  • टेस्ट क्रिकेटमा शिखरको यात्रा

विराट कोहली आफ्नो पुस्ताका महान् भारतीय ब्याट्सम्यान हुन् । विराटले सन् २०११ मा आफ्नो टेस्ट खेलजीवन सुरु गरेका थिए । उनले आफ्नो पहिलो टेस्ट वेस्ट इन्डिजविरुद्ध खेलेका थिए । उनले आफ्नो अन्तिम टेस्ट भने सन् २०२५ को जनवरी अस्ट्रेलियासँग उसैको घरेलु मैदानमा खेलेका थिए । 

टेस्ट क्रिकेटमा विराटसँग एउटा रमाइलो संयोग पनि जोडिएको छ । उनले आफूले टेस्ट क्रिकेट खेलेको हरेक राष्ट्रका टोलीविरुद्ध शतक बनाएका छन् । त्यसमध्ये आधाभन्दा बढी शतक त उनले विदेशी भूमिमा बनाएका छन् । विराटले अस्ट्रेलियामा सातवटा शतक बनाएका छन् । यो तथ्याङ्क अस्ट्रेलियन भूमिमा कुनै पनि विदेशी खेलाडीले बनाएको दोस्रो धेरै शतक हो । 

विराट सन् २०१४ देखि सन् २०१९ सम्म आफ्नो खेलजीवनको शिखरमा थिए । त्यो अवधिमा उनले टेस्ट क्रिकेटमा औसतमा ६० रन बनाएका थिए । उनी त्यसबेला विश्वकै चार महान् टेस्ट ब्याट्सम्यानको सूचिमा पर्थे । जसमा विराटसँगै अस्ट्रेलियाका स्टिभन स्मिथ, न्युजिल्यान्डका केन विलियम्सन र इङ्ल्यान्डका जो रुट थिए ।

सोही अवधिमा १८ महिनाभित्रै विराटले ६ वटा त दोहोरो शतक प्रहार गरेका थिए । सोही अवधिमा उनी १३ महिनासम्म आईसीसी टेस्ट ब्याट्सम्यान वरीयताको सूचिमा पहिलो स्थान ओगट्न सफल भएका थिए । यसले पनि उनको उत्कृष्ट खेल क्षमतालाई दर्साउँछ ।

  • उत्कृष्ट नेतृत्व शैली

कोहली भारतका सर्वाधिक सफल टेस्ट कप्तान पनि हुन् । उनले कप्तानी गरेको सन् २०१४ देखि सन् २०२२ सम्मको अवधिमा भारतको टेस्ट क्रिकेट सुनौलो युगमा थियो । त्यो अवधिमा खेलिएको ६८ मध्ये ४० टेस्टमा अर्थात् ५९ प्रतिशत खेलमा भारत विजयी भएको थियो ।

त्यो अवधिमा भारतले घरेलु मैदानमा कुनै टेस्ट शृङ्खला हारेको थिएन । सन् २०१६ देखि सन् २०२० सम्म भारत टेस्ट वरीयताको पहिलो स्थानमा रहन सफल भएको थियो । सन् २०१८–१९ मा अस्ट्रेलियामा भएको टेस्टमा भारतले पहिलो जितसमेत हात पार्न सफल भयो । यी तथ्यांकले कोहलीलाई भारतको सर्वाधिक सफल टेस्ट कप्तानको रूपमा देखाउँछ । 

विराटको छवि यी तथ्याङ्कमा मात्र सीमित थिएन । उनी आकर्षक र आक्रामक कप्तानका रूपमा पनि परिचित थिए । उनले आक्रामक रूपमा रन बनाउँदै भारतको टेस्ट क्रिकेटमा नयाँ आयाम पनि थपेका थिए । साथै उनले भारतमा टेस्ट क्रिकेटलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन ल्याएका थिए ।

अनिवार्य शारीरिक तन्दुरुस्तीको परीक्षण, सुधारिएको खानपान तथा विभिन्न प्रकारका ‘रिकभरी अभ्यासहरू’ ले भारतीय टोलीको विशेषतामा नयाँ आयाम थप्ने काम गरेको थियो । यसको श्रेय कोहलीलाई नै जान्छ । भारतको पछिल्लो सफलतामा बलिङ शैलीमा आएको परिवर्तनको पनि महत्त्वपूर्ण हात छ । सामान्यतः स्पिनरहरूको बोलबाला रहेको भारतीय क्रिकेटमा कोहलीले विश्वस्तरीय तीव्र गतिको बलिङलाई प्रोत्साहन गरेका थिए । यसले भारतको बलिङ शैलीमा पनि व्यापक हेरफेर ल्याइदियो ।

  • मैदानमा घोचपेच र विवाद

असीमित ऊर्जा, जोस र आक्रामकताले विराटलाई ब्याट्सम्यान तथा भारतीय टोलीको कप्तानका रूपमा सफलता दिलाउन योगदान मात्र गरेन, विपक्षी खेलाडीहरूसँग पटक–पटकका विवादमा पनि अल्झायो । धेरै मानिस उनको यस्तो व्यवहारलाई अपमानजनक र अहङ्कारी मान्ने गर्छन् ।

खेल अवधिमा विभिन्न मौकामा गरिने उनका आक्रामक सेलिब्रेसन र त्यस्तैखालका शारीरिक हाउभाउलाई लिएर क्रिकेटका परम्परागत दर्शकहरूले आलोचना गर्ने गरेका छन् । धेरैजसो यस्ता विवाद उनले अस्ट्रेलियामा सामना गर्नुपर्‍यो । अस्ट्रेलियाका दर्शक र खेलाडीसँग उनको सधैँ ‘लभ एन्ड हेट’ को सम्बन्ध रह्यो ।

यस्ता उत्ताउला उदाहरण धेरै छन् । उनले धेरैपटक दर्शकको भिडलाई असभ्य इसारा गर्ने गरी माझी औँला पनि देखाएका छन् । सन् २०१८ मा अस्ट्रेलियाली खेलाडीले क्रिकेट बललाई घोट्नका लागि ‘स्यान्ड पेपर’ प्रयोग गरेको भनिएको घटनाको खिल्ली उडाउन विराटले ‘स्यान्ड पेपर’ घोटेको हाउभाउ पनि निकै पटक गरेका छन् । साथै खेलका क्रममा आफूभन्दा निकै कान्छा अस्ट्रेलियाली ब्याट्सम्यान साम कोन्सटाससँग कुम जुधाउन पनि भ्याएका छन् । 

  • टेस्ट क्रिकेटमा विराट छाप 

एक दशकभन्दा बढी समय विराट भारतीय टेस्ट क्रिकेट टोलीको मुटुको धड्कनका रूपमा रहे । तर, अब सन्न्यासले उनको युगको अन्त्यको संकेत गर्दैछ । उनले भारतीय क्रिकेटको सोचलाई नयाँ स्वरूप दिए । विराट टेस्ट क्रिकेटका महान्तम दूत पनि थिए । उनले टी–२० ढाँचाको बढ्दो प्रभुत्व रहेको वर्तमान समयमा टेस्ट क्रिकेटलाई उत्तिकै सान्दर्भिक राख्न महत्त्वपूर्ण भूमिका खेले ।

400701

विराटले टेस्ट क्रिकेटमा आशाको नयाँ उज्यालो थप्न महत्त्वपूर्ण योगदान गरे । उनी यसलाई साँच्चिकै फस्टाएको हेर्न चाहन्थे । भारतले विश्व क्रिकेटमा सम्मानित स्थान हासिल गर्न कठिन ढाँचाको खेलमा नै आफ्नो दबदबा कायम गर्नुपर्छ भन्ने कुरा उनले राम्ररी बुझेका थिए ।

सामाजिक सञ्जालमा उनको पहुँच टाइगर उड्स, लेब्रोन जेम्स र टम ब्राडीको संयुक्त पहुँचभन्दा पनि धेरै छ । उनलाई इन्स्टाग्राममा दुई सय ७२ मिलियनले पछ्याएका छन् भने अर्को सामाजिक सञ्जाल एक्समा ६७.८ मिलियनले पछ्याएका छन् । विराटको यही लोकप्रियताका कारण लस एन्जल्स ओलम्पिकमा क्रिकेटलाई समावेश गर्ने घोषणा गर्दा उनको नाम पनि उल्लेख गरिएको थियो ।

पछिल्ला दिनहरूमा विराटलाई वर्तमान समयको महत्त्वपूर्ण व्यक्ति अर्थात्, ‘मोडर्न डे जायन्ट’ पनि भन्ने गरिएको छ । तपाईँ उनलाई प्रेम गर्नुहोस् वा घृणा, तर के कुरा मान्नै पर्ने हुन्छ भने उनले टेस्ट क्रिकेटको गौरव उच्च बनाएकै हुन् । विराटको संन्यासको सन्दर्भलाई लिएर प्रतिष्ठित क्रिकेट लेखक पिटर ललोरले हालसालै लेखेका छन्, ‘हो, संसारमा जसको स्थानमा पनि नयाँ मान्छे आउन सक्छ वा प्रतिस्थापन गर्न सक्छ । तर, विराटको ठाउँ भने कसैले लिन सक्दैन ।’

(द कन्भरसेसनका लागि भगन क्रुक्शांक तथा ब्रेन्डन हिन्डम्यानले तयार पारेको आलेख)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप