जेठ १५ को प्रदर्शन : विमानस्थल क्षेत्रमा मुख्य सुरक्षा चुनौती रहेको विश्लेषण

काठमाडौँ । बिहीबार गणतन्त्र दिवसको दिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (एमाले)ले काठमाडौँमा छुट्टाछुट्टै प्रदर्शन आयोजना गर्दैछन् ।
एमालेले भृकुटीमण्डप र टुँडिखेल क्षेत्रमा झाँकी सहितको सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अनुमति लिएको छ । राप्रपाले भने गणतन्त्रको विरुद्धमा प्रदर्शन गर्ने भन्दै प्रशासनसँग अनुमतिसमेत लिएको छैन ।
राप्रपाका नेता–कार्यकर्ताले सामाजिक सञ्जाल (फेसबुक)मा रत्नपार्कबाट प्रदर्शन सुरु गरिने भन्दै उपस्थितिका लागि आह्वान गरेका छन् । प्रहरीले सुरक्षा रणनीति तयार गर्दा सो सूचनालाई पनि आधार मानेको छ ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले रत्नपार्कस्थित शान्ति बाटिकाबाट प्रदर्शन सुरु गर्ने बताए । आन्दोलन गर्न प्रशासनसँग अनुमति लिनुनपर्ने उल्लेख गर्दै उनले भने, ‘निषेधित क्षेत्रमा जाँदैनौँ, आन्दोलन गर्न प्रशासनमा अनुमति लिन किन जानुपर्छ र ?’
उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले जस्तोसुकै परिस्थितिमा पनि सुरक्षा व्यवस्थापन गरिने बताए । उनले भने, ‘प्रदर्शन जस्तो भए पनि जनधनको क्षति नहुनेगरी सुरक्षा व्यवस्थापन मिलाउँछौँ ।’
केन्द्रीय सुरक्षा समितिको बैठकमा प्रदर्शनको सम्भावित स्वरुप र सुरक्षा चुनौतीबारे छलफल भएको छ । मंगलबार बसेको बैठकमा सुरक्षा प्रमुखहरूले राप्रपा र पूर्वराजाका समर्थकबाट त्रिभुवन विमानस्थलस्थित हवाई इन्धन डिपोमा आक्रमण हुनसक्ने ‘विश्लेषण’ गृहमन्त्री रमेश लेखकलाई सुनाए । बैठकमा सहभागी गृह मन्त्रालयका एक जना उच्च अधिकृत भन्छन्, ‘विमानस्थल क्षेत्रमा सुरक्षा चुनौती रहेको विश्लेषण गरिएको छ ।’
चैत १५ मा तीनकुनेमा प्रदर्शनको क्रममा पनि पूर्वराजा समर्थकहरूले विमानस्थल कम्पाउण्डमा आगजनी गरेका थिए । यसपटक पनि उनीहरूले इन्धन डिपोमा ‘आगजनी’ गर्ने योजना बनाएको उच्च सुरक्षा अधिकृतले रातोपाटीलाई बताए । विमानस्थल क्षेत्रमा प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागले विशेष निगरानी बढाएको छ ।
केन्द्रीय सुरक्षा समितिले उपत्यकामा झडप हुन नदिन ‘अधिक सुरक्षाकर्मी परिचालन’ गर्न सुरक्षा संगठनहरूलाई निर्देशन दिएको छ ।
बिहीबार गणतन्त्र दिवस समारोह, कवाड व्यवसायीहरूको प्रदर्शन, नेकपा (एमाले)को आयोजनामा सांस्कृतिक कार्यक्रम र राप्रपाको प्रदर्शन हुँदैछ । बिहीबार नै संसदमा बजेट पेस गर्ने कार्यक्रम पनि रहेकाले शान्तिपूर्ण रूपमा कार्यक्रम सम्पन्न हुने वातावरण कसरी तयार गर्ने भन्नेबारे केन्द्रीय सुरक्षा समितिमा छलफल भएको छ ।
सम्भावित झडप रोक्न काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले राप्रपाका नेताहरूसँग समन्वय गरिरहेको गृह मन्त्रालयका अधिकृतहरू बताउँछन् । काठमाडौँका एसएसपी विश्व अधिकारी भन्छन्, ‘प्रदर्शन शान्तिपूर्ण भए राम्रो, तर सुरक्षाका सबै रणनीति हामीले तयार गरेका छौँ ।’
राप्रपाका नेता ज्ञानेन्द्र शाहीले भोलिको प्रदर्शनमा अराजकता भएमा सरकारले जिम्मेवारी लिनुपर्ने बताएका छन् । रातोपाटीसँग उनले भने, ‘हामीले धेरै दिनअघि कार्यक्रम तय गरेका थियौँ, एमालेले अन्तिम समयमा आएर कार्यक्रम जुधाएको छ । त्यसैले अराजकताको जिम्मेवारी सरकारले लिनुपर्छ ।’
उपत्यका प्रहरी प्रमुख एआईजी टेक बहादुर तामाङले जस्तोसुकै परिस्थिति आए पनि तयार रहन मातहतलाई निर्देशन दिएका छन् । उपत्यकामा कार्यरत युनिट इन्चार्जहरू, सुवेदार मेजरहरू र हवल्दार मेजरहरूलाई निर्देशन दिँदै उनले भनेका छन्, ‘सुरक्षा दुरुस्त राख्न जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार हुनुस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती लगायत काठमाडौँ उपत्यकाका नदीहरुलाई स्वच्छ बनाइने
-
प्रधानमन्त्री कप भलिबल : हेल्प नेपाल र पुलिस क्लबलाई उपाधि
-
साल्टको अर्धशतकले पञ्जाबलाई सजिलै हराउँदै बेंगलुरु चौथो पटक फाइनलमा
-
१० बजे १० समाचार : आगामी आर्थिक वर्षको बजेट घोषणादेखि राजावादी आन्दोलनसम्म
-
नवलपरासीको बर्दघाट नगरपालिकाद्वारा नगर गान सार्वजनिक
-
आगामी आर्थिक वर्षको बजेट घोषणा, सबै अपडेट एकै ठाउँमा हेर्नुहोस्