‘अलिकति बुद्धि भएका मानिस राजतन्त्र फर्किन्छ भन्ने हल्लाका पछाडि लाग्दैन’

समाचार सारांश
- बाबुराम भट्टराईले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताए। उनले गणतन्त्र स्थापनापछिका केही अवशेषलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए।
- भट्टराईले गणतन्त्रको महत्व र विकासमा यसको भूमिकाबारे चर्चा गरे। उनले संविधानका अपूर्णता सच्याउनुपर्नेमा जोड दिए।
- भट्टराईले प्रचण्डको टिप्पणीप्रति कुनै प्रतिक्रिया नदिने बताए र क्रान्तिका नायकहरू पतन भएको टिप्पणी गरे।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा अवशेषका रूपमा पतन भएको राजतन्त्र फेरि फर्किने सम्भावना नरहेको बताएका छन् ।
बुधबार रातोपाटीसँग कुरा गर्दै उनले गणतन्त्र स्थापना पछिको केही समय त्यस्ता अवशेष बाँकी नै रहनु स्वाभावकि रूपमा लिनुपर्ने जिकिर गरे । ‘राजावादीहरूको आन्दोलन खसी काटिसकेपछि पुच्छर एकछिन हल्लाएको जस्तै हो । गणतन्त्र भर्खर १७ वर्ष पुगेर १८ वर्ष लाग्दैछ । केही अवशेष रहनु त्यसलाई स्वाभाविक रूपमै लिन सकिन्छ । यसलाई महत्व दिन आवश्यक ठान्दिनँ,’ उनले भने, ‘हुटिट्याउँले मैले आकाश थामेको छु भन्छ रे । त्यस्तै मिथ्थालाई विश्वास गर्नु बेग्लै हो । राजसंस्था फर्काउँछु भन्न पाउँछ मान्छेले । अलिकति बुद्धि विवेक भएका मानिसले त्यस्ता हल्लाको पछाडि लाग्दैन । त्यसैले राजसंस्था फर्किने सम्भावना छैन । कथमकथाचित भवितव्यले आएछ भने पनि त्यसले समस्या झन् बल्झाउँछ ।’
नेपालमा हजारौँ वर्षदेखिको निरंकुश राजतन्त्रात्मक प्रणालीलाई अन्त्य गरेर २०६५ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र विधिवत ढंगले स्थापना गरिएको उनले स्मरण गरे । नेपाली जनताबाट निर्वाचित संविधानसभाले विधिवत् घोषणा गरेको गणतन्त्रलाई हजारौँ वर्षसम्म सम्झिने उनले बताए ।
‘यो महान अवसरको स्मरण गर्न पाउँदा मलाई गौरवको महसुस हुन्छ । म एउटा विकास अर्थशास्त्रका विद्यार्थी हुँ । विकास र अल्पविकास भनेको सामाजिक, आर्थिक संरचनासँग जोडिएको हुन्छ । जुन देशमा लोकतन्त्र, गणतन्त्र, जनताको हातमा अधिकार छिटो प्राप्त हुन्छ, त्यहाँ छिटो विकास हुन्छ । जहाँ निरंकुशता र राजतन्त्र छ, त्यहाँ ढिलो विकास हुन्छ भन्ने सिद्धान्त छ । त्यसैले विकासको निम्ति गणतन्त्र भनेर मैले जीवन समर्पण गरेको हुँ । मेरै जीवनकाल, मेरै संलग्नतामा संविधानसभा सदस्यको रूपमा, समन्यय समितिको सभापतिको रूपमा संविधान पारित गर्न पाउँदा मलाई असाध्यै अनुभूति हुन्छ,’ उनले भने ।
संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्रका केही अर्पूणता रहेकाले त्यसलाई सच्याउनु पर्नेमा भट्टराईले जोड दिए । ‘निर्वाचन प्रणाली, शासकीय स्वरुपका विषयमा हामीले प्रस्ताव राखेका थियौँ । त्यो कायम भएको भए प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिले विज्ञहरूको सहयोगमा सुशासन दिन सक्थे,’ भट्टराईले भने, ‘समावेशी सहभागिता मुलक संसदले कानुन बनाउँथ्यो । लोकतन्त्र सम्मुनत हुँदै जान्थ्यो । त्यहाँ हाम्रो त्रुटि भएको हो । यसबाट पछाडि फर्कने कुरा चर्चा गर्न लायक नै होइन । यसलाई ठाडै खारेज गर्नुपर्छ ।’
यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि गरेको टिप्पणीप्रति आफ्नो कुनै प्रतिक्रिया नभएको उनले बताए । ‘प्रचण्डप्रति म कुनै टिप्पणी गर्न चाहन्नँ । सैद्धान्तिक रूपमा इतिहासको नियम के हुन्छ भने–एक जना प्रशिद्ध दर्शनशास्त्री हाना आरेटले क्रान्ति तत्कालीन समस्या समाधान गर्ने एउटा तरिका हो भनेका छन् । एउटा पुस्ताका केही मान्छेहरू क्रान्तिमा लाग्छन् । क्रान्ति सम्पन्न भएको भोलिपल्ट क्रान्तिकारीहरू अवसरवादीमा परिणत हुन्छन् भनेर उहाँले लेख्नुभएको थियो । माओको भनाइ पनि त्यही हो,’ थप व्याख्या गर्दै उनले भने, ‘एक कालखण्डको क्रान्तिकारी अर्को कालखण्डमा पुगेर यथास्थितिवादी हुन्छन् । त्यसकारण नयाँ कुरा गर्ने, अग्रगामी कुरा गर्नेहरूलाई बदख्वाइँ गर्नेहरू पश्चगामी र यथास्थितिवादी सोच राख्ने हुन् ।’
ठुल्ठुला सोच राख्ने वैज्ञानिक, दार्शनिकलाई तत्कालीन मानिसले पागल भन्ने गरेको उदाहरण दिँदै उनले नेपालमा पछिल्ला क्रान्तिबाट आएका नायकले त्यस्ता कुरा गर्नु राजनीतिक रूपमा पतन भएको पुष्टि हुने स्पष्ट पारे ।
‘दुःखको कुरा नेपालमा पछिल्लो क्रान्तिबाट आएका नायकहरूमध्येकाले त्यस्तो कुरा गर्नु वैचारिक, राजनीतिक र यथास्थितिवादमा पतन हो । अग्रगमन बुझ्न नसक्ने उनको एउटा प्रवृत्तिको परिचय मात्र हो । जब मानिस सत्तामा पुग्छ तब उल्टो रुपान्तरण हुन थाल्छ । स्वार्थी, लोभी हुँदै जाने क्रमले बिग्रिन्छ । त्यसरी नै हाम्रो माओवादी आन्दोलनमा लागेका साथीहरूको ठुलो तप्का विचलित भएका छन्,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बागमती लगायत काठमाडौँ उपत्यकाका नदीहरुलाई स्वच्छ बनाइने
-
प्रधानमन्त्री कप भलिबल : हेल्प नेपाल र पुलिस क्लबलाई उपाधि
-
साल्टको अर्धशतकले पञ्जाबलाई सजिलै हराउँदै बेंगलुरु चौथो पटक फाइनलमा
-
१० बजे १० समाचार : आगामी आर्थिक वर्षको बजेट घोषणादेखि राजावादी आन्दोलनसम्म
-
नवलपरासीको बर्दघाट नगरपालिकाद्वारा नगर गान सार्वजनिक
-
आगामी आर्थिक वर्षको बजेट घोषणा, सबै अपडेट एकै ठाउँमा हेर्नुहोस्