साल्टको अर्धशतकले पञ्जाबलाई सजिलै हराउँदै बेंगलुरु चौथो पटक फाइनलमा

समाचार सारांश
- इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलुरुले पञ्जाब किंग्सलाई ८ विकेटले हराएर फाइनलमा स्थान बनाएको छ।
- पञ्जाबले प्रस्तुत गरेको १ सय २ रनको लक्ष्य बेंगलुरुले १० ओभरमा २ विकेट गुमाएर पूरा गर्यो, जसमा फिल साल्टले अर्धशतक बनाए।
- पञ्जाब किंग्सले पहिले ब्याटिङ गर्दै १ सय १ रन बनायो, बेंगलुरु आईपीएलमा चौथो पटक फाइनलमा पुगेको हो।
चन्दीगढ । इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो क्वालिफायरमा पञ्जाब किंग्सलाई ८ विकेटले हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरु चौथोपटक फाइनलमा पुगेको छ । बिहीबार पञ्जाब क्रिकेट एसोसिएसनको मैदानमा पञ्जाबले प्रस्तुत गरेको १ सय २ रनको लक्ष्य बेंगलुरुले मात्र १० ओभरमा २ विकेटको क्षतिमा पछ्यायो ।
ओपनर फिल साल्टले अर्धशतक बनाउँदै टोलीको जितलाई सहज बनाए । उनले विस्फोटक ब्याटिङ गर्दै २७ बलमा ५६ रन जोडे । यस क्रममा उनले ६ चौका र ३ छक्का प्रहार गरे । मयंक अग्रवालले १३ बलमा १९ रन बनाए । उनले २ चौका र १ छक्का हिर्काए । १२ बलमा १२ रन बनाउने क्रममा विकेट कोहलीले २ चौका प्रहार गरे ।
कप्तान रजत पटिदारले १५ रन बनाए । पञ्जाबका लागि कायल जेमिसन र मुसिर खानले १–१ विकेट लिए । खेलमा पञ्जाब किंग्सले निरीह ब्याटिङ प्रदर्शन गरेको थियो । टस हारेर पहिलो ब्याटिङ गरेको पञ्जाबले १४.१ ओभरमा सबै विकेट गुमाएर १ सय १ रन बनायो ।
टोलीका लागि मार्कस स्टोइनिसले १७ बलमा २६ रनको योगदान दिए । उनले २ चौका र २ छक्का हिर्काए र ओपनर प्रभसिमरन सिंहले १० बलमा १८ रन जोडे । खेलको अन्त्यतिर अजमतुल्लाह ओमरजाईले १८ रन बनाए । उनले १ चौका र १ छक्का प्रहार गरे । अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् ।
पञ्जाबलाई सस्तोमा समेट्न जोश हेजलवुड र सुयेश शर्माले ३–३ विकेट लिए । यश दयालले २ तथा भुवनेश्वर कुमार र रोमारियो शेफर्डले १–१ विकेट हात पारे । बेंगलुरु आईपीएलमा तीनपटक फाइनलमा पुगेर पराजित भएको छ । बेंगलुरु सन् २००९ मा पहिलो पटक फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा बेंगलुरुको टोलीलाई डेक्कन चार्जर्सले ६ रनले हराएको थियो ।
बेंगलुरु सन् २०११ मा पनि आईपीएलको फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा बेंगलुरुलाई चेन्नई सुपर किङ्सले ५८ रनले हराएको थियो । सन् २०१६ को फाइनलमा बेंगलुरुको टोली सनराइजर्स हैदराबादसँग आठ विकेट पराजित भएको थियो ।
पन्जाब किङ्सले पनि हालसम्म आईपीएलको उपाधि जित्न सकेको छैन । सन् २०१४ मा पन्जाब किङ्स फाइनलसम्म पुगेको थियो । तर, उपाधि भने जित्न सकेन । उक्त संस्करणको फाइनलमा कोलकाता नाइट राइडर्सले पन्जाब किङ्सलाई तीन विकेटले हराएको थियो ।
अब टोलीले दोस्रो क्वालिफायरमा गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबिच खेलिने एलिमिनेटरको विजेतासँग भिड्नेछ । पन्जाब लिग चरणको खेलमा अङ्क तालिकामा पहिलो हुँदै प्ले–अफ चरणमा पुगेको हो । त्यही भएर टोलीले फाइनलमा पुग्नका लागि दोस्रो मौका पाएको हो ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नेता अफताव आलमलाई मस्तिष्कघात, न्यूरो अस्पतालमा भर्ना
-
नारायणहिटी आसपास क्षेत्रमा निषेधाज्ञा घोषणा
-
११ महिनापछि शेखर–गगनबिच भेटवार्ता
-
औद्योगिक क्षेत्रको विकासका लागि उद्योगीहरू पनि जिम्मेवार बन्नुपर्छ : मुख्यमन्त्री लामा
-
‘जेनेरेटिभ एआई र मिडिया शिक्षा’ विषयक कार्यशाला सम्पन्न
-
बजेटबारे सकारात्मक छैन लोकतान्त्रिक मोर्चा, तत्काल समीक्षा गर्ने